• होमपेज
  • प्रिय फूलमाया ! सरकारको जुलुशमा आउ
साहित्य

प्रिय फूलमाया ! सरकारको जुलुशमा आउ

प्रिय फूलमाया !
तिमीले सरकार देखिन भन्छ्यौ
सरकार सदन छोडेर यतिखेर सडकमा आएको छ
नारायणहिटी अघिल्तिर
जुलुश निकाल्दै छ
नारा लगाउँदै छ
र यतिखेर मेरो देशको सरकार
निर्वाचित संसदको बध गरेर
नयाँ संसदको गर्भाधानको तयारी गर्दैछ
सरकारको यो कर्मको खुलेर तारिफ गर, ताली बजाउ
प्रिय फूलमाया ! सरकारको जुलुशमा आउ ।

प्रिय फूलमाया !
यो बेला बालिका बलात्कारको कुरा गर्ने होइन,
बाइडवडी, बालुवाटार, भ्रस्टाचारवारे बोल्ने होइन
रेल र तेलको कुरा छोड
सुन र नुनको कुरा छोड
सरकारको जुलुशमा आउ
चर्को श्वरमा नारा लगाउ
प्रतिगमन नै अग्रगमन हो भन
अन्यायलाई न्याय भन
अत्याचारलाई सदाचार भन
विकृतिलाई संस्कृति भन
ख्वामितको भजन गाउ
आउ फूलमाया ! सरकारको जुलुशमा आउ ।

विज्ञापन

प्रिय फूलमाया ! सरकार देखिन भन्नु
सरकारको अपमान हो
सरकारले केही गरेन भन्नु राज्यद्रोह हो
सरकारको सर्वज्ञान र सर्वव्यापकताको निन्दा हो
भोकलाई बिर्स
रोगलाई च्याप
पीडा भएपनि केवल मुस्कुराउ
आउ फूलमाया ! सरकारको जुलुशमा आउ ।

यो देशमा पुलिश सरकारको
प्रशासन सरकारको
विद्यालय सरकारको
न्यायालय सरकारको
शक्ति सरकारको
सम्पत्ति सरकारको
अमिन सरकारको
जमिन सरकारको
विरोध होइन, सरकारको समर्थनमा आउ
वरू एउटा राम्रो नियुक्ति खाउ
आउ फूलमाया ! सरकारको जुलुशमा आउ ।

संसद किचेर केही हुँदैन
संविधान मिचेर केही हुँदैन
सरकारको हरेक कदममा थपडी बजाउ
खातिरदारी गर, नारा लगाउ ।
प्रिय फूलमाया !
आउ, सरकारको जुलुशमा आउ ।                         ओमप्रसाद घायल,कुश्मा पर्वत । यो कविता घायलको फेसबुकबाट साभार गरिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook