पर्वत । हरितालिका तीजको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन, फलेवास नगर समिति महिला विभागको आयोजनामा ‘तीजको मौलिकता संरक्षणमा युवा पुस्ताको भूमिका’ विषयक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
फलेवास नगरपालिकाभित्रका ९ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा विद्यार्थीहरूले तीज पर्वको मौलिकता, सांस्कृतिक तथा सामाजिक महत्व, पछिल्लो समय तीज मनाउने क्रममा देखिँदै आएका विकृति र भड्किलोपन तथा मौलिक संस्कृति संरक्षणमा युवा पुस्ताको भूमिकालगायतका विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।
विज्ञापन
सो अवसरमा बोल्दै फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारीले तीज नेपाली महिलाको महत्वपूर्ण सांस्कृतिक पर्व भएकाले यसको मौलिकता, परम्परा र सांस्कृतिक पहिचान जोगाउन नयाँ पुस्ताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
उहाँले पछिल्लो समय तीज पर्व मनाउने क्रममा बढ्दै गएको भड्किलोपन र विकृतिलाई निरुत्साहित गर्दै पर्वको मौलिकता तथा सांस्कृतिक मूल्य–मान्यताको संरक्षणमा सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभयो। विद्यालय तहबाटै विद्यार्थीलाई आफ्नो कला, संस्कृति, भाषा, परम्परा र मौलिक पहिचानप्रति सचेत बनाउनुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षणका लागि नयाँ पुस्तालाई जिम्मेवार बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए। विद्यालयस्तरमा आयोजना गरिने वक्तृत्वकला तथा सिर्जनात्मक कार्यक्रमले विद्यार्थीको अभिव्यक्ति क्षमता विकास गर्नुका साथै सामाजिक तथा सांस्कृतिक विषयमा उनीहरूको बुझाइसमेत फराकिलो बनाउने उनीहरूको भनाइ थियो।
प्रतियोगितामा शारदा माध्यमिक विद्यालय, कुर्घाकी सोनिया पौडेल प्रथम, भवानी विद्यापीठ माध्यमिक विद्यालय, खानीगाउँकी कृषा तिवारी द्वितीय, जनसहयोगी माध्यमिक विद्यालय, शंकरपोखरीकी उमा घिमिरे तृतीय र गहते अम्बोट आधारभूत विद्यालय, मुडिकुवाकी जस्मिता सुवेदी सान्त्वना भएका छन्।
कार्यक्रममा शिक्षक संगठनका गण्डकी प्रदेश सदस्य गिता शर्मा, नगर शिक्षा अधिकृत कृष्ण आचार्य, सामाजिक विकास समितिका संयोजक नारायण शर्मा लामिछाने ल्गायतको उपस्थिति थियो । नगर समितिकोतर्फबाट मङ्गला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको निर्णायकहरुमा विश्वज्योति मा.बि. का शिक्षक झलक पौडेल, पुर्णेश्वर माबिका शिक्षक सन्तोष पौडेल र फलेवास नगर शिक्षा शाखाका मुना शर्मा रहनुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु