पोखरा, असार २७ – प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरामा जारी तेस्रो गण्डकी महिला टी–२० क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत शनिबार भएको खेलमा पर्वतले बागलुङलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा प्रभावशाली जित दर्ता गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको बागलुङ पर्वतकी दीपिका सापकोटाको कसिलो बलिङसामु टिक्न नसकी १७.३ ओभरमा ४३ रनमै अलआउट भयो। दीपिकाले आफ्नो ४ ओभरको स्पेलमा १० रन मात्र खर्चेर ३ विकेट लिँदै बागलुङको ब्याटिङ लाइनअप धराशायी बनाइन्।
जितका लागि ४४ रनको सामान्य लक्ष्य पछ्याएको पर्वतले आक्रामक ब्याटिङ गर्दै ४.५ ओभरमै कुनै विकेट नगुमाई ४४ रन बनाएर सहज १० विकेटको जित दर्ता गर्यो।
विज्ञापन

बलिङमा उत्कृष्ट प्रदर्शन गरेकी दीपिका ब्याटिङमा पनि चम्किइन्। उनले १८ रनमा अविजित रहँदै टोलीलाई सहज जित दिलाइन्। बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट योगदान दिएपछि उनी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
पर्वतको फलेवास ठानामौला निवासी दीपिका सापकोटा यसअघि यू–१९ राष्ट्रिय क्रिकेट खेलिसकेकी प्रतिभावान खेलाडी हुन्। गण्डकी प्रदेशको सिनियर महिला टोलीबाट डेब्यु गरेको पहिलो खेलमै उनले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरेकी छन्। उनको यो प्रदर्शनले गण्डकीको सिनियर टोलीका लागि आगामी प्रतियोगिताहरूमा पनि उनी महत्वपूर्ण खेलाडीका रूपमा स्थापित हुने संकेत गरेको छ।
प्रतियोगितामा कास्की, स्याङ्जा, नवलपुर, बागलुङ र पर्वत गरी पाँच टोलीको सहभागिता रहेको छ। प्रतियोगिता राउण्ड रोबिन लिग प्रणालीमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु