परम्परागत रूपमा धान कुटेर चामल बनाउनका लागि प्रयोग हुँदै आएको ढिकीको प्रचलन कञ्चनपुरमा हराउँदै जान थालेको छ । ढिकीको सट्टा गाउँगाउँमा धान कुट्ने अत्याधुनिक मिल (राईस प्लान्ट) राखिन थालेपछि ढिकीको प्रचलन हराउँदै जान थालेको हो ।
खुट्टाले छोड्दै च्याप्दै गरी ओखलमा राखिएको धान कुट्ने काठको यन्त्रलाई ढिकी भन्ने गरिन्छ । ढिकी कुट्दा धेरै श्रम खर्चिनुपर्ने र जनशक्तिसमेत बढी लाग्ने भएकाले यसको प्रयोगमा कमी भएको जोनापुरका महेश भट्टले बताउनुभयो ।
विज्ञापन
“ढिकीमा धान कुट्दा ओखलमा धान उकेरा लगाउने व्यक्तिले सावधानी नअपनाउँदा गम्भीर चोट लागेर घाइते बनाउने भएकाले समेत जोखिम मोल्नुभन्दा धेरैले मिलमै गएर धान कुट्ने गरेका छन्”–उहाँले भन्नुभयो ।
ढिकीमा धान कुटेर निस्कने चामल मिलमा कुटेको चामलको तुलनामा स्वादिलो र पोषिलो हुने भए पनि यसको महत्व धेरैले नबुझ्दा सुविधायुक्त राइस मिलमै धान कुटाउने प्रचलन बढेको झलारीका दुर्गादत्त भट्टले बताउनुभयो । राइस मिलमा एकछिनमै कम मिहेनतमै धान कुटिने र ढिकीमा एक सुप्पा धान कुट्नका लागि दिनभरि लाग्ने भएकाले पनि ढिकीको प्रचलन घट्दो रूपमा रहेको उहाँको भनाइ रहेको छ ।
काठको कमी र ढिकी बनाउने कालिगढको अभावले समेत ढिकी यहाँ देखिन छाडेका हुन् । यहाँका थारू समुदायमा भने अझै ढिकीको प्रचलन जीवितै रहेको छ । कुखुरा नबास्दै बिहानीपख थारू महिलाहरूले घरमै बनाइएको ढिकीमै धान कुट्ने गरेका छन् ।
ठूलो भोजभतेरमा भने थारू समुदायमा समेत राइस मिलमै धान कुट्ने गरिन्छ । बुट्टेदार र साधारण गरी दुई प्रकारका ढिकी यहाँ प्रचलनमा रहेको पाइन्छ । -कृषि साप्ताहिक
फेसबुक प्रतिक्रियाहरु