• होमपेज
  • यस्तो हुनेछ पल शाह प्रकरणमा अनुसन्धान, आरोप पुष्टि भएमा १० देखि १२ वर्षसम्मको कैद सजाय
मनोरञ्जन

यस्तो हुनेछ पल शाह प्रकरणमा अनुसन्धान, आरोप पुष्टि भएमा १० देखि १२ वर्षसम्मको कैद सजाय

एक नाबालिगलाई बलात्कार गरेको अभियोगमा नायक पल शाहमाथि जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता भएसँगै प्रहरीले यस प्रकरणको अनुसन्धान सुरु गरेको छ ।

विवाहको प्रलोभनमा पारी आफ्नी नाबालिग छोरीसँग यौन सम्बन्ध स्थापित गरेको भन्दै गायिकासमेत रहेकी नाबालिगको बुवाले जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दिएका थिए । जाहेरीलगत्तै प्रहरीले ती नाबालिगको स्वास्थ्य परीक्षणसमेत गराइसकेको छ ।

विज्ञापन

मोडल तथा नायकसमेत रहेका पल शाह भनेर चिनिने पूर्ण विक्रम शाहले आफ्नी १७ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको कारण कारबाही र क्षतिपूर्तिको माग गर्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले यस सम्बन्धमा अनुसन्धान सुरु गरिसकेको छ । जाहेरी दर्ता भएसँगै तनहुँ प्रहरीले बुधबार नै तनहुँ जिल्ला अदालतबाट पलविरुद्ध पक्राउ पूर्जीसमेत लिइसकेको छ । तनहुँ जिल्ला अदालतका श्रेष्तेदार मिन बहादुर कुँवरका अनुसार बुधबार नै पलविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ ।

अदालतबाट पक्राउ पुर्जीसमेत प्राप्त भइसकेकाले प्रहरीले यतिबेला पल शाहको खोजी सुरु गरिसकेको छ । तनहुँ प्रहरीले बुधबार नै प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएर पक्राउका लागि सहजीकरण गरिदिन आग्रह गरेको छ । प्रहरीले खोजे गरेलगत्तै पल शाह भने फरार भएका छन् । ​

यस्तो हुनेछ अभियोजनको कानुनी बाटो
नायक पल शाहविरुद्ध बलात्कारको जाहेरी परेसँगै अब प्रहरीले शाहलाई पक्राउ गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाउनेछ । शाहलाई तत्काल पक्राउ गर्न नसकेको अवस्थामा पनि प्रहरीले आफ्नो अनुसन्धानलाई भने जारी राख्ने छ । अनुसन्धानकै क्रममा प्रहरीले बुधबार नै नाबालिगको स्वास्थ्य परीक्षण गराइसकेको छ । जाहेरीमा उल्लेख भएका घटना विवरणको सम्बन्धमा पनि प्रहरीले सूक्ष्म अनुसन्धान गर्नेछ । जाहेरीमा उल्लेख भएको घटना विवरण र वारदातको स्थान, समय आदिका सम्बन्धमा पनि प्रहरीले अनुसन्धान गर्नेछ । प्रहरीको पहिलो दायित्व भनेको वारदात अर्थात् घटनालाई पुष्टि गर्ने आधारहरूको खोजी गर्नु नै हुनेछ । त्यसका लागि अन्तिमपटक बलात्कार भएको भनिएको स्थान तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ दुलेगौंडामा रहेको प्रदीप थापाको घरमा गएको हो कि होइन, वारदात भएको हो कि होइन भन्ने सम्बन्धमा अनुसन्धान गर्नेछ । त्यस घरमा रहेका सदस्य, नाम पोलिएका पल शाहका साथी प्रदीप थापा, छिमेकी आदिसँग प्रहरीले बयान लिनेछ ।

त्यसैगरी जाहेरीमा उल्लेख भएको २०७७ साल पुस १० गते पोखराको होटल प्राइममा पनि बलात्कार गरेको उल्लेख छ । प्रहरीले उक्त होटलमा वारदात भएको हो कि होइन भनेर होटलको सिसीटिभी फुटेज, उक्त दिन होटलमा बसेको हो कि होइन ? होटलमा को को बसेका हुन् ? त्यस पक्षको विश्लेषण गर्नेछ ।

त्यस्तै २०७७ चैत ७ गते चितवनस्थित गैँडाकोट रिसोर्टमा पनि बलात्कार गरेको जाहेरीमा उल्लेख छ । प्रहरीले त्यस सम्बन्धमा पनि अनुसन्धान गर्नेछ । यस सम्बन्धमा प्रहरीले मोबाइलको म्यासेज, कल लग, लोकेसन, आदिका बारेमा प्राविधिक विश्लेषण समेत गर्न सक्नेछ । त्यसबाहेक पलले नाबालिगलाई सामाजिक सञ्जालमा पठाएको म्यासेज लगायतका विषयमा पनि अनुसन्धान हुन सक्नेछ । त्यसबाहेक अहिले बाहिरिएको अडियो टेपको पनि विधिविज्ञान प्रयोगशालामा अनुसन्धान गरी प्रहरीले प्रमाणका रूपमा पेस गर्न सक्नेछ ।

अनुसन्धानकै क्रममा आरोपी पल शाह पक्राउ परेमा निजलाई अधिकतम २५ दिनसम्म न्यायिक हिरासतमा राखी अनुसन्धान गर्न पाउने व्यवस्था छ । यसको अर्थ आरोपी तत्काल पक्राउ परेमा अदालतले अनुसन्धानको लागि दिएको म्यादका आधारमा अधिकतम २५ दिन थुनामै राखी अनुसन्धान गर्न पाउनेछन् । त्यसपछि पनि उनीहरूले आरोपलाई पुष्टि गर्ने आधार र प्रमाणसहित निजमाथि मुद्दा चल्नुपर्ने हो कि होइन सो को राय लिएर जिल्ला सरकारी वकिल कार्यालयमा जानुपर्नेछ । सरकारी वकिल कार्यालयले अभियोग दाबी पुग्ने अवस्था देखेमा मुद्दा लैजाने निर्णय गर्नेछ भने अभियोग दाबी नपुग्ने अवस्था देखेमा टिप्पणी उठाएर मुद्दा नलैजाने निर्णय गर्नेछ । तर त्यस्तो निर्णय गर्दा त्यसको कारणसहितको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा समेत पठाउनुपर्नेछ । जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर नगर्ने निर्णय गरेको अवस्थामा पनि महान्यायाधिवक्ता कार्यालयले मुद्दा दर्ता गर्न आदेश दिन सक्नेछ । त्यस्तो अवस्थामा सरकारी वकिल कार्यालयले पुनः मुद्दा दर्ता गर्नुपर्नेछ ।

आरोपी पक्राउ नपरेको अवस्थामा पनि प्रहरीले जाहेरी तामेलीमा राखी अनुसन्धानलाई जारी नै राख्न सक्नेछ । तर कानुनतः बलात्कारको मुद्दामा एक वर्षभित्रै मुद्दा दर्ता गरिसक्नुपर्ने भएकाले प्रहरीले उक्त अवधिमै मुद्दा लैजानुपर्नेछ ।

नाबालिग १९ वर्ष पुग्दासम्म मुद्दा दर्ता गर्न सकिने

मुलुकी अपराध संहिताको धारा २१९ मा जवरजस्ती करणी गर्न नहुने बारे उल्लेख गरिएको छ । संहिताको धारा २१९ मा बालिकाको उमेर अनुसार करणी गर्ने व्यक्तिलाई कैद सजाय हुने व्यवस्था गरिएको छ । हाल बलात्कारको अभियोग लगाएकी नाबालिगको उमेर १७ वर्ष रहेको कारण यदि आरोप पुष्टि भएको अवस्थामा आरोपितलाई १० देखि १२ वर्षसम्मको कैद सजाय हुन सक्नेछ ।

जबरजस्ती करणीको मुद्दामा जाहेरी दिनका लागि हदम्यादसमेत तोकिएको छ । मुलुकी अपराध संहिताको धारा २२९ मा जबरजस्ती करणीमा जाहेरी दिने हदम्याद तोकिएको छ । धारा २२९ मा यसरी बलात्कार भएको अवस्थामा एक वर्षभित्र जाहेरी दिनुपर्ने उल्लेख छ ।

तर बालबालिका सम्बन्धी ऐनमा भने यदि कुनै बालिका पहिले नै बलात्कृत भएको भएता पनि उनी बालिग भएको अर्थात् १८ वर्ष पुगेको मितिले एक वर्षभित्र जाहेरी दिनसक्ने व्यवस्था गरेको छ । यस आधारमा हुँदा यी बालिकाले आफू १९ वर्ष नलाग्दासम्म पनि जाहेरी दिन सक्नेछिन् ।

मुलुकी देवानी कार्याविधि संहिता, २०७४ को दफा ५२ को उपदफा १ मा फिराद वा मुद्दा गर्नुपर्ने कुनै व्यक्ति नाबालिग भएको अवस्थामा निज बालिग भएपछिको दिनको आधारमा हदम्याद प्रारम्भ हुने कुरा उल्लेख गरिएको छ । जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गर्ने हदम्याद १ वर्षको भएको कारण बालिका १९ वर्ष नलाग्दासम्म पनि मुद्दा दर्ता गर्न सकिने व्यवस्था छ ।

 

पल पक्राउ नपरे के हुन्छ मुद्दा ?

जबरजस्ती करणीको कसुरमा जाहेरी परे लगत्तै नायक पल शाह यतिबेला फरार भएका छन् । बिहीबार बिहानसम्म पनि फेसबुकमा पोष्ट गरिरहेका शाह त्यसपछि कतै सम्पर्कमा आएका छैनन् । प्रहरीले शाहको खोजी गरिरहेको बताए पनि बिहीबार साँझसम्म शाह पक्राउ परेका छैनन् । यस्तो अवस्थामा प्रहरीले शाहलाई फरार प्रतिवादीका रूपमा मुद्दा दर्ता गर्न रायसहितके प्रतिवेदन लिएर जान सक्नेछ ।

जाहेरीसँगै प्रतिवादी र साक्षीको बयान महत्त्वपूर्ण हुने भएकाले प्रतिवादीलाई पक्राउ गरी बयान नलिएसम्म मुद्दा नलैजान पनि सक्नेछ । तर उक्त जाहेरी तामेलीमा राखी पछि प्रतिवादी पक्राउ परे लगत्तै मुद्दा लैजान पनि सक्नेछ ।

तर पल शाहमाथि लागेको बलात्कारको मुद्दा एक चर्चित गायिकाको जाहेरी भएकाले प्रतिवादी पक्राउ नपरे पनि मुद्दा लैजान सक्ने अधिकार भने प्रहरी र सरकारी वकिललाई छ । प्रतिवादी पक्राउ पर्न नसकेको अवस्थामा पनि प्रहरीले तथ्य र प्रमाणका आधारमा मुद्दा दर्ता गर्न लैजान सक्नेछ । त्यस्तो अवस्थामा सरकारी वकिलले जिल्ला अदालतमा मुद्दा दर्ता गर्न सक्नेछ ।

पक्राउ परे धरौटीमा छुट्लान् कि जेल जालान् पल ?
बलात्कारजस्तो सङ्गिन आरोप लागेका प्रतिवादी पल शाह पक्राउ परेको अवधिमा अनुसन्धानको समयभर उनी प्रहरी हिरासतमै रहनेछन् । जब उनीमाथि अभियोग मागदावी लिएर जिल्ला अदालतमा मुद्दा पर्छ, त्यसपछि मात्रै उनी जेलमै बस्छन् कि बाहिर निस्कन्छन् भन्नेबारे थुनछेक बहस हुनेछ ।

पीडित बालिका १८ वर्षभन्दा कम उमेरको भएको र आरोप पुष्टि भएको अवस्थामा १० वर्षभन्दा बढी समय जेलमै बस्नुपर्ने भएकाले उनी तत्कालै धरौटीमा छुट्ने सम्भावना भने रहँदैन । तर अभियोग दाबी अनुसारको आरोप पुष्टि गर्ने आधार नभएको अवस्थामा भने न्यायाधीशले धरौटी रकम माग गरी थुनामुक्त गरिदिन पनि सक्नेछन् ।

तर बलात्कारजस्तो मुद्दामा प्रतिवादीलाई थुनामुक्त गर्दा त्यसको सन्देश राम्रो नजाने भएकाले अधिकांश न्यायाधीशले आरोपलाई थुनामै पठाउने गरेका छन् । थुनामुक्त गरेर विवादमा आउनुभन्दा थुनामै पठाउँदा ठीक हुने भन्दै अभियुक्तलाई थुनामै राख्ने गरिएको छ । यस अर्थमा पल पक्राउ परेपछि पनि तत्काल थुनामुक्त हुने सम्भावना ज्यादै कम छ ।

क्षतिपूर्तिमा ठूलो रकम खर्चनुपर्ने हुनसक्छ

पीडित बालिकाको तर्फबाट दर्ता भएको जाहेरीमा दोषीलाई कारबाही र पीडकबाट उचित क्षतिपूर्ति भराउनुपर्ने माग समेत भएको छ । मुलुकी अपराध संहिताको दफा २२८ मा क्षतिपूर्ति भराई दिनुपर्ने बारे उल्लेख छ । उक्त दफामा पीडकबाट आर्थिक हैसियत अनुसार पीडितलाई मनासिब क्षतिपूर्ति भराउनुपर्ने उल्लेख गरेको छ ।

जबरजस्ती करणी अभियोगका आरोपी पल शाहको मासिक आम्दानी नै ५ लाख रुपैयाँभन्दा बढी रहेको बताइएको छ । यस्तो अवस्थामा आरोप पुष्टि भएमा आरोपीको सम्पत्ति र आर्थिक हैसियतका आधारमा पीडितलाई ठूलो रकम क्षतिपूर्ति बापत दिनुपर्ने समेत हुन सक्नेछ । source ratopati.com

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook