• होमपेज
  • त्रिदेशीय शृंखलामा नामिबिया जितविहीन
खेलकुद

त्रिदेशीय शृंखलामा नामिबिया जितविहीन

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाका लागि नेपाल आएको नामिबिया जितविहीन बनेको छ। नेपाल भ्रमणअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको अन्तिम खेलमा स्कटल्यान्डसँग ४३ रनले पराजित भएसँगै नामिबियाले अंक जोड्न सकेन।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले दुई सय २१ रनको योगफल तयार गरेको थियो। यसअघि नै लिग २ च्याम्पियन बनिसकेको स्कटल्यान्डका लागि क्रिस्टोफर म्याक ब्राइडले ७५ बलमा सात चौकासहित सर्वाधिक ४७ रनको योगदान गर्दा कप्तान रिची बेरिङ्टनले ३२ रन जोडे। यस्तै, टोमस म्याकिन्टोसले ३४, माइकल लिस्कले २९ तथा लियाम नेलरले २० रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

विज्ञापन

नामिबियाका लागि रुबेन ट्रम्पेल्म्यानले ९.४ ओभरमा ३० रन खर्चेर सर्वाधिक पाँच विकेट लिँदा टाङ्गेनी लुङ्गामेनीले दुई विकेट लिए। बर्नार्ड स्कोल्ज, बेन शिकोङ्गो र पिकी या फ्रान्सले नामिबियाका एक-एक ब्याटरलाई घर फर्काएका थिए।

दोस्रो इनिङमा नामिबियाका ओपनर लो हान्द्रे लौरेन्सले ६७ बलमा ६ चौकासहित ५२ रनको इनिङ खेलेर आउट हुँदा कप्तान जेरार्ड एरास्मसले ३८ बलमा ४३ रन जोडे। यस्तै, विकेटकिपर-ब्याटर जेन ग्रीनले २५ रन जोड्दा अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।

पहिलो खेलमा नेपाल, दोस्रो खेलमा स्कटल्यान्ड र तेस्रो खेलमा नेपालसँग नै पराजित भएको नामिबिया यो शृंखलामा जितविहीन छ। नेपालसँग पराजित भएको स्कटल्यान्डले दोस्रो जित निकालेको छ।

शृंखलाको अन्तिम खेलमा मंगलबार नेपाल र स्कटल्यान्ड भिड्ने छन्।

जितसँगै स्कटल्यान्डले लिग २ मा ३४ खेलबाट ४८ अंक बनाएको छ। नामिबिया ३३ खेलबाट ३७ अंक जोडेर तेस्रो स्थानामा छ। नेपाल २७ खेलबाट २४ अंकसहित छैटौं स्थानमा छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook