• होमपेज
  • प्रदेश सरकारको नेतृत्व कांग्रेसले पनि गर्न सक्छ : शेरधन राई
Breaking News

प्रदेश सरकारको नेतृत्व कांग्रेसले पनि गर्न सक्छ : शेरधन राई

बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्तावको सामना आरामले गर्ने बताएका छन् । नेकपाको प्रदेश संसदीय दलमा अल्पमतमा परेका राईले यसको हिसाब-किताब संसदको हिउँदे अधिवेशनमा हुने बताए ।

आफूले मुख्यमन्त्री पद जोगाउनका लागि कसैलाई पनि मन्त्री पद र आश्वासन बाँड्दै नहिँड्ने बताउँदै राईले भने, ‘मबाट मुख्यमन्त्री पद जोगाउनका निम्ति मन्त्री बाँड्ने, पैसा बाँड्ने, लोभ देखाउने काम हुन सक्दैन । बरु म माननीय सदस्यले विश्वास छैन भन्नुभयो भने आरामले बस्छु ।’

विज्ञापन

प्रदेश १ मा नेपाली कांग्रेसले पनि मुख्यमन्त्री पदमा दाबी गर्न सक्ने राईको स्वीकारोक्ति छ । सरकार गठनमा नेपाली कांग्रेससँग लेनदेन हुन सक्ने संकेत गर्दै मुख्यमन्त्री राईले भने, ‘दुईवटा प्रदेश – वागमती र प्रदेश १) मा नेपाली कांग्रेस निर्णायक बनेको छ । एउटामा दाबी गर्न सक्छ । त्यसमा छलफल हुन सक्छ । यस प्रदेशमा सम्भावना अलि कम छ । तर, कांग्रेसँग सम्वाद भइरहेको छ ।’

प्रस्तुत छ, ‘केपी ओली पक्षका नेता एवं प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईसँग गरेको कुराकानीको सम्पादित अंश-

यतिखेर प्रदेश १ सरकारको कामकारवाही कसरी अगाडि बढिरहेको छ ?

प्रदेश सरकारको काम नियमितरुपमा चलिरहेको छ । पछिल्लो राजनीतिक घटनाक्रमले खासै प्रभाव पारेको छैन । किनभने, हामीले वाषिर्क नीति बनाएका छौं । कोरोनासँग जुधिरहेका छौं । यी सबै कुरासँग सम्बन्धित भएर सरकारले काम गरिरहेको छ ।

तपाईको मन्त्रिपरिषदबाट तीनजना मन्त्रीले भर्खरै राजीनामा दिनुभयो । एकजनालाई तपाईले पदमुक्त गर्नुभयो । यसले काममा असर गरेको छैन र ?

एउटा अन्योल पैदा गरेको छ । तर, सम्बन्धित मन्त्रालयको जिम्मेवारी तोकेका छौं । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई तोकेका छौं । उहाँले जिम्मेवारी सम्हालिसक्नुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी म आफैंले लिएको छु । कुनै काम रोकिएको अवस्था छैन । खाली एउटा अन्योल पैदा भयो । मन्त्रीहरुले राजीनामा दिए । सरकारका विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । यस्तो अवस्थामा मैले प्रमुख सचिव र सचिवलाई राखेर सबै विषय जानकारी गराएको छु । कहीँबाट, कोहीबाट नियमित काममा प्रभावित नभई नियमित काम गर्न निर्देशन गरिसकेको छु ।

नेकमा आएको विभाजनको असर प्रदेश १ मा पनि रहेको हो ?

हाम्रो आर्थिक मामिलामन्त्रीले निकै अगाडि झण्डावाला गाडीमा दमक गएर एउटा कार्यक्रममा दिएको मन्तव्य सुने । कम्तिमा नैतिक मूल्यको हेक्का राख्नु पर्छ नि ! सरकारमा बसेर सरकारकै विरोध गर्ने ?
यो परिस्थितिबाट आत्तिनुपर्ने, अन्योलमा पर्नुपर्ने जरुरी छैन । अहिले देशमा जुन प्रकारको राजनीतिक घटनाक्रम विकसित भयो, नेकपाभित्रको विवाद विभाजनतर्फ उन्मुख भयो, त्यही विवाद र समस्याका कारण प्रधानमन्त्री घेराबन्दीमा पर्नुभयो । बन्द कोठामा लेनदेनको कुरा गरियो । उहाँले जनादेशलाई बन्द कोठामा लेनदेन गर्न मान्नुभएन । त्यो गर्नु पनि हुँदैनथ्यो । त्यसैले ताजा जनादेशको बाटो लिनुभो ।

नेकपाचाहिँ लगभग विभाजित भएको छ । यद्यपि विधिसम्वत विभाजन हुन बाँकी छ । विभाजनको प्रभाव प्रदेशमा आयो । वास्तवमा प्रदेशमा त्यो हतारो गर्नुपर्ने थिएन । किनभने प्रदेश बेग्लै संवैधानिक संरचना हो । तर, अविश्वासको प्रस्तावबाट गम्भीर बन्नुपर्ने अवस्था देखियो । प्रदेशमा आक्रमण गर्ने योजनाका साथ आक्रमण भएको छ । अब त्यसलाई बुझेर हाम्रा प्रदेश सरकारअन्तरगत रहेका कार्यालयले काम गर्नुपर्छ । अविश्वासको प्रस्तावलगायत अनुचित प्रभाव छिट्टै किनारा लाग्छ ।

यहाँले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि आरामले फेस गर्छु भन्नुभयो, त्यो कस्तो आराम हो ?

आरामले भनेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल र माननीय सदस्यहरुको ठूलो साथ र समर्थनबाट यसको सामना गर्छु भनेको हो । विवेक गुमाएका केही माननीय सदस्यले यो कदम चाल्नुभएको छ । कसैलाई मुख्यमन्त्री नभइकन नभएको होला । हतारो होला । कसैलाई अरु नै थोकको हतारो होला । कमिसन खानुपर्ने होला । सेटिङ मिलाउनुपर्ने होला । कहाँ के गर्नुपर्ने हतारो होला । यस्ता महत्वाकांक्षा र लोभलालचको गठजोड हो प्रस्ताव । यो अप्राकृतिकरुपमा आएको छ ।

यो सरकारले, मुख्यमन्त्रीले काम गर्न नसकेर होइन । अयोग्य भएर असक्षम भएर, एकदमै भ्रष्ट भएर अविश्वासको प्रसताव आएको होइन । यो सबैलाई थाहा छ । यो अन्तैबाट निर्देशित भएर गलतखालका चाहना र गठजोडबाट अविश्वासको प्रस्ताव आएको हो । यो प्रदेश सरकारमाथि र प्रदेश तहको संरचनामाथिको आक्रमण हो । यसको सामना मुख्यमन्त्रीले मात्र होइन, सबैले मिलेर गर्नुपर्छ । यो ठहरमा माननीय सदस्यहरु र दलहरु पुग्छन् । यस अर्थमा मैले आरामले भनेको हो । यसमा कुनै ठूलो कठिनाइ देखेको छैन ।

तर, नेकपा संसदीय दलभित्र त तपाई अल्पमतमा हुनुहुन्छ नि ?

त्यो हिसाब पनि केही दिनभित्र थाहा हुन्छ । अल्पमत र बहुमतको कुरा पनि थाहा हुन्छ । किनभने, म हिसाबमा त्यति राम्रो दख्खल राख्ने मान्छे त होइन । तर, हिसाबमा कहिल्यै पनि फेल भएको छैन ।

पहिलोचोटि मुख्यमन्त्री बन्दै गर्दा पनि हिसाबहरु सुन्नुभयो । मिडियामा दैनिक हिसाबहरु छापिएका थिए । त्यही हिसाबको बीचबाट मैले दलमा प्रतिस्पर्धा गरेर चुनाव जितेर आएँ । अब दलमा बहुमत-अल्पमत जे होला, भोलि वास्तविक हिसाब थाहा हुन्छ । केही दिन लाग्ला । तर, यो विषयचाँहि प्रदेशसभामा फेस गर्ने हो । म विश्वासको मत लिन सक्छु । त्यो लिन पाउँछु । त्यो संवैधानिक व्यवस्था हो ।

अहिले पनि म संसदको विश्वासको मत लिएर नै मुख्यमन्त्री बनेको हो । दलमा चुनाव जितें । ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिएँ । प्रदेशमा ठूलो संख्याको समर्थन मसँग छ । अब अंकगणितीय, अल्पमत, बहुमततिर नजाउँ ।

प्रस्तावमा ३७ जनाको हस्ताक्षर देखेका छौं । अब ती हस्ताक्षर कसरी भए, कतिवटा हस्ताक्षर कायम हुन्छन्, कति थपिन्छन्, कति घट्छन् विस्तारै थाहा हुन्छ । समय अझै बाँकी छ, यो हिसाबमा अल्मलिनुपर्ने कारण म देख्दिनँ ।

बाहिरी हिसाबमा त ४७ सांसद प्रचण्ड-माधव पक्षमा र २० ओली पक्षमा भन्ने छ । माघ ७ सम्म हिसाब-किताब तपाईको पक्षमा कसरी आउँछ ?

सम्पूर्ण हिसाब प्रदेशसभाको बैठकमा विषयले औपचारिक रुपमा प्रवेश पाएपछि बाहिर आउँछ । अहिले हिसाबको खेलोमा, जोड घटाउमा उहाँहरुले समय खर्च गरिरहनुभएको छ । मैले जोडघटाउमा समय खर्च गरेको छैन । किनभने, मेरो हिसाब मसँग छ । मैले अघि पनि भनें, हिसाबमा कहिल्यै पनि फेल भएको छैन । यो हिसाबमा मैले खासै ध्यान पनि दिएको छैन । त्यो जिम्मा उहाँहरुलाई नै दिन चाहान्छु ।

तीन वर्षसम्म प्रदेशको नाम राख्न नसकेकोसहित एक दर्जन आरोप अविश्वासको प्रस्तावमा छन् नि ?

मैले पनि हेरें । हाँस पनि उठ्यो । अप्ठ्यारो पनि महशुस भयो । प्रस्ताव मेरा मित्रले नै तयार गर्नुभएको थियो । त्यसको जवाफ म उहाँको अनुहार हेरेर संसदमा दिन्छु । नामाङ्कन मुख्यमन्त्रीले तोक्ने हो र ? नामाङकन त प्रदेशसभाको दुईतिहाई बहुमतले तोक्ने हो नि । उहाँहरुलाई थाहा छैन र ? मेरा दलका आदरणीय नेता भीम आचार्यलाई थाहा छैन ? प्रस्तावक -इन्द्रबहादुर आङ्बो) लाई थाहा छैन र ? हामीले राजधानी तोक्दै गर्दा सबै दल बसेर नामाङ्कनको विषय अलि पछि टुङ्गो लगाउने भनेर माइन्यूट गरेका छौं । अर्काे अधिवेशनमा विषय प्रवेश गराउने कुरा गर्दै गर्दा कोरोनाका कारणले सकेनौं । मैले तोक्ने भए आरोप सान्दर्भिक हुन्थ्यो । तर, यो आरोपका लागि आरोप मात्रै हो ।

प्रदेशको आर्थिक अवस्था डामाडोल बनाएको अरे । के हो त्यो भनेको ? कसले सम्हालेको थियो आर्थिक मामिला मन्त्रालय ? मैले जिम्मा लिएको थिएँ ? तहस-नहस भएको छ भने कसले बनायो ? भ्रष्टाचारलाई संस्थागत गर्‍यो अरे ! भ्रष्टाचार गर्नेमाथि डन्डा चलाउने म होइन र ? सेटिङ गर्ने तत्व भत्काउने म हो । प्रमाणसहित आए एक घण्टाभित्र कारवाही गर्छु भन्ने म हो । कुन-कुन मन्त्रीले कतिपटक बार्निङ गरे ? कतिपटक स्पटीकरण सोधियो ? पछि विषय आउँछन् । खुल्छन् सबै कुरा ।

मैले कुनै प्रश्न उठ्नेखालको गल्ती गरेको छैन । यो अन्तैबाट निर्देशित बनिबनाउ तरिकाले उल्लेख गरिएको हो । आक्रमण नगरी नहुने भएकाले केही कुरा त उल्लेख गर्नुपर्यो भनेर गर्नु भएको हो । तर, उल्लेख गर्दा पनि ख्याल गर्नुपर्छ नि, भोलि आफैंलाई अप्ठ्यारो पार्ने कुराहरु अविश्वासको प्रस्तावमा राख्न मिल्छ ? यी आरोपको कुनै तुक छैन ।

आर्थिक मामिलामन्त्रीले मुख्यमन्त्रीकै कारण वित्तीय अवस्था डामाडोल छ भन्नुभयो नि ?

यी सबै कुरा खुल्छन् विस्तारै । मैले किन छानविन कमिटी बनाएँ ? किन कारवाहीको प्रकृया अगाडि बढाउन पर्‍यो ? आर्थिक मामिला मन्त्रालयले के गर्‍यो ? किन मन्त्रालयले समयमा गरेका फाइल इन्ट्री गरेन ? धेरै कुराहरु म अहिले भन्दिनँ । म केटाकेटी होइन । म परिपक्व नेता हो । म फुत्त मुख्यमन्त्री बनेको होइन । लामो इतिहास र संसदीय अभ्यास गरेर यहाँ आइपुगेको हो । उत्ताउलो पारामा म बोल्न चाहान्न । विषय विस्तारै खुल्छन् ।

अब संसद अधिवेशन माघ ७ गते बोलाइएको छ । अविश्वासको प्रस्तावमाथि त्यहीँ छलफल होला । अब नयाँ सरकार बनाउन नेपाली कांग्रेस तानातानमा पर्ने भयो हैन ?

मबाट मुख्यमन्त्री पद जोगाउनका निम्ति मैले मन्त्री बाँड्ने, पैसा बाँड्ने, लोभ देखाउने काम हुन सक्दैन । बरु म माननीय सदस्यले विश्वास छैन भन्नुभयो भने आरामले बस्छु
कांग्रेस तानातानमा छ । तर, सही निर्णय गर्छ । गलत प्रयास, गलत उद्देश्य र गलत तरिकाबाट आएका कुरालाई असफल तुल्याउने कुरामा नेपाली कांग्रेस उभिन्छ, उभिनुपर्छ । यो प्रस्ताव माथिबाट बनिबनाउ भएर आएको हो । यो मुख्यमन्त्रीलाई आएको प्रस्ताव मात्र होइन, प्रदेश संरचनालाई कमजोर बनाउने र प्रदेशलाई अस्थिरतातर्फ धकेल्ने उद्देश्यले आएको हो । केन्द्रबाट ठाडै आयो । अलि समय पर्खिएको भए हुन्थ्यो । अदालतको आदेश आउनै बाकीँ छ । कुन आधिकारिक हो भन्ने टुंगो छैन ।

तर, आर्थिक मामिला मन्त्रीलाई तपाईले बर्खास्त गरेपछि अविश्वासको दर्ता भएको होइन ?

यस्तो हास्यास्पद कुरातर्फ जानुको तुक छैन । हाम्रो आर्थिक मामिला मन्त्रीले निकै अगाडि झण्डावाला गाडीमा दमक गएर एउटा कार्यक्रममा दिएको मन्तव्य सुने । त्यति अनैतिक, कम्तिमा नैतिक मूल्यको हेक्का राख्नु पर्छ नि । सरकारमा बसेर सरकारकै विरोध गर्ने ? त्यतिबेलै हटाउनुपर्थ्यो, तर मैले मान्छेमा कहिलेकाँही उत्ताउलोपना आउँछ, भावनामा बहकिन्छ, त्यसैले रियलाइज गर्नुहोला भन्ठानेको थिएँ । तर, क्रमशः आउदै गर्दा मुख्यमन्त्री हटाउने कुराको अगुवाई नै पो गर्नुभएछ । हस्ताक्षर अभियान सुरु गर्नुभएछ । भोलिपल्ट दर्ता गर्दै हुनुहुन्थ्यो, त्यही भएर बर्खास्त गरियो ।

प्रदेशमा अब नेकपाका दुबै पक्षको बहुमत पुग्दैन । यो अवस्थामा कांग्रेसले मुख्यमन्त्रीमा दाबी गर्‍यो भने के हुन्छ ?

छलफल हुन्छ । मेरो विचारमा सम्भावना कम छ । तर, सम्भावना छँदैछैन भन्ने हुँदैन । कांग्रेसले दाबी गर्न सक्छ । दुईवटा प्रदेशमा कांग्रेस निर्णायक बनेको छ । एउटामा दाबी गर्न सक्छ । त्यसमा छलफल हुन सक्छ । यस प्रदेशमा सम्भावना अलि कम छ । तर, कांग्रेसँग सम्वाद भइरहेको छ ।

प्रचण्ड-माधव पक्षले तपाईको पक्षका सांसदहरुलाई मन्त्रीको प्रलोभन दिएर आफ्नो पक्षमा तान्ने सम्भावना पनि छ कि ?

म पनि सुन्दैछु । अब कसले बनाएर, निर्देशित गरेर यो सब गर्दैछन्, त्यसको खोजी गर्दैछु । मबाट त्यस्ता अनुचित, अनैतिकखालका प्रयासहरु कहिल्यै पनि हुन सक्दैन । त्यस प्रकारको तरिकाबाट यहाँ आएको मान्छेमा म पर्दिनँ । म संघीयता र संविधानलाई कार्यान्वयन गर्न आएको मान्छे हुँ । मुख्यमन्त्रीमा नाम लेखाउन आएको होइन । मुख्यमन्त्री भएर सेटिङ मिलाएर कमिसन खाने, घरजग्गा जोड्न यहाँ आएको होइन । म त्यस्तो प्रकारको तरिकाबाट आएको पनि होइन । मेरो दिमागमा त्यस्तो काम कहिल्यै हुँदैन । यो प्रदेशको पहिलो मुख्यमन्त्री भएर प्रदेशलाई संस्थागत गर्ने, संघीयतालाई कार्यान्यन गर्ने जिम्मेवारीसहित आएको हुनाले मबाट मुख्यमन्त्री पद जोगाउनका निम्ति मैले मन्त्री बाँड्ने, पैसा बाँड्ने, लोभ देखाउने काम हुन सक्दैन । बरु म माननीय सदस्यले विश्वास छैन भन्नुभयो भने आरामले बस्छु । साथीहरुलाई जस्तो २४ सै घण्टा झस्कँदै, अनुचितखालको बाटोबाट मुख्यमन्त्री बन्नु छैन ।

तपाईको दलका नेता भीम आचार्यले तपाईले कामै गर्नुभएन भन्ने आरोप लगाउनभएको छ नि ?

मलाई थाहा छैन, कहाँ प्लान दिनु भयो ? प्रदेशसभाको बैठकमा उहाँको अनुहार देखेको छैन । कहिलेकाहीँ प्रदेशभामा यसो अनुहार देखाउनुहुन्थ्यो, त्यसपछि संसदीय दलको बैठकमा कहाँ प्लान दिनुभयो ? प्रदेशसभामा बोलेको सुनेको छैन । मलाई काहीँ भेटेर सुझाव दिएको पनि छैन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook