• होमपेज
  • शिक्षा, कृषि र पूर्वाधार पहिलो प्राथमिकता
अन्तर्वार्ता

शिक्षा, कृषि र पूर्वाधार पहिलो प्राथमिकता

पर्वत जिल्लाको प्रवेशद्वारका रूपमा रहेको मोदी गाउँपालिकाको केन्द्र पातीचौर बजारमा अवस्थित छ । नेपाल सरकारको २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिकामा साबिकका भुकताङ्ले, देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार, राम्जादेउराली  र चित्रे गाविस रहेका छन् । कुल क्षेत्रफल १४३.५९ वर्ग किलोमिटर रहेको यो गाउँपालिकाको पूर्वमा कास्की जिल्ला, दक्षिणपश्चिममा कुस्मा नगरपालिका र जलजला गाउँपालिका, उत्तरमा म्याग्दी र कास्की जिल्ला छन् । गत २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) बाट हिरादेवी शर्मा निर्वाचित हुनुभयो । राजनीतिसँगै शिक्षक सेवामा समेत लामो समय काम गर्नुभएका शर्माले गाउँपालिकाको नेतृत्व पाएपछि कसरी काम गर्नुभएको छ त ? पर्वत समाचारदाता गणेश पौडेलले अध्यक्ष शर्मासँग गर्नुभएको कुराकानी :

कामलाई प्राथमिकीकरण गर्नुभएको छ ? 

विज्ञापन

मोदी गाउँपालिका पर्वतको सानो भूगोलमा समेटिएको स्थानीय तह हो । सीमित साधनस्रोत रहेको यस गाउँपालिकामा काम गर्नु चुनौतीपूर्ण थियो । मलगायत मेरो टिम निर्वाचित भएपछि सबैको प्रयासमा हामीले केही दीर्घकालीन र केही अल्पकालीन योजना बनाएर स्थानीयवासीका समस्यालाई समाधान गराउने खालका काम गर्दै आएका छौँ । नेपाल सरकारबाट प्राप्त हुने थोरै अनुदानबाट मात्रै गाउँपालिका चलाउन समस्या छ । तथापि सीमित स्रोतबाट पनि हामीले सडक, खानेपानी, सिँचाइ, शिक्षा र आयआर्जनका कामलाई अगाडि बढाई स्थानीयवासीको जीवनस्तर परिवर्तन गराउने खालका काम सुरु गरेका छौँ ।

अधिकांश ग्रामीण बस्ती रहेको यो गाउँपालिकामा कृषि, पर्यटन र उद्यमलाई विशेष जोड दिएर आर्थिक सम्मृद्धिका काम अगाडि बढाएका छौँ । पालिका सदरमुकामदेखि वडासम्म जोड्ने मोटरबाटो स्तरोन्नति गर्ने, स्वच्छ सफा पिउने पानीको व्यवस्था गर्ने, ‘एक घर एक धारा’ को अभियानलाई मूर्त रूप दिने काम गरेका छौँ । मोदीलाई सफा, स्वच्छ र समृद्ध बनाउन निजी क्षेत्र, सरकारी तथा गैरसरकारी सङ्घ संस्थासँग पनि सहकार्य गरी अगाडि बढाएका छौँ ।

शिक्षण पेसाबाट राजनीतिमा आउनुभयो । यो क्षेत्रमा केही विशेष काम गर्दै हुनुहुन्छ ? 

गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता भएकाले हामीले पूर्ण साक्षर गाउँपालिका बनाउने अभियानमा छौँ । शिक्षामा आमूल परिवर्तन नगरेसम्म हामीले चाहेको जस्तो विकास हुन सक्दैन । बालविकासदेखि विद्यालयसम्म व्यवस्थित गर्ने योजना बनाएका छौँ । गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने योजनाका साथ काम गरिरहेका छौँ । एक वर्षमा एउटा वडालाई एउटा पूर्ण साक्षर वडा बनाउने प्रतिबद्धता गरेको थिएँ, ती काम अगाडि बढाएका छौँ । गरिब, विपन्न नागरिक, एकल महिलालाई निःशुल्क स्वास्थ्य बिमामार्फत स्वास्थ्यको पहुँचमा पु¥याउने प्रतिबद्धता गरेका थियौँ र सोही अनुसार काम गर्दै छौँ । यसका साथै महिलालाई पर्ने समस्याका लागि उनीहरूको निःशुल्क स्वास्थ्य परीक्षण, प्रसूतिका लागि निःशुल्क एम्बुलेन्स सेवा, विपन्न महिलाका लागि निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रम, महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गरेका छौँ ।

कृषि र पर्यटनको विकासमा कसरी काम गर्दै हुनुहुन्छ ? 

मोदी पर्यटनको हिसाबले निकै सम्भावना बोकेको गाउँपालिका हो । नेपालकै पर्यटकीय क्षेत्र पोखरादेखि ४८ किलोमिटर दुरीमा छ । राउन्ड अन्नपूर्णको मुख्य प्रवेश बिन्दु यसै पालिकादेखि सुरु हुन्छ । पन्चासे क्षेत्र यसै पालिकाभित्र पर्छ । नयाँ पदमार्ग मानिएको भुकताङ्लेदेखि घोरेपानी पनि यसै क्षेत्रमा पर्छ । जिल्लाकै अग्लो स्थान जलजला यसै पालिकामा पर्ने भएकाले पर्यटकीय सम्भावना र यसबाट फाइदा लिन सकिने पालिका हो । यसका लागि हामीले सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा प्रवर्धनका काम गर्दै आएका छौँ । नयाँ सम्भावनाको खोजी गरेका छौँ । चित्रे होमस्टे गण्डकी प्रदेशकै उत्कृष्ट भएकाले यसलाई अझै व्यवस्थित गर्ने र नयाँ ठाउँको समेत विकास र विस्तार गर्ने योजनाका साथ काम गरिरहेका छौँ ।

कृषि क्षेत्रमा हामीले कृषकको मागमा आधारित कार्यक्रम सञ्चालन गरेर काम गरिरहेका छौँ । युवालाई कृषि क्षेत्रमा जोड्ने कार्यक्रम अगाडि बढाएका छौँ । यस पालिकाभित्र रहेका व्यावसायिक कृषकलाई बजारसँग जोड्ने र नयाँ व्यावसायिक कृषकलाई उत्पादन गराउने र बजारीकरण गर्ने कार्य गर्दै आएका छौँ । सेवासुविधा पहुँचका आधारमा वितरण हुने कार्यलाई रोकेर लक्षित वर्गलाई आत्मनिर्भर बनाउन लागेका छौँ । कृषिलाई सकेसम्म व्यावसायिक बनाई उत्पादनलाई बजारीकरण र व्यवस्थित बनाउन जोड दिएका छौँ ।

पूर्वाधार विकासमा महत्वपूर्ण योजनाके के छन् ? 

– सडक, खानेपानी, सिँचाइ, विद्यालय र स्वास्थ्य संस्थाका भवन निर्माण भइरहेको छ । गाउँपालिकाका सबै वडा कार्यालयलाई पक्की सडकले जोड्ने लक्ष्यका साथ बजेट व्यवस्था गरेका छौँ । सङ्घ र प्रदेशसँगको साझेदारीमा सडक निर्माणलाई अगाडि बढाउने योजना छ । यसै अवधिमा प्रत्येक वडामा स्वास्थ्य संस्थाको भवन निर्माण भएका छन् । पुराना र जीर्ण विद्यालय भवन विस्थापित गर्न सफल भएका छाँै । बाजुङ सिँचाइ योजना अर्को वर्षदेखि कार्यान्वयन गर्ने गरी डिपिआर तयार गर्दै छौँ । खानेपानी समस्या समाधान गर्न गैरसरकारी संस्थासँग साझेदारी गरी काम अगाडि बढाएका छौँ । गाउँपालिकाको प्रशासनिक भवन सम्पन्न भएको छ । सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माणका लागि ठेक्का सम्झौता भई काम अगाडि बढेको छ । गाउँपालिकाको प्रथम पञ्चवर्षीय विकास योजनालाई प्राथमिकतामा राखेर आर्थिक, सामाजिक, पूर्वाधार क्षेत्रका कार्यलाई व्यवस्थित रूपमा अगाडि बढाउने कार्यको थालनी गरेका छौँ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook