पर्वत । पर्वतको कुश्मा बजारमा उपभोक्ताका लागि आएको एलपी ग्यास बाटोबाटै व्यापारीले नियन्त्रणमा लिएर अन्यत्र लुकाएको आरोप लागेको छ। ग्यासको अभाव चर्किरहेका बेला कुश्माका लागि आएको ग्यासको गाडी नै बाटोबाट नियन्त्रणमा लिएर सिलिन्डर अन्यत्र सारिएको बताइएको हो।
कुश्माका लागि आएको ग्यासको गाडीलाई स्नेहा किराना पसलका सञ्चालक डाँसिराम अधिकारीले बाटोबाटै नियन्त्रणमा लिएर अर्को गाडीमा सिलिन्डर लोड गरी खरेहा आसपास लगेर लुकाएको आरोप लागेको छ।
विज्ञापन
कुश्मामा आएको ग्यासको गाडी नै व्यापारीले कब्जामा लिएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यालय पर्वतबाट सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलको नेतृत्वमा प्रहरी टोली तत्काल खरेहा पुगेको थियो। तर, प्रशासन र प्रहरीको टोली पुग्दा ग्यासका सिलिन्डर फेला पार्न नसकेको बताइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार प्रशासनलाई सूचना प्राप्त भएपछि टोली परिचालन गरिएको भए पनि ग्यास कहाँ राखिएको हो भन्ने यकिन हुन सकेन। “सूचना आएपछि हामी पुगेका थियौँ। तर ग्यास भेटिएन। कब्जा गरिएको भनिएको ग्यास कहाँ राखियो भन्ने पनि थाहा हुन सकेन,” पौडेलले भन्नुभयो।
पर्वतमा पछिल्लो समय करिब १० हजारभन्दा बढी ग्यास सिलिन्डर आपूर्ति भएको दाबी गरिए पनि बजारमा भने ग्यासको अभाव कायमै रहेको उपभोक्ताको गुनासो छ। पर्याप्त मात्रामा ग्यास आएको भनिए पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसक्दा बजारमा कृत्रिम अभाव सिर्जना गरिएको आशंका बढेको छ।
विशेषगरी साना व्यवसायी तथा खुद्रा पसल सञ्चालकहरूले आफूहरूलाई थोरै मात्रामा ग्यास उपलब्ध गराइने, कतिपय अवस्थामा बाटोमै राखेर वितरण गर्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन्। तर, धेरै परिमाणमा ग्यास राख्ने व्यवसायीहरूले भने सिलिन्डर लुकाउने गरेको उनीहरूको आरोप छ।
ग्यासको आपूर्ति पर्याप्त हुँदाहुँदै बजारमा अभाव देखिनु, उपभोक्ताले सहज रूपमा सिलिन्डर नपाउनु र आएको ग्यास समेत बीच बाटोबाटै अन्यत्र सारिएको आरोप सार्वजनिक हुनुले प्रशासनको अनुगमन तथा वितरण प्रणालीमाथि समेत प्रश्न उठेको छ।
यता जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले भने ग्यासको नियमित अनुगमन भइरहेको बताउनुभएको छ। उहाँका अनुसार प्रशासनले नामनामेसीका आधारमा ग्यास बिक्री तथा वितरण भइरहेको अवस्थाको अनुगमन गरिरहेको छ।
ग्यासको आपूर्ति, ढुवानी, भण्डारण र बिक्री वितरणमा देखिएका अनियमितताबारे प्रशासनले थप छानबिन गरी दोषी देखिएमा कारबाही गर्नुपर्ने उपभोक्ताको माग छ। बजारमा ग्यासको अभाव नरहेको अवस्था सिर्जना गर्न आपूर्ति भएका सिलिन्डर वास्तविक उपभोक्तासम्म पुगे–नपुगेको विषयमा प्रभावकारी अनुगमन आवश्यक देखिएको छ।

फेसबुक प्रतिक्रियाहरु