• होमपेज
  • ‘होरी’ खेल्ने प्रचलन देउडा शैलीमा
Uncategorized

‘होरी’ खेल्ने प्रचलन देउडा शैलीमा

जामासहितका सेता कपडा लाएर दुई समूहमा गोलो घेरा बनाई गीत मार्फत् खेलिने खेल ‘होरी’ हो । होरी खेल्ने पुरुषले टाउकोमा सेतो पगरीसहित सेतै भोटो, जामालगायतका पहिरन लाएर दुई समूहमा देउडा शैलीमा होरी खेल्ने प्रचलन रहेको छ । शिवरात्रीको दिन शुभारम्भ खेलसँगै फागुको अष्टमीबाट पटकानी (सार्वजनिक मैदान) मा चीर गाडेर होरी खेल्ने प्रचलन रहँदै आएको छ ।
बीचमा ढोलक, झ्याली नरसिंग बजाएर थप संगीतमय बनाउने गरिन्छ । होरीका क्रममा राम, कृष्णलिला मात्र नभएर सामाजिक परिवर्तनका समेत कथा मंगलसेन नगरपालिका–५ का होरी खेलका अगुवा उदयराज ढुंगानाको भनाइ छ । होरीका बेला गाउँगाउँमा ढोलसहितका बाजागाजा र होरीका देउडाले रौनकता छाएको हुन्छ । प्रत्येक बेलुकीतिर बाजासहितका होरीका डेउडाले छिमेकी गाउँमा समेत संगीतमय बनाइदिन्छ ।
सेता पहिरनमा घरमै रहेका माला लगाएर लय मिलाएर गीत गाएर खेलिने होरी खेल्न दिउँसै काम सकेर पटकानी पुग्ने गर्दछन् । अधिकांस पुरुषले खेल्ने होरी पछिल्लो समय महिला तथा किशोरीहरु समेत होरी खेल्न थालेका छन् । महिला र केटाकेटीहरु बढी उत्साहित भएर खेलको बीचमा बसेर रमाइलोसँगै होरीका देउडा सुन्ने गर्दछन् । खलिपा (होरीका देउडा भन्ने एकजना) ले अगाडि होरीका देउडा भनेपछि पछाडिकाले साथ दिएर गाउन थाल्छन् । हरेक बेलुकी यस्तै गरेर करिब एक हप्ता होरी खेल्ने चलन छ ।
होरीका समयमा जिल्लाका बाहिर रहेका मात्रै हैन परदेश गएका समेत घरदेश फर्केर होरीको रमाइलोमा मिसिने परम्परा रहेको छ । निकै ठूलो उत्सवका रुपमा मनाइने होरीमा गाउँघरमा बज्ने बाजा र बेलुकी होरी खेलेको आवाजले नयाँपन महसुस भएको मंगलसेन नगरपालिका–६ का देवीराम भण्डारीको भनाइ छ । अछामका हरेक गाउँमा होरी खेलिने भएपनि सदरमुकाम मंगलसेन र वैद्यनाथको होरी अरु ठाउँको भन्दा बढी रमाइलो हुनेगरेको बताइन्छ । बसाइसराइसँगै कैलालीको धनगढी र टीकापुर, नेपालगञ्ज र काठमाडौंमा होरी खेल्ने प्रचलन रहेको छ ।
होरीको उद्गमस्थल भारतको कुमाउ, गढवाल क्षेत्र रहेको स्थानीय अगुवाको भनाइ रहँदै आएको छ । विसं १७५०÷६० को दशकमा तत्कालिन अछामका राजा भान शाहले आफ्नी जेठी महारानीको माइती कुमाउ गढवालबाट दाइजो स्वरुप बजाउनेसहित होरी खेल्ने मान्छे ल्याएको भनाइ रहेको अगुवा ढुंगानाले जानकारी दिनुभयो । फागुन पुर्णिमाका दिन चीरदाहसँगै होरी खेलको अर्को वर्षसम्मका लागि अन्त्य गरिने परम्परा रहेको छ । तेत्रायुगमा हिरण्यकश्यपले आफ्नो छोरा प्रह्लादलाई आगो जलाएर मार्न खोज्दा बहिनी होलिकाले बचाएको खुसीयालीमा होरी (होली) मनाइएको किवदन्ती रहेको छ । यसपटक भने कोरोना रोगको त्रासका कारण अघिल्लो वर्षमा जस्तो होरी खेल्ने र हेर्नेको उत्साह नपाइएको बताइएको छ ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook