• होमपेज
  • विद्रोही उम्मेदवारले वैशाख २१ गतेभित्र उम्मेदवारी निष्क्रिय गर्न काँग्रेसको निर्देशन
पत्रपत्रिका

विद्रोही उम्मेदवारले वैशाख २१ गतेभित्र उम्मेदवारी निष्क्रिय गर्न काँग्रेसको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका विद्रोही उम्मेदवारलाई वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गराउन निर्देशन दिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काँग्रेसका केही कार्यकर्ताले पार्टीको आधिकारिक निर्णयविरुद्ध उम्मेदवारी दर्ता गराएपछि काँग्रेसले यस्तो निर्देशन दिएको हो ।

निर्वाचन आयोगले वैशाख १६ गते बिहान १० देखि अपरान्ह ५ बजेसम्म विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारको उम्मेदवारी फिर्ताको समय निर्धारण गरेको थियो । आयोगको सो समयावधिमा कतिपय स्वयंम्ले उम्मेदवारी फिर्ता लिएको र कतिपय उम्मेदवारी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २३ (५) बमोजिम तोकिएको पदाधिकारीले फिर्ता लिन सक्ने व्यवस्था छ । यसअघि काँग्रेसले तोकिएको समयावधिमा विद्रोही उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएमा पार्टीबाट स्वतः निष्काशन हुने चेतावनी समेत दिएको थियो ।

विज्ञापन

सो सम्बन्धमा काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी फिर्ताका लागि केन्द्र र प्रदेश कार्य समितिबाट लेखी  पठाइएकोमा कतिपय ठाउँमा प्राविधिक कारणवश फिर्ता लिएका र गरिएका उम्मेदवारको नाम पनि सूचीमा कायमै रहेको देखिएको उल्लेख छ ।

कतिपय स्थानीय तहमा पार्टीद्वारा चयन गरिएका उम्मेदवारको सूचीमा आफू नपरेका कारण असन्तुष्टि र आवेगमा विद्रोही उम्मेदवारी दर्ता गराएका र फिर्ता लिनुपर्ने समयावधि गुज्रिसकेको अवस्थामा काँग्रेसले पुनः यस्तो निर्देशन जारी गरेको हो ।

  विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक बनेका पार्टी सदस्यले आफ्नो उम्मेदवारीप्रति पुनर्विचार गरी सार्वजनिक वक्तव्य प्रकाशित गरी उम्मेदवारी निष्क्रिय गर्न काँग्रेसले निर्देशन दिएको हो । यसका साथै पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन पनि काँग्रेसले आह्वान गरेको छ ।

News source: Gorkhapatraonline

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook