• होमपेज
  • पर्वतमा सार्वजनिक जग्गा अतिक्रमण रोक्न प्रशासन तयारी अवस्थामा
Breaking News

पर्वतमा सार्वजनिक जग्गा अतिक्रमण रोक्न प्रशासन तयारी अवस्थामा

पर्वत । जिल्लामा सार्वजनिक जग्गा अतिक्रमणको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय पर्वत तथा जिल्ला सुरक्षा समिति तयारी अवस्थामा रहेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलका अनुसार गृह मन्त्रालयबाट प्राप्त निर्देशनपत्रका आधारमा आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।

प्रमुख जिल्ला अधिकारी पौडेलले स्थानीय तहहरूलाई आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गाको अवस्था संकलन गरी विवरण पठाउन पत्राचार गरिसकिएको जानकारी दिनुभयो। उहाँका अनुसार सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने अधिकार स्थानीय तहलाई दिइएकोले आवश्यक परेमा स्थानीय तहले सुरक्षा मागेपछि सुरक्षाकर्मी तत्काल परिचालन गरिनेछ।

विज्ञापन

उहाँले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन जिल्ला सुरक्षा समितिको बैठक समेत सम्पन्न भइसकेको र सम्बन्धित सबै निकायलाई समन्वयका लागि पत्राचार गरिएको बताउनुभयो।

जिल्लाका विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी सुकुम्बासी लगायत व्यक्तिहरूले कब्जा गरेको गुनासो आउने गरेको भए पनि हालसम्म ठोस उजुरी भने प्राप्त नभएको प्रशासनले जनाएको छ। विशेषगरी कुश्मा लगायत बजार क्षेत्रहरूमा सार्वजनिक जग्गा अतिक्रमण भएको सूचनाहरू आएको बताइएको छ।

प्रशासनले सार्वजनिक सम्पत्तिको संरक्षणमा सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै