• होमपेज
  • देशभर होइन, क्षेत्रगत रुपमा लकडाउन गर्नुपर्ने हुनसक्छः प्रवक्ता गौतम (अन्तर्वार्ता)
अन्तर्वार्ता

देशभर होइन, क्षेत्रगत रुपमा लकडाउन गर्नुपर्ने हुनसक्छः प्रवक्ता गौतम (अन्तर्वार्ता)

कोरोना संक्रमणको अवस्था, उपचार, नियन्त्रण र तयारीलगायतका विषयमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग नेपालखबरले गरेको संक्षिप्त कुराकानीः

नेपालमा कोरोना संक्रमण दर बढ्न थालेको हो?
कसैले बढेको भनेर म पत्याउँदिनँ। किनभने गएको महिना ८–९ प्रतिशत संक्रमणदर थियो अहिले ३.६ प्रतिशत छ। कसरी बढेको भन्न मिल्छ? पहिले सक्रिय संक्रमित ८ हजार जना थिए अहिले ५ हजार जना छन्।

विज्ञापन

वीरगञ्जसहितका स्थानमा भाइरस समुदायमा गएको हो?
त्यहाँ पकेट एरियामा मात्रै छ। अस्पतालका कर्मचारी, प्रहरी यस्तोमा मात्रै छ। पकेट पकेटमा गएकोलाई समुदायमा गएको मानिँदैन। कन्ट्याक्टको कुनै हिस्ट्री नभएका मान्छेहरु कति छन्, त्यस आधारमा हिसाब गर्ने हो। अहिले धेरैजसो अस्पतालमा उपचार गर्न गएका, पुलिसका क्याम्पमा बसेका मान्छेहरु संक्रमित छन्।

वीरगञ्जका स्वास्थ्यकर्मीहरुले समुदायमा संक्रमण फैलिएको भनिरहेका छन्, त्यो दाबी गलत हो?
समुदायको परिभाषाको थाहा पाउनुपर्यो नि। स्वास्थ्य सेवा विभागको डीजीकै नेतृत्वमा टोली त्यहाँ गएको छ। उहाँहरुले हेर्नुहुन्छ, रिपोर्ट तयार गर्नुहुन्छ। त्यसपछि बल्ल समुदायमा गएको हो कि होइन भन्न मिल्छ।

तर, संक्रमणबाट दिनहुँ मानिसको ज्यान गइरहेको छ नि त?
मान्छेहरुले जनस्वास्थ्यका मापदण्ड पालना गरेनन्। भौतिक दूरी कायम राखेनन्। मास्क लगाएनन्, हात धोएनन्। त्यसकारणले कोरोना लाग्यो। कोरोना लागेका केही प्रतिशत मानिसको मृत्यु हुन्छ। कोरोनाको कुनै उपचार नै छैन। सपोर्टिभ ट्रिटमेन्ट मात्रै हो। भेन्टिलेटरमा हाल्नुपर्ने बिरामी भेन्टिलेटर नपाएर मृत्यु भएको मलाई जानकारी छैन।

बढी प्रभावित वीरगञ्ज लगायत क्षेत्रमा आइसोलेसन बेड, जनशक्ति, स्वास्थ्य सामाग्रीको अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयको तदारुकता कस्तो छ?
हामीले त्यहाँ अभाव हुन नदिन १२औं तहका कर्मचारी खटाएका छौं। उहाँहरु शनिबार बेलुका नै पुगिसक्नुभएको छ। उहाँहरुले आजदेखि व्यवस्थापन थाल्नु हुनेछ। सामाग्रीहरु त्यहीँ छ। उपचार गर्ने ठाउँ, जनशक्तिको व्यवस्थापनका लागि मन्त्रालयबाट उच्चस्तरीय टोली त्यहाँ गएको छ।

देशमा मौज्दात स्वास्थ्य सामाग्रीको अवस्था कस्तो छ?
स्वास्थ्य सामाग्री हामीसँग यथेष्ट छ। एक महिनाका लागि परीक्षण गर्ने सामाग्री मौज्दात छ। अझै डेढ लाख परीक्षणका लागि आवश्यक पर्ने सामाग्री पाइप लाइनमा छ।

सहरी क्षेत्रमा जोखिम बढेको देखिन्छ। बढी जनघनत्व हुने स्थानमा संक्रमण फैलन नदिन मन्त्रालयको योजना कस्तो छ?
भीडभाड हुने ठाउँमा सबैतिर जोखिम छ। ज्यान जोखिममा पार्ने गरी कोही पनि जरुरी नभई घरबाट बाहिर निस्कनु भएन। दुई मिटरको दूरी कायम गर्नुपर्‍यो। दुई मिटरको दूरी कायम गर्न सकिन्न भने त्यो ठाउँमा जान भएन।

जसले जनस्वास्थ्यका मापदण्ड मानेन, मास्क लगाएन, स्यानिटाइज गरेन, त्यसलाई मात्रै कोरोना सर्ने हो। अरुलाई त सर्दैन नि। सावधानी अपनाउँदा अपनाउँदै अस्पतालमा काम गर्ने डाक्टर, नर्सलाई सर्न सक्छ तर सर्वसाधारणलाई त सर्दैन। सावधानी नपनाएर रोग लाग्ने अनि सबै सरकारले नै गर्नपर्ने पनि हुन्छ? सरकारले ५ हजार ५ सय खर्च गरेर टेस्ट गरिदिनुपर्ने व्यक्तिले १० रुपैयाँको मास्क पनि नलगाउने? अनि उसैले ठुल्ठूलो कुरो गर्न मिल्छ?

अबका दिनमा संक्रमणदर कस्तो होला भन्ने प्रक्षेपण छ?
प्रक्षेपणका विभिन्न तौरतरिका हुन्छन। कुन खालको प्रक्षेपणसँग मेल खान्छ भनेर हामी विश्लेषण गर्दछौं। अबका दिनमा कस्तो होला भन्ने थाहा पाउने विभिन्न फर्मुला हुन्छन्। कुन फर्मुला मेल खान्छ हामी हेर्दैछौं।

संक्रमणदर बढ्दै गयो भने फेरि पहिलेको जस्तै पूरै देशभर लकडाउनमा जान्छ?
अहिले वीरगञ्ज, विराटनगर लकडाउनमा गएको छ। जरुरी पर्‍यो भने सरकार चुप लागेर बस्दैन। देश नै पूरै लकडाउन त नहोला, तर क्षेत्रगत रुपमा ठाउँ हेरेर लकडाउन गर्नुपर्ने हुनसक्छ।

परीक्षण दायरा अहिलेको जस्तै हो कि बढाउने पनि योजना छ?
कति हो दायरा भनेको? हामीसँग १८ हजार परीक्षण गर्ने क्षमता छ। गर्नपर्ने जति गर्ने होला नि। यति पुर्‍याउनलाई गर्ने भन्ने हुन्छ र? तपाईंको घरमा जति जना पाहुना आए, त्यति जनालाई खाना पकाउने होला। कि पाँच जना पाहुना आउँदा १५ जनालाई खाना पकाउनुहुन्छ?

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook