• होमपेज
  • ६ शिक्षकलाई ११ विद्यार्थी
कुश्मा नगरपालिका

६ शिक्षकलाई ११ विद्यार्थी

पर्वतका सामूदायिक विद्यालयमा विद्यार्थीहरुको संख्या घट्दै जान थालेको छ । कतिपय विद्यालयमा कक्षा नै खाली भएको समेत देखिएको छ ।

अभिभावकको अंग्रेजी मोह, बसाईसराई, जन्मदरमा कमी, अभिभावक बजारमा बसेर सन्तती लाई बजारमै पढाउने कारण गाउँका विद्यालयमा विद्यार्थी घट्दै गएको पाईएको छ । दुर्गम ठाउँमा मात्रै नभएर सुगम ठाउँमा पनि विद्यालय खाली हुन थालेको देखिन्छ ।

विज्ञापन

कुश्मा नगरपालिका ९ कटुवाचौपारी स्थित चम्डिलामा रहेको जनप्रिय प्राथमिक विद्यालय पनि रित्तिन थालेको छ । कक्षा १ देखि ५ सम्म पढाई हुने उक्त विद्यालयमा अहिले ११ जना मात्रै विद्यार्थी पढ्दै आएका छन् ।

कक्षा ५ मा एक जना पनि विद्यार्थी छैनन । कक्षा एकमा २ जना, २ मा ३ जना, ४ मा ६ जना विधार्थी रहेका छन् । बिगतमा भरिभराउ रहेको बिधालय अहिले खाली भएको हो ।

प्रधानाध्यापक कमला शर्माले विद्यालयको पढाई राम्रो भएपनि अभिभावकले विश्वास नै नगर्ने समस्याले विद्यालयको स्थिती कमजोर बनेको बताउनुभयो । उहाँले नजिकैको माध्यमिक विद्यालय, बोर्डिङ स्कुल र सदरमुकामका बोर्डिङमा पनि बालबालिका पढ्न जाने भएकाले आफ्नो विद्यालयमा विद्यार्थी संख्या न्यून भएको बताउनुभयो ।

उक्त विद्यालयमा स्थायी, नीजि स्रोत र बालविकासका शिक्षक तथा कार्यालय सहयोग गरेर ६ जना कार्यरत हुनुहुन्छ । २०५६ सालमा समूदायको आवश्यकता र औचित्यताका आधारमा स्थापना भएको यो विद्यालय समूदायकै चासो र चिन्ता नहुँदा विद्यार्थीविहिन बन्न थालेको सरोकारवाला बताउँछन् ।

प्रधानाध्यापक शर्माले भर्ना अभियान, घरदैलो र विद्यालय सुधारका बारेमा नियमित छलफल चलाउँदै आएपनि अभिभावकहरुले आफ्ना छोराछोरी लाई बोर्डिङमा पठाउँदा विद्यालयमा विद्यार्थी बढ्न नसकेको दुखेसो गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव लामिछानेले समूदाय र शिक्षकको चासो बढ्ने हो भने विद्यालयमा विद्यार्थी बढाउन सकिने बताउनुभयो । उहाँले यसका लागि सबैले कोसिस गर्नुपर्ने बताउनुभयो ।

शिक्षकहरुले नै आफ्ना छोरानाती लाई बोर्डिङमा पठाउने गरेको र अभिभावकले सरकारी विद्यालय भनेर हेलाको दृष्टिले हेर्दा विद्यार्थी संख्या बढाउन नसकेको लामिछानेले बताउनुभयो । वडाध्यक्ष रामशर्मा लामिछानेले उक्त विद्यालयको समस्याको बारेमा कुश्मा नगरपालिकामा आफुले धेरै पटक जानकारी दिईसकेको बताउनुभयो ।

विद्यार्थी संख्या बढाउन विद्यालय प्रसासन र समूदायलाई ध्यानाकर्षण गराएपनि सुधार हुन नसकेको लामिछानेले बताउनुभयो । कि विद्यालयमा विद्यार्थी संख्या बढाउने कि नजिकैको विद्यालयमा गाभ्ने विकल्प रहेको भन्दै उहाँले वडाको तर्फबाट सहजताका लागि पहल भैरहेको लामिछानेले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook