• होमपेज
  • कालोपत्रे सडक १ वर्ष पनि टिकेन, टालो हालेको १० दिनमै उप्कियो
Breaking News

कालोपत्रे सडक १ वर्ष पनि टिकेन, टालो हालेको १० दिनमै उप्कियो

पर्वत । जिल्ला पूर्वाधार कार्यालय पर्वतको बेवास्ता र निर्माण कम्पनीको लापरवाहीका कारण पर्वतको कुश्मा नगरपालिका ११ र १२ मा बनेको कालोपत्रे सडक १ वर्ष पनि टिकाउ भएन ।
कुश्मा नगरपालिकाको सिल्मीचोदेखि ठूलीपोखरीसम्मका विभिन्न ठाउँमा गरिएको कालोपत्रे १ वर्ष नपुग्दै भत्किएको हो । स्थानीयवासीहरु पटकपटक कार्यालयलाई ध्यानाकर्षण गराएपछि मर्मत गरेको भएपनि केही दिनमै पुनः भत्किएको हो ।
चिसो समयमा गरिएको कालोपत्रे भएकाले धेरै सयम नटिकेको जिल्ला पूर्वाधार कार्यालयले जनाएको छ । ‘हामीले निर्माण कम्पनीलाई धेरैपटक भन्दा समेत अटेरी गरेकाले समस्या आएको हो’ जिल्ला पूर्वाधार कार्यालयका प्रमुख कृष्ण प्रसाद आचार्यले भन्नुभयो–‘अहिले समय सकिएकाले कम्पनीले ध्यान दिएन ।’
दोबिल्ला–सिल्मी–ठूलीपोखरी–कार्कीनेटा १४ किलोमिटर सडक निर्माणका लागि पहिलो चरणमा ग्रामीण पूर्वाधार विकास कार्यक्रमले शुरुआत गरेको र संघीय संरचनामा गएपछि प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार कार्यालयले अनुगमन गरिरहेको छ ।
कार्यालयले गुणस्तरहिन काम हुँदा समेत वेवास्ता गरि भुक्तानी दिएको स्थानीयवासीहरुको आरोप छ । अहिले सडकको अधिकांस ठाउँमा कालोपत्रे उप्किएको, नाली भत्किएको र वर्षामा गएको पहिरो समेत पन्छाएको छैन । ‘कम गुणस्तरको काम हुँदा सडक बनीनसक्दै भत्किन थालेको हो’ स्थानीय धर्म सुबेदीले भन्नुभयो–‘हामीले पटक पटक कार्यालयको ध्यानाकर्षण गराउँदा सुनुवाई भएन ।’
‘चिसो समयमा भएको कालोपत्रे र कम गुणस्तरको ढलानका कारण झारा टार्ने बाहेक केही भएको पाईँदैन तर कुनै निकायले सुनुवाई गर्दैन’ स्थानीय भिमनाथ कुँवरले भन्नुभयो–‘हामी त गुनासो गर्ने निकाय समेत पाएनौं ।’
सडकको करिब १ किलोमिटर ढलान र करिब २ किलोमिटर कालोपत्रेको काम फेवा कन्स्ट्रक्सन प्रालिले सम्झौता गरेर काम गरेको तर अर्को निर्माण कम्पनीलाई बिक्रि गरि काम भएको पाईएको छ । सिमेन्टको मात्रा कम हुँदा ढलान सडक २ महिनामै फूटेर चिरा चिरा परिसकेको थियो । ‘ढलान सबै फूटिसकेको छ’ उहाँले भन्नुभयो–‘सडक माथि झुण्डिएको पहिरो समेत नफाली हाम्रो काम सकियो भनेर कम्पनी हिँड्यो ।’
सडक निर्माणका लागि पहिलो चरणमा १४ करोड र पछिल्लो १० करोड विनियोजन भई २०७३ सालदेखि सडकको स्तरोन्नती सुरु भएको हो । पहिलो चरणमा बजेट अपुग भएपछि पछिल्लो चरणमा थप भएको ६ करोड रकमले कालोपत्रेको काम गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । ‘पछिल्लो १० करोडबाट बचेको रकमले केही ठाउँमा कालोपत्रे गरिएको हो’, कार्यालय प्रमुख आचार्यले भन्नुभयो–‘समन्वय नहुँदा केही समस्या देखिएको भएपनि हामी कम्पनीलाई ताकेता गरेर काम गर्न दवाव दिन्छौं ।’
आचार्यका अनुसार ग्राभेल मात्रै गर्ने डिजाईनले तयार गरेको नाली लगायतको संरचनामा काम गर्दा र अत्याधिक पानी बग्ने ठाउँ भएकाले धेरै ठाउँमा बिग्रीएको हो । उहाँले ईस्टिमेटमा कम गुणस्तर भएकाले निर्माण कम्पनीले थपेर गराउन नसक्ने बताउनुभयो । ‘हामीले जस्तो डिजाईन दिएका छौं त्यहि अनुसार भएको छ’ उहाँले भन्नुभयो–‘थोरै दिएर धेरै काम गराउन सक्ने अवस्था छैन ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook