पर्वतको कुश्मा नगरपालिका–६ मैत्रीचोकबाट ३७ वर्षीया शान्ति कुमारी रिमाल पाध्या बेपत्ता भएकी छन्। कुश्मा-१४ आर्थर घर भएकी शान्ति मैत्रीचोकस्थित राष्ट्रिय बालशिक्षा सदनमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिइन्।
आइतबार बिहान करिब ६ बजे परिवारले उनी सुतेको कोठामा नभएको थाहा पाएपछि खोजी सुरु गरेको थियो। आसपासका क्षेत्रमा खोजी गर्दा पनि फेला नपरेपछि बिहान करिब ९ः३० बजे प्रहरीलाई जानकारी गराइएको थियो।
विज्ञापन
जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतले खोजीका लागि प्रहरी परिचालन गरेको छ। प्रहरी निरीक्षक दिनेश पौडेलको कमाण्डमा १० जनाको प्रहरी टोलीले सम्भावित स्थानमा खोजतलास गरिरहेको छ।
खोजीका क्रममा कुश्मा नगरपालिका–९ ज्ञादीस्थित पुलमा एक जोडी चप्पल फेला परेको प्रहरीले जनाएको छ। उक्त चप्पल हराइरहेकी शान्तिकै भएको उनका १६ वर्षीय छोरा सन्तोष चापागाईंले सनाखत गरेका छन्।
चप्पल भेटिएपछि शान्तिको परिवार थप चिन्तित बनेको छ। प्रहरीले पुल आसपासका क्षेत्रसहित सम्भावित स्थानमा खोजी तीव्र पारेको छ।शान्ति हराउनुको कारण अहिलेसम्म खुलेको छैन। उनको अवस्था पनि पत्ता लाग्न सकेको छैन। प्रहरीले खोजी तथा घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु