• होमपेज
  • नगरजन्य सँस्कृतिकाे निर्माण नै आजकाे पहिलाे आवश्यकता
अन्तर्वार्ता

नगरजन्य सँस्कृतिकाे निर्माण नै आजकाे पहिलाे आवश्यकता

बैकुण्ठ भुसाल । नगर शब्दकाे अर्थ नै आफैमा गरिमामयी, गौरवशाली र सारगर्भित छ । रुप पक्ष र सार पक्ष लाई हेर्दा रुपमा मात्र हुने रुपान्तरणले वस्तु धर्मितालाई वरण गर्न सक्दैन । यसैले सार पक्षमा पनि रुपान्तरण आवश्यक हुन्छ ।

वस्तुकाे वास्तविकता र गुण रुपमाभन्दा पनि सारमा प्रष्ट हुन्छ ।छाेक्रा र बाेक्राभन्दा पनि गुदीकै महत्वपूर्ण स्थान रहने गर्दछ ।हामी हामी भावकाे एकत्वमा अगाडि बढ्नुकाे सट्टा अनेकताकाे दूरतामा उल्टाे यात्रा तर्फ लाग्नाले नै गतिशीलतामा अगाडि बढ्न सकिरहेका छैनौँ । ढुङ्गे युगकाे मानव सँस्कृति एक्काइसौं सताब्दीमा आइपुग्दा व्रहामण्डीय युगमा प्रवेश गरिसकेकाे छ ।अनन्तः सम्भावनाहरुलाई पहिल्याउँदै नयाँ नयाँ अन्वेषण र खाेजका माध्यमबाट युगान्तकारी परिवर्तन गर्दै आइरहेकाे छ ।

विज्ञापन

नगरकाे अर्थ सभ्यतासँग जाेडिएकाे छ ।नागरिककाे अर्थ सभ्यता , सँस्कृति ,कर्तव्य र अधिकारसँग जाेडिएकाे छ । त्यसैले तिर्खा लाग्ने खाेली धाउँछ भने झैँ समतामूलक ,सभ्य र उन्नत समाज निर्माणका खाँतिर राज्यकाे पुनरसंरचना भएकाे हाे भन्ने तथ्यलाई जवसम्म हामीले अन्तरहृदयबाट नै महशुस गर्न सक्दैनौँ तबसम्म असल सँस्कृति र सभ्यताकाे उन्नयन हुन सक्दैन न त समतामूलक र समृद्ध समाज निर्माणका आकांक्षाले पूर्णता पाउन नै सक्दछ। यसैले आज हामीले आफूबाट नै म म गरेर रुपान्तरणकाे थालनी गर्नु परेकाे छ । हामीले छाेडी जाने हाेइन खाेजी आउने नगरपालिका स्थापना गर्नु नै आजकाे सर्वाेपरी आवश्यकता हाे ।

कर्तव्यकाे पालनामा गम्भीर बन्नु परे जस्त‌ै अधिकार र अवसर प्राप्तिमा महशुस याेग्य र स्वीकारात्मक वातावरण निर्माण गर्न सकेमा अवश्य नै अपनत्व वाेध र जवाफदेहीताकाे वाेध हुनेछ । सबै छ तर केही नभए जस्ताे ,पूर्णता छ तर अपूर्ण जस्ताे ,निरन्तरता छ ,रिक्त जस्ताे ,धनधान्य श्रोत साधनले परिपूर्ण हामी किन गाँस ,बास ,कपास क‌ै खोजिमा भौँतारिरहेछौँ प्रश्न रहिआएकाे छ । हामी हार्दिकता लाई विर्सेर विभाजनकाे सङकीर्णतामा किन अल्झिन पुग्छौँ, अवसरहरुकाे प्राप्ति प्राप्ति नहुँदाका हुँकार र चित्कारमा नै अस्वच्छ प्रतिस्पर्धामा विजय र पराजयकाे मानसिकतामा मनाेराेगी भइरहेछौँ ।

अब लुछाचुँडी हाेइन हार्दिकता र समभावका आधारमा हातेमालाे गर्दै अगाडि बढ्नु पर्ने अनिवार्यता रहेकाे छ । आज काम गर्ने कालु मकै खाने भालु भन्ने उखान चरितार्थ भइरहेकाे छ । हिजाे नगरपालिका निर्माणकाे आवश्यकता बाेध क कस्लाई भएकाे थियाे र आज पनि भइरहेकाे छ ,कस्ले वृहङ्गम साेचिरहेकाे छ र काे अध्यापि सँकिर्णतामा भासिइरहेकाे छ ,कतै नाङ्गे महाराजकाे कथाकाे पुनरावृत्ति भइरहेकाे त छैन साेच्नै पर्ने हुन्छ । मैले नबनाए अरुले बनाउँदैन ,मैले नगरे अरुले गर्दैन भन्ने सँकिर्णताले अब सामाजिक रुपान्तरण हुनेवाला छैन । भदौमा आँखा फुटेकाे गाेरुले सधैँ हरियाे देख्छ भने झैँ जसले बुझ्नु पर्ने हाे ऊ नै दिग्भ्रमित भइरहेकाे छ । सँकिर्णता र छद्मताकाे वास्तविकता दिउँसोको घाम झैँ छर्लंग भइरहेकाे छ ।

दलीय सँकिर्णता,भेगीय विभाजन, ठूलाे सानाे दम्भ र अवसरकाे लुछाचँडीले के हामीले साेचे जस्ताे नगर बन्न सक्ला र । जे हाेस याे लेखकाे मर्म पनि नगरकाे उन्नतिकाे पहिलाे आवश्यकता भनेकाे नै नगर सभ्यता निर्माण नै हाे । जवसम्म साँस्कृतिक रुपान्तरण हुन सक्दैन तवसम्म परिवर्तनका सबै पाटाहरु अवरुद्घ भइनै रहन्छन् ,परिवर्तन भए पनि परिवर्तनकाे गती ,दिशा र मात्रामा गतिराेध आउँछ । त्यस्ताे विकास एकलकाँटे र हरपाखे बन्न पुग्दछ ।

भौगोलिक र वातावरणीय दृष्टिकाेणबाट हेर्दा फलेवास नगरपालिका पनि भौगोलिक अवस्थिति र वातावरणीय दृष्टिकाेणले तीव्र विकास र दीगाे विकासका लागि अनुकूल रहेकाे छ । भौगाेलिक एवम् वातावरणीय विविधता यसकाे अभिशाप हाेइन वरदान हाे । सानाे भूगाेलमा पनि भौगाेलिक अनेकता र जैविक विविधता हुनुले कृषि पर्यटनकाे शिघ्र ढङ्गबाट सहज विकास गर्न सकिन्छ ।

भर्खरै स्थापित पालिका हुनाले अौद्धोगिक एवम् शहरी विकास नै आजको प्रमुख अभिभारा हुन् भन्ने कुरामा कुनै द्विविधा रहँदैन । आज समृद्ध नगर निर्माणका निम्ति बसाइँ सराइलाई राेक्ने कार्य नै पहिलाे चुनौती हाे ।बसाइँ सरी जाने हाेइन कसरी बसाइँ सरी आउने पालिका बनाउन सकिएला यही नै साेच्नु पर्ने प्रमुख सवाल रही आएकाे छ। यसका लागि नवीनतम् कार्य याेजना बन्नु पर्याे , सबैकाे अपनत्व बाेध हुने वातावरण बन्नु पर्याे ,कसैलाई हिराे ठान्ने र कसैलाई जीराे मान्ने परम्परागत भजन सँस्कृतिकाे अन्त्य हुनु पर्याे, अवसर पाउनेले पाइरहने खानेले खाइरहने मुठ्ठीभर छाेटे महाराजहरुकाे इशारामा चल्दै जाने प्रवृत्ति नै नगरजन्य सँस्कृति र सभ्यता निर्माणका निम्ति बाधक भइरहेकाे छ।

दलीय सँकिर्णता , व्यक्ति अहंकार ,र खाेक्रो आडम्बर र छद्म दावाहरुका कारण केही गरौँ भन्नेहरुमा पनि हिनताकाे भाव आउने गर्दछ ।यसैले नेतृत्व तहले वेलैमा सबैलाई अपनत्व वाेध हुने र दुध पाेखरीमा दुध नै सिंचेर नगर सँस्कृति ,सभ्यता र उन्नतिकाे महा यज्ञमा लाग्ने वातावरण तयार गर्नु नै आजकाे मुख्यआवश्यकता हाे । आन्तरिक खिचातानी ,भेगीय चिन्तन ,नातावाद कृपावाद ,गुट उपगुट ,भजन मण्डलीकाे भजन सँस्कृति ,प्रभुता वाद स्तुति गान नेतृत्वमा दाेहाोरिने तेहेरिनु पर्ने सर्व सत्तावाद ,उपरवालाकाे पहुँच ,प्रार्थना र निगाहा ,खिरपाक ताउली र जादुकाे छडी जस्ता गलत सँस्कार मौलाउँदै जाँदा समयानुकूल गतिशीलतामा सामाजिक साँस्कृतिक रुपान्तरण हुन सकिरहेकाे छैन ।यस्ता गलत साेच र गलत प्रवृत्तिलाई त्याग्दै प्रगतिशील एवम् समन्यायिक साेच र सँस्कृतिको विकास गर्दै जान सकेमा मात्र यथासमयमा नैअपेक्षीत उपलब्धी हासिल हुन सक्दछन् भने सभ्य ,सफल र समृद्ध नगर निर्माण गर्न सकिन्छ ।
क्रमशः

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook