पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले सेवाग्राहीलाई छिटोछरितो, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन सेवा प्रवाहमा थप सुधार गर्ने भएको छ।नयाँ प्रजिअ गंगा बहादुर क्षेत्रीको आगमनसँगै सुधारका लागि नयाँ कार्यको प्रारम्भ भएको हो ।
कार्यालयले गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाको २०८३ भदौ २९ को परिपत्र अनुसार सेवाग्राहीमैत्री सेवा प्रवाहका लागि कार्यालयले समेत बिचौलियामुक्त बनाउन सुरु गरेको हो। कार्यालयले जारी गरेको सूचनामा राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवाका लागि आवश्यक अनलाइन फाराम भर्ने सेवा निःशुल्क उपलब्ध गराइने उल्लेख छ।
विज्ञापन
त्यस्तै, अपाङ्गता भएका व्यक्ति, अशक्त व्यक्ति, गर्भवती महिला, सानो बच्चा भएका महिला, ज्येष्ठ नागरिक तथा टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता दिइने कार्यालयले जनाएको छ।
सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल्ने गतिविधिमाथि समेत कार्यालयले निगरानी बढाउने भएको छ। त्यस्ता कार्यमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ।
कार्यालयबाट निःशुल्क उपलब्ध हुने सेवाका लागि बिचौलियाको प्रलोभनमा नपरी प्रत्यक्ष रूपमा कार्यालयबाट सेवा लिन समेत सेवाग्राहीलाई आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार सेवा प्रवाहलाई थप बिचौलियामुक्त, छिटोछरितो, सरल र प्रभावकारी बनाउने उद्देश्यले यी व्यवस्था गरिएको हो।

फेसबुक प्रतिक्रियाहरु