• होमपेज
  • हाईटेक टनेलदेखि स्मार्ट कृषि बजारसम्म, पैयूँमा एक करोड ४३ लाखको परियोजना शुरु
Breaking News

हाईटेक टनेलदेखि स्मार्ट कृषि बजारसम्म, पैयूँमा एक करोड ४३ लाखको परियोजना शुरु

पर्वत। महिलालाई व्यावसायिक कृषिमा जोड्दै उत्पादन र बजारीकरणलाई व्यवस्थित गर्न पर्वतको पैयूँ गाउँपालिकामा एक करोड ४३ लाख रुपैयाँभन्दा बढीको कृषि परियोजना सञ्चालन हुने भएको छ । परियोजना अन्तर्गत महिला नेतृत्वमा हाईटेक टनेल निर्माण र स्मार्ट कृषि बजार व्यवस्थापन गरिनेछ ।

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश सरकार र पैयूँ गाउँपालिकाबीच महिला नेतृत्वमा हाईटेक टनेल तथा स्मार्ट कृषि बजार व्यवस्थापन परियोजना सञ्चालनका लागि द्विपक्षीय सम्झौता भएको छ । एक करोड ४३ लाख ६१ हजार ५४० रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा प्रदेश सरकारले एक करोड छ लाख ६१ हजार ५४० र गाउँपालिकाले ३७ लाख रुपैयाँ लगानी गर्नेछन् ।

विज्ञापन

परियोजना अन्तर्गत गाउँपालिकाका ७ वटा वडामा ४२ वटा हाईटेक टनेल निर्माण गरिनेछ । यसबाट ४२ घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन् । गाउँपालिकाले यसअघि नै प्रत्येक वडामा महिला कृषि समूह गठन गरिसकेको छ । ती समूहमा आबद्ध महिलालाई सामूहिक खेती वा समूहका सदस्यको व्यक्तिगत खेतीमार्फत परियोजनामा सहभागी गराइनेछ ।

गाउँपालिकाका कृषि शाखा प्रमुख विश्वास अधिकारीका अनुसार टनेलमार्फत बेमौसमी तरकारी खेतीलाई प्राथमिकता दिइनेछ । मौसम र बजारको मागअनुसार गोलभेँडा, काँक्रो, खुर्सानी, भेडेखुर्सानी, काउली, बन्दा तथा अन्य मौसमी र बेमौसमी तरकारी उत्पादन गरिनेछ । परियोजनाबाट वार्षिक एक सय मेट्रिक टन तरकारी उत्पादन गर्ने लक्ष्य राखिएको छ । कृषि उत्पादनलाई प्रविधिमैत्री बनाउन टनेलमा थोपा सिँचाइ प्रणाली जडान गरिनेछ । मल्चिङ प्रविधिको प्रयोगसँगै टनेलभित्रको तापक्रम र आद्र्रता मापन गर्न थर्ममिटर राखिनेछ । बिरुवा सार्ने मेसिन, मल्चिङ प्वाल पार्ने मेसिन तथा कृषि उपज व्यवस्थापनका लागि आवश्यक क्रेटको समेत व्यवस्था गरिने अधिकारीले जानकारी दिनुभयो ।

परियोजनाको अर्को महत्वपूर्ण पक्ष स्मार्ट कृषि बजार व्यवस्थापन हो । परियोजनाअन्तर्गत उत्पादनसँगै बजारीकरणलाई पनि प्राथमिकता दिइएको छ । कृषि सेवा केन्द्रको लागि गाउँपालिकाको प्रयोगविहिन दुई कोठे भवनलाई कृषि उपज संकलन केन्द्रका रूपमा प्रयोग गरी हाटबजारसमेत सञ्चालन गरिनेछ । उत्पादित कृषि उपजको ढुवानी र बिक्रीमा सहजीकरण गर्न गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद गर्ने योजना बनाएको छ । उत्पादनमा आधारित अनुदानमार्फत किसानलाई व्यावसायिक खेतीमा प्रोत्साहन गरिने छ ।

गाउँपालिकाको मुख्य उद्देश्य पैयूँमा उत्पादित कृषि उपज स्थानीय बजारमै खपत गर्ने र किसानलाई बजारको समस्या हुन नदिने रहेको छ । यसबाट किसानको उत्पादनलाई बजारसँग जोड्नुका साथै स्थानीय उपभोक्ताले ताजा कृषि उपज सहजै प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’ ले महिला कृषकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने र गाउँपालिकाको कृषि क्षेत्रलाई व्यावसायिक बनाउने उद्देश्यले परियोजना अघि बढाइएको बताउनुभयो । उहाँका अनुसार उत्पादन, संकलन, ढुवानी र बिक्री वितरणलाई एउटै प्रणालीमा जोडेर स्थानीय कृषि अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य राखिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि भण्डारीले प्रदेश र स्थानीय सरकारको लागत साझेदारीमा सञ्चालन हुने परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताउनुभयो । लक्षित महिला कृषकलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गर्नुका साथै उत्पादन र बजारीकरणका पूर्वाधारलाई व्यवस्थित गरिने उहाँको भनाइ छ ।

सम्झौतापत्रमा गण्डकी प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तीर्थराज चिलुवाल र पैयूँ गाउँपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि भण्डारीले हस्ताक्षर गर्नुभएको छ । परियोजना कार्यान्वयनमा आएपछि महिला कृषकको आयआर्जन वृद्धि, स्थानीयस्तरमा रोजगारी सिर्जना, कृषि उत्पादनको व्यावसायीकरण तथा स्थानीय बजारमा कृषि उपजको उपलब्धता बढ्ने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै