• होमपेज
  • देश भरका महिलाहरुको शिर उँचो हुने गरि काम गर्नेछु–अध्यक्ष शर्मा
Breaking News

देश भरका महिलाहरुको शिर उँचो हुने गरि काम गर्नेछु–अध्यक्ष शर्मा

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पर्वत जिल्ला मोदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट हिरादेबी शर्मा निर्वाचित हुनुभएको हो । राजनीतिक दलहरुले महिलालाई उपाध्यक्ष पदमा मात्रै निर्वाचन लडाउने गरेको भएपनि पर्वतको मोदी गाउँपालिकामा भने शर्माले अध्यक्षमा नै निर्वाचन लडेर बिजय हुँदै मोदी गाउँपालिकाको आगामी ५ वर्षको नेतृत्व सम्हाल्नुभएको छ । राजनीतिसँगै शिक्षक सेवामा समेत लामो समय काम गर्नुभएका शर्माले गाउँपालिकाको नेतृत्व पाएपछि कस्तो खालको योजना बनाउनुभएको छ सोही विषयमा केन्द्रीत रहेर पर्वत समाचारदाता गणेश पौडेलले तयार गर्नुभएको कुराकानी….
गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ, तपाइँको गाउँपालिकाका सम्भावना अवसर र चुनौती के के छन् ? आगामी दिनमा यहाँको आगामी कार्यभार के के हुनेछन् ?

–मोदी गाउँपालिकामा थुप्रै खालका अवसर अनि चुनौतिहरू पनि छन् । सबै खालका अवसरलाई आत्मसात गर्दै चुनौतीलाई चिरेर अगाडि बढ्न आफैमा कठिनाइ छ । सानो गाउँपालिका भएकाले साधन स्रोतको कमी छ । आन्तरिक स्रोत कम हुँदा गाउँपालिकाले ठूला खालका योजनाहरु तय गर्न र ती योजनाहरुको कायान्वयन गर्न नसक्ने अवस्था हुन्छ । हामी यहाँ भएका सम्भावनाहरुको खोजी गर्दै संघ र प्रदेशसँगको सहकार्यमा समृद्ध मोदी बनाउनका लागि यो ५ वर्ष लागि पर्ने छौं । यसका लागि सबैसँग हातेमालो गर्दै अगाडी बढ्ने प्रतिवद्धता समेत जाहेर गर्दछु ।

विज्ञापन

हाम्रो गाउँपालिकामा सम्भावनाका क्षेत्रहरू धेरै छन् । कृषि, पर्यटन, उद्यमका क्षेत्रमा प्रविधिसंग जोडदै आधुनिकरणमा जोड दिइनेछ । पालिका सदरमुकामदेखि वडासम्म जोडने मोटरबाटोहरु स्वरोन्नती गर्ने स्वच्छ सफा पिउने पानीको व्यवस्था गर्ने, एक घर एक धाराको अभियानलाई मूर्त रूप दिने, मोदीलाई सफा र स्वच्छ र समृद्ध बनाउन नीजि क्षेत्र, सरकारी तथा गैरसरकारी संघ संस्थाहरूसंग पनि सहकार्य गरी अगाडी बढाउने गरि लाग्नेछौं ।

चुनावी घोषणा पत्रमा महत्वाकांक्षी योजनाहरु राखेर जनताबाट अनुमोदित हुनु भएको छ तिनलाई पूरा गर्न के कस्ता कर्यनीति अवलम्बन गर्नुभएको छ ?

– हामी भर्खरै मात्रै निर्वाचनमार्फत बिजयी भएर आएका छौं । हामीले मतदातालाई हाम्रो समग्र ५ वर्षे कार्यक्रम र योजनाका बारेमा बताएका छौं ति पुरा गर्नुपर्ने समय अब सुरुआत भएको छ । हामीसँग विगतमा मोदी गाउँपालिकाले आगाडी बढाएर दिर्घकालिन महत्वका योजनाहरुलाई निरन्तरता दिनुपर्ने दायित्व छ । साधन र स्रोतको कमी छ । हामीले निर्वाचनका क्रममा बनाएका चुनावी घोषणा पत्रमा उल्लेखित योजनाहरुलाई अगाडी बढाउनुछ । आम मतदातालाई दिएका आश्वासनहरु पुरा गर्नु छ । ती सबै कामहरुलाई क्रमबद्ध रुपमा योजनामा समेटेर लैजान्छौं र आगमी ५ वर्षमा ति बाचाहरु पूरा गर्नको लागि हरसम्भव उपायहरु अवलम्बन गर्नेगरि अगाडी बढ्ने छौं । हामी आँफूले सक्ने कामहरु यसै बजेटमार्फ अगाडी बढाउने छौं भने हामीले नसक्ने खालका योजनाहरु संघ र प्रदेशसँगको सहकार्यमा अगाडी बढाउने छौं । ती सबै खालका योजना, नीति र कार्यक्रम बनाएर समग्र मोदीका जनप्रतिनिधी, कर्मचारी, आम जनता र राजनीतिक दलहरुलाई समेत साथमा लिएर काम गर्दै जानेछौं ।
चुनावको बेला जनतालाई बाचा गरे अनुसार गुणस्तरिय शिक्षा, निशुल्क स्वास्थ्य सेवा, आधुनिक कृषि तथा पशुपालन प्रणालीमार्फत गाउँमै रोजगारीका अवसरहरु, स्थानीय साधन स्रोतको उपयोगमार्फत स्वरोजगारका कार्यक्रमहरु लगायत विभिन्न योजनाहरु बनाएर लाग्नेछु । महिलाका क्षेत्रमा म आँफू महिला भएको नाताले पालिकाबाट प्रसुती÷सुत्केरी महिलाका लागि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय समेत गरेको छु । यसबाट विशेष गरि सुत्केरी महिलाहरुलाई निःशुल्क सेवा दिने साथै पालका भरिका जनताले यसबाट सेवा पाउने छन् । यस्तै अल्पकालिन र दीर्घमलिन योजनाहरू बनाएर अगाडि बढ्ने हौं, स्थानीय कला संस्कृतिको जगेर्ना गर्दै यसको संरक्षण र उत्थान हुने खालका कार्यक्रम अगाडी बढाउने योजना रहेको छ ।

देशभरमा केहि पालिकामा बिजयी अध्यक्षमध्ये तपाईँ महिलाको प्रतिनिधित्व गर्दै अध्यक्ष हुनुभएको छ तपाई देशभरका महिलाहरुलाई सन्देश दिनेगरी कस्तो काम गर्दै हुनुहुन्छ ?

पहिलो कुरा त महिला भएकै कारण काम गर्न सक्षम छैनन् भन्ने जुन सामाजिक दृष्टिकोण छ त्यसलाई परिवर्तन गर्ने गरि काम गर्नेछु । पारदर्शीता, जवाफदेहिता र शुसासनको क्षेत्रमा उदाहरणीय काम गर्नेछु । साथै समग्र गाउँपालिका भरका महिलाहरुलाई साथमा लिएर महिला दिदीबहिनीहरुको ज्ञान, सीप र क्षमता बढाउने खालका कार्यक्रम ल्याउनेछु । महिलाहरुलाई आत्मनिर्भर बनाउने खालका रोजगारमूलक कार्यहरुलाई अगाडी बढाउनेछु । महिलाहरु आँफै सक्षम नहुँदा परनिर्भर बन्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि स्वरोजगारमूलक र सीपमा आधारित कार्यक्रमलाई अगाडी बढाएर देशभरका महिलाहरुलाई सन्देश दिने खालको काम गर्नेछु । महिलाहरु पनि अध्यक्ष वा प्रमुख भएर काम गर्न सक्छन् भन्ने उदाहरण दिँदै देश भरका महिलाहरुको शिर उँचो हुने गरि काम गर्नेछु ।

तपाइको योजनाका प्राथमिकताका क्षेत्रहरू कुन कुन हुन र त्यसबाट आम जनताले कस्तो खालको प्रतिफल पाउन सक्लान ?

हाम्रो प्राथमिकतामा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, उद्यम, पर्यटन, पूर्वाधार विकास र सामाजिक विकास आदि कुराहरू पर्छन् । यी सबै क्षेत्रको समान ढंगले अगाडी बढाउन सके मात्रै जनताले आशा गरेको प्रतिफल पाउन सक्ने देखिन्छ । सोही अनुरुप हामी योजना बनाएर अगाडी बढ्ने गरि तयारी थालेका छौं । हामी विषेश गरि महिला, जनजाती र पहुँच नहुनेहरुका लागि विषेश कार्यक्रम लिएर जनताका माझ जाने छौं र जनतासँग गरेको बाचा अनुसार नै आगामी ५ वर्षमा उल्लेखनिय काम गर्ने छौं । हाम्रो लक्ष्य गाउँ पालिका भित्र रहेको सबै सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने, सबै वडामा स्वास्थ्य चौकीमार्फत निः शुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, विरामीसंग डक्टर कार्यक्रम मोबाईल टिम बनाएर अगाडि बढाइने छ । लघु उद्यममार्फत सबै खालका उद्यमीहरुलाई दिगो उद्यमका लागि सहयोग गरी उनीहरुको सीप विकास र रोजगारीलाई निरन्तरता दिने र नयाँ युवाहरुलाई प्रोत्साहन हुने खालका योजना अगाडी बढाउने छौं । आगमी आर्थिक वर्षको बजेटमा यस्ता खालका कार्यक्रम समावेश गराएर जाने छौं ।
कृषि , पर्यटन र रोजगारीका कार्यक्रम कसरी लक्ष्यित वर्गसम्म पुर्याउने योजना बनाउनु भएको छ ?

हामी समग्र विकासका लागि कृषि, पर्यटन र रोजगारीका कार्यक्रमहरुलाई लक्षित वर्गसम्म पु¥याउन उनीहका वस्तीहरूमा नै पुगेर समूहमार्फत त्यहाँको समस्या पहिचान गर्ने आवश्यकताका क्षेत्र निर्धारण गर्ने, सम्भावना र चुनौतीहरुको पहिचान गरी सोही अनुसारका वार्षिक योजना बनाई काम गर्ने गरि सबै शक्ति परिचालन गर्नेछौं । कृषिमा, आधुनिकरण गर्दै कृषकहरुलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रम अगाडी बढाउने, एक वडा एक उद्यमको अवधारणा अगाडी बढाई स्थानीय उत्पादनलाई नजिकका बजारहरुमा पु¥याउने, गाउँपालिकाले स्थानीय उत्पादनको बजारीकरण गर्ने र स्वदेशी उत्पादनको प्रवद्र्धनमा जोड दिने लगायतका काम गर्नेछौं । त्यसमा पहिलो प्राथमिकता महिला, दलित, अल्पसंख्यक र विपन्न वर्गलाई दिईनेछ ।

पर्यटन प्रवद्र्धन गर्नका लागि हाम्रै गाउँपालिका भित्र अत्यन्तै सम्भावना बोकेका क्षेत्रहरुछन् । तिनीहरुलाई प्रचार प्रसार र पूर्वाधारको काम गर्न सक्यौं भने पोखरामा आएका पर्यटकलाई मोदीमा ल्याएर १÷२ दिन बस्ने र घुम्ने वातावरण बनाउन सकेमा पर्यटनमार्फत रोजगारी सिर्जना गर्न सक्छौं । मोदी गाउँपालिकासँगै जोडिएर रहेका क्षेत्रहरुबाट जाने राउण्ड अन्नपूर्ण पदमार्गलाई मोदीको भुकताङ्ले हुँदै जाने पदमार्गको विकास गर्ने, पर्यटकिय क्षेत्रहरु पन्चासे, जलजला, भवरकोट लगायतका ठाउँमा पर्यटकिय पूर्वाधारको विकास गर्ने ति क्षेत्रहरुको नजिक रहेका गाउँहरुमा होम स्टे बनाउने, सुबिधासम्पन्न होटलहरुको निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सकेमा पर्यटनमार्फत रोजगारी बढाउन सकिने भएकाले त्यस्ता कामहरुलाई समेत प्राथमिकतामा राखेर काम गर्ने छौं ।

हाम्रो पालिकाका ९० प्रतिशत बढि जनताहरुको मुख्य पेशा नै कृषि भएको र पछिल्लो समय कृषि क्षेत्र पछि परेका कारण छाडेर विदेश जाने प्रचलन बढेको छ । यसका लागि हामीले बाँझो जमिनमा खेती गर्ने कृषकहरुलाई विशेष अनुदानको व्यवस्था गरेर कृषि रोजगारी कार्यक्रम अगाडी बढाउने समेत योजना बनाएका छौं । साथै विपन्न वर्ग पहिचान गरि उनीहरुका लागि समेत विशेष खालका योजनाहरु लागु गर्दै जाने छौं । समग्रमा हाम्रो मुख्य उद्देश्य यहाँका आम जनताको जीवनस्तरमा परिवर्तन ल्याउने नै हुनेछ ।

साभार गोरखापत्र दैनिक

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook