• होमपेज
  • बाहिरका मान्छेको प्रवेश रोक्न गाउँका नाकामा महिलाको पहरा
Uncategorized

बाहिरका मान्छेको प्रवेश रोक्न गाउँका नाकामा महिलाको पहरा

सिमकोट– कोरोना भाइरसको कहरले अहिले जताततै त्रासको वातावरण सिर्जना भएको छ। यही त्रासका कारण बाहिरका मान्छे आफ्नो गाउँमा नपसुन् भनेर हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ५ को खाद्यक गाउँका महिलाहरु यतिबेला गाउँका नाकामा पहरा दिन थालेका छन्।

सदरमुकाम सिमकोटसमेत रहेको वडा भएको कारण मानिसहरुको आवतजावत नरोकिएपछि महिलाहरुको सामूहिक निर्णयबाट यो काम थालिएको हो।

विज्ञापन

स्थानीय सजिता रावतले अन्यत्रबाट गाउँमा प्रवेश गर्ने मानिस दैनिक जसो फिर्ता गर्ने गरिएको बताइन्। ३ सय १४ घरधुरी रहेको वडामा महिलाहरुको यो प्रयासको प्रसंशा भइरहेकाे छ।

बिरामी र जरुरी काम परेका बाहेक अन्यलाई गाउँ प्रवेशमा रोक लगाउन महिलाहरु सफल पनि भएका छन्। उनीहरुसँगै प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरु पनि ड्यूटीमा बस्दै आएका छन्।

खेतीपाती र पशुपालन पनि हुने भएको कारण गाउँका मानिसहरु पनि काम विशेषले वन तथा खेतबारीमा जानु पर्ने भएपछि सुरक्षाकर्मीले उनीहरुलाई गाउँ र अन्यत्रका मानिस पहिचान गर्न कठिन हुने भएको बेला महिलाहरु पनि नाकामा पहरा दिन थालेपछि सुरक्षाकर्मीहरुलाई पनि सहज भएको छ।

बिहान ६ बजे तीन वटा नाकामा चार–चार जनाका दरले दैनिक पहरा दिन जानु र बेलुका सात बजेसम्म बस्नु उनीहरुको दैनिकी बनेको छ।

उनीहरुलाई वडाले पहरा बसे बापत खाजाको व्यवस्था गरेको छ। अब कोरोनाकाे त्रास रहँदासम्म गाउँका महिलाहरुले पालैपालो पहरा बस्ने काम जारी रहने अर्की स्थानीय प्रज्ञा रावतले बताइन्।

महिलाहरुले यो काम थालेको चार दिन भएको छ। यस बीचमा सुत्केरी, बिरामी र अत्यावश्यक काम परेका बाहेक अन्य सबैले फिर्ता हुनु परेको छ।

पहिलो दिन महिलाहरुले सुरक्षाकर्मी भन्दा पनि आफैले बाहिरबाट आउने मानिहरुलाई राक्ने काम गर्दै आएका थिए। यसो गर्नु उपयुक्त नहुने भन्दै वडाले अब गाउँबासी र बाहिरको मानिस भनेर छुट्याउने काम मात्रै महिलालाई तोकिएको छ।

पहरा बस्ने महिलाले भने अनुसार सुरक्षाकर्मीले मानिसहरुलाई गाउँ प्रवेशमा अनुमति दिने वा नदिने निर्क्याैल गर्छन्।

महिलाहरु पहरा बस्ने स्थानमा सिमकोट गाउँपालिकाले हेल्थ डेस्क पनि स्थापना गरेको छ। बाहिरबाट गाउँ पवेश गरी फर्कनेहरुको स्वास्थ्य परीक्षण पनि हुने गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook