• होमपेज
  • नवौं वार्षिकोत्सवमा सन नेपाल लाइफको रक्तदान
अर्थ/वाणिज्य

नवौं वार्षिकोत्सवमा सन नेपाल लाइफको रक्तदान

बागलुङ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिकोत्सवको अवसरमा मंगलबार बागलुङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा आयोजित रक्तदान कार्यक्रममा कम्पनीका कर्मचारी, अभिकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो । कम्पनीले वार्षिकोत्सब अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

विज्ञापन

कार्यक्रममा बागलुङ नगरपालिका–१ का वडा अध्यक्ष जयबहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष केसीले रक्तदानजस्तो मानवीय तथा परोपकारी कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी बागलुङका मन्त्री भुवानीप्रसाद कँडेलले पनि रक्तदान तथा परोपकारी कार्यको महत्वबारे मन्तव्य राख्दै कार्यक्रम आयोजना गरेकोमा सन नेपाल लाइफ इन्स्योरेन्सलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स धौलागिरी क्षेत्रीय प्रबन्धक बलराम कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कम्पनीको बागलुङ शाखाका प्रबन्धक दीपक पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा तारा विष्टले स्वागत मन्तव्य राख्नुभएको थियो ।

रक्तदान कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्सका पर्वत र म्याग्दी शाखाका प्रबन्धक, कर्मचारी तथा विभिन्न एजेन्सीका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

वार्षिकोत्सवका अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएको जनाएको छ । रक्तदान कार्यक्रमले आवश्यकतामा रहेका बिरामीका लागि रगतको उपलब्धता सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै