• होमपेज
  • वैदेशिक रोजगारसम्बन्धी विज्ञापन प्रकाशन नगर्ने १ सय ४८ संस्था कारबाहीमा
Breaking News

वैदेशिक रोजगारसम्बन्धी विज्ञापन प्रकाशन नगर्ने १ सय ४८ संस्था कारबाहीमा

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन प्रकाशन नगर्ने इजाजतपत्र वाला १४८ संस्थालाई कारबाही गरेको छ।वैदेशिक रोजगार ऐन, २०६४ अनुसार राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नका लागि विभागबाट पूर्वस्वीकृति लिई विज्ञापन प्रकाशन नगर्ने उक्त संस्थालाई ५० हजार रुपैयाँका दरले जरिवाना गराइएको विभागले जनाएको छ।यही साउन ३ र ४ गते विज्ञापन प्रकाशनका लागि अनुमति लिएर पनि विज्ञापन प्रकाशन नगरेकाले ती संस्थालाई जरिवाना गराइएको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए।

ती संस्थाले विज्ञापन प्रकाशन गरे नगरेको बारे विभागले करिब एक महिना लगाएर अनुगमन गरेको थियो। ऐनअनुसार कुनै पनि मेनपावरले रोजगारदाता संस्थासँग भएको सम्झौता वा सहमतिका आधारमा वैदेशिक रोजगारमा कामदार पठाउनु पूर्व रोजगारदाता संस्थाको नाम, ठेगाना र कामदार पठाउने मुलुक, वैदेशिक रोजगारको किसिम, कामदारको किसिम र सङ्ख्या, कामदारले पाउने तलब सुविधासहितको विज्ञापन प्रकाशित गर्नुपर्छ।

विज्ञापन

वैदेशिक रोजगार ऐन २०६४ को दफा ४९(१) मा कुनै पनि इजाजतपत्र वालाले वैदेशिक रोजगारीसम्बन्धी मागको विज्ञापन प्रकाशन नगरेमा वा स्वीकृति विना विज्ञापन प्रकाशन गरेमा विभागले त्यस्तो इजाजतपत्र वालालाई ५० हजार जरिवाना गरी त्यस्तो विज्ञापन रद्द गर्न सक्ने प्रावधान छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook