• होमपेज
  • ४० हजारले ‘युटर्न’ गराएको दुर्गेशको करिअर
मनोरञ्जन

४० हजारले ‘युटर्न’ गराएको दुर्गेशको करिअर

गायक तथा मोडल दुर्गेश थापालाई नचिन्ने सङ्गीतप्रेमी दर्शक कमै होलान् । कसैले उनलाई गायकको रूपमा चिनेका छन्, कसैले मोडलको रूपमा चिनेका छन् । यी दुवै परिचयले नचिन्ने दर्शक/स्राेताले उनलाई ‘ह्याप्पी तिहार’ बोलको गीतका कारण उत्पन्न विवादबाट चिने ।

जे जसरी होस्, दर्शक/स्राेतामाझ परिचित छन् दुर्गेश ।

विज्ञापन

के भारतीय सेनाको जागिर छाडेर कलाकारिता क्षेत्रमा छिरेका दुर्गेशले यस्तो परिचय बन्ला भनेर सोचेका थिए होलान् त ?

‘अहँ ! मैले यत्तिको नाम कमाऊँला भन्ने सोचेको पनि थिइनँ’, दुर्गेशले भन्ने गरेका छन्, ‘मिहिनेत गर्छु, असफलता, सफलता जे पनि व्यहोर्दै अगाडि बढ्ने नै मेरो सोच थियो ।’

आखिर धैर्य भएर निरन्तर मिहिनेत गर्दा दुर्गेशले सफलता नै भेटे । अहिले दुर्गेश भन्न थालेका छन्, ‘आखिर धैर्यले नै मानिसलाई सफलता दिने रहेछ । धैर्य नै मानिसको साथी रहेछ ।’

०००

बाग्लुङमा जन्मिएका दुर्गेशलाई गायनमा विशेष रुचि थियो तर परिवारले भने दुर्गेश भारतीय सेना भएको हेर्न चाहन्थ्याे ।

परिवारको इच्छा पूरा गर्न पनि दुर्गेश भारतीय सेनामा भिड्न गए । आमाबुबाको आशीर्वाद नै होला, दुर्गेश भारतीय सेनाका लागि छनोट भए ।

भारतीय सेनामा छनोट हुँदा दुर्गेशको परिवार खुसी थियो तर दुर्गेश आफू भने खुसी हुन सकेनन् । त्यहाँको वातावरणसँग आफूलाई घुलमिल गराउन नसकेपछि उनी सेनाको तालिम छाडेर भागे ।

सोही समय काठमाडौंमा गायक बन्न सङ्घर्ष गरिरहेका नातेदार दाइ वसन्त थापाले दुर्गेशलाई काठमाडौं बोलाए, ‘बाबु, काठमाडौं आइज । राम्रो छस्, मोडल बन्लास् ।’

दाइको ‘मोडल बन्लास्’ भन्ने शब्दका कारण २०६५ सालतिर दुर्गेश काठमाडौं छिरे । शरण पाए, वसन्त थापाको । झण्डै ५ वर्ष उनीहरूले एकसाथ सङ्घर्ष गरे ।

मोडल बन्न भनेर शहर छिरेका दुर्गेशलाई कसले बनाइदियोस् मोडल ? काठमाडौं बोलाउने दाइले पनि भाइलाई मोडल बनाउने सामर्थ्य राख्दैनथे । दाइको चिनजानबाट दुर्गेशले कोरस नाच्नेसम्मको अवसर भने पाए ।

दुर्गेश भन्छन्, ‘मलाई सुरुमा नै कसले मोडल बनाउने हो र ! मैले त ५०-६० वटा गीतमा कोरस नाचेको छु ।’ त्यो समय दुर्गेशले एउटा गीतमा कोरस नाचेको २ सय ५० रुपैयाँ पाउँथे । त्यसमा पनि ५० रुपैयाँ लिडरले लगिदिन्थे ।

कोरस नाचेर मात्र काठमाडौंमा टिक्न गाह्रो भयो । त्यसैले दुर्गेश डान्सबारतिर पनि नाच्न थाले । ‘ठमेलका ८० प्रतिशत डान्सबारमा मैले काम गरेको छु,’ दुर्गेशले आफ्नो विगत सम्झिए ।

०००

३ वर्षभन्दा बढी समय बितिसक्यो, दुर्गेश कोरसको कोरस । कसैले मोडल बनाएर अगाडि नचाउने इच्छा देखाएनन् । दुर्गेशलाई झोँक चल्यो, ‘अब आफैँ लगानी गरेर लिड मोडल बन्छु ।’

दुर्गेशले रामचन्द्र काफ्लेको ‘माया लाएर के भो’ बोलको गीतमा ४० हजार रुपैयाँ लगानी गरेर लिड मोडल बने । दुर्गेश भन्छन्, ‘मसँग त्यति पैसा पनि थिएन । त्यो पैसा मैले हङकङमा रहेकी बहिनीसँग मागेर हालेको थिएँ ।’

रहर पूरा गर्नलाई लगानी गरेको त्यो ४० हजार रुपैयाँ नै दुर्गेशको करिअरमा कामयावी बन्यो । सोही लगानीले नै दुर्गेशलाई यो स्थान दिएको हो भन्दा फरक पर्दैन । उक्त गीतपछि भने दुर्गेशले निरन्तर काम पाइरहे । दुर्गेश भन्छन्, ‘मैले त्यही लटमा २०-२५ वटा हिटहिट गीत गरेँ । त्यसपछि करिअरमा पछाडि फर्केर हेर्नुपरेको छैन ।’

दुर्गेशले त्यही समय १५ वटाभन्दा बढी अवार्ड चुमे । निरन्तरजसो उनी उत्कृष्ट मोडल सावित भइरहे ।

तीजको समय सबैभन्दा व्यस्त बन्थे दुर्गेश । उनी भन्छन्, ‘अरू समय पनि काम त भइरहेको हुन्थ्यो तर तीजको समयमा मैले एक दिनमै ३ वटासम्म गीतको सुटिङ भ्याएको छु ।’

अनि पुनः जाग्यो गाउने रहर

मोडलमा जम्दै गरेका दुर्गेशले आफ्नो सपना सम्झिए । बाल्यकालको रहर सम्झिए– अब एउटा गीत पनि गाउनुपर्‍यो ।

२०६८ सालतिरको समय थियो । दुर्गेशले ‘मुद्दा हाल्दिन्छु’ बोलको गीत सार्वजनिक गरे, जुन गीतबाट दुर्गेश गायकको रूपमा पनि परिचित भए । धेरैले दुर्गेशको ‘स्टाइल’ रुचाए ।

उक्त गीत हिट भएपछि दुर्गेशमा विश्वास बढ्यो, ‘मैले त गाउन पनि सक्ने पाे रहेछु ।’ त्यही विश्वास र दर्शकको मायाले निरन्तर गायनमा पनि लागिरहेको दुर्गेश बताउँछन् ।

उनले भने, ‘पहिलो गीत हिट हुनेबित्तिकै ऊर्जा मिल्यो । त्यसपछिका गीतहरूले पनि दर्शकको माया पाएपछि गायनलाई पनि निरन्तरता दिइरहेको छु ।’ डन्सिङ शैलीको गीत गाउने दुर्गेशका धेरै गीत हिट छन् ।

मोडल बन्दा दुर्गेशले खासै देश/विदेश घुम्न पाएका थिएनन् । जब गायक बने, उनले देशको कुनाकुनामा कन्सर्ट गर्ने मौका पाए । आधा दर्जनभन्दा बढी देशमा पुगेर दर्शकलाई आफ्ना गीतमा झुमाइसकेका छन् उनले ।

विवादित गायन करिअर

दुर्गेशको गायन करिअर सुखद नै भयो तर विवादरहित भने हुन सकेन । सुरुवाती दिनदेखि नै दुर्गेश विवादमा मुछिइरहेका छन् ।

डेब्यू गीत ‘मुद्दा हाल्दिन्छु’मा राखिएको ‘यो यो यो… दुर्गेश थापा हो’ भन्ने लाइनबाट नै दुर्गेशले आरोप खेप्नुपर्‍यो । उक्त लाइन बलिउड गायक हनी सिंहबाट कपी गरिएको आरोप दुर्गेशलाई लागेको थियो ।

यस आरोपबारे दुर्गेश भन्छन्, ‘त्यो चलचित्रका लागि तयार गरिएको गीत थियो । त्यसमा परिचय कसरी दिने भन्ने कुरामा सल्लाह गरेर नै हामीले त्यो लाइन तयार गरेका थियौँ । त्यसलाई कपी नै गरेको भन्न मिल्दैन ।’

त्यसपश्चातका गीतहरूमा पनि दुर्गेश विवादबाट टाढा भएनन् । उनको गीतमा प्रयोग भएका शब्दहरूबाट उनी सधैँ विवादमा परिरहे ।

गत वर्षको तीजमा सार्वजनिक भएको ‘ह्याप्पी तिहार’ बोलको गीतबाट भने दुर्गेश ठूलै विवादमा फसे । आफ्नो परम्परा बिगारेको तथा लागु पदार्थलाई बढावा दिएको भन्दै दुर्गेश विवादमा फसेका थिए ।

यसै गीतका कारण उनी प्रहरी हिरासतसम्म पुग्नुपरेको थियो । पछि हिरासतबाट नै उनले गीत हटाएर बाहिरिए ।

अहिले पुन: दुर्गेश विवादमा परेका छन् । हालै सार्वजनिक ‘बिच्च बिच्चमा २’ मा गाइएको एक लाइन अर्को गीतसँग मिलेपछि उनी विवादमा तानिएका हुन् ।

गीतमा प्रयोग भएको शब्द ‘आकाशैमा बादलु डम्मै छ…’ शब्द आफूहरूले सानैदेखि गाउने गरेकाले त्यसलाई सङ्कलन गरेर गीतमा राखिएको दुर्गेश बताउँछन् । यो लाइन अलि मियाको शब्द तथा सङ्गीत रहेको ‘आकाशमा’ बोलको गीतसँग मिल्यो । गीतको मुख्य ‘हुक लाइन’ दुर्गेशले चोरेको आरोप लाग्यो । आखिर गीत मिलेकै पनि थियो ।

उनले भने, ‘मैले जानीजानी गीत कपी गरेको होइन । त्यो मलाई जरुरी पनि थिएन । संयोगवश मिल्न गएको मात्र हो ।’

०००

अचेल दुर्गेशलाई बारम्बार सोधिने एउटा प्रश्न छ- ‘बिहे कहिले ?’

हाम्रो पनि दुर्गेशलाई अन्तिम प्रश्न यही थियो, ‘अब त बिहे गर्ने समय भएन र ?’

दुर्गेशले जवाफ फर्काए, ‘अब बिहे गर्ने नै हो । त्यसबारे सोचिरहेको छु । शायद चाँडै सुखद खबर मिल्ला कि !’

यति भन्दै गर्दा दुर्गेशले आफू प्रेममा भएको स्वीकारे । उनले भने, ‘अहिलेको समयमा कसको गर्लफ्रेण्ड नहोला र ?’

 

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook