कुश्मा, पर्वत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कुश्मा नगर समितिले सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत विभिन्न वडा समितिमार्फत समुदाय केन्द्रित र सेवामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। श्रावण महिनाभरि विभिन्न वडाहरूमा सडक मर्मत, सरसफाइ, धार्मिक स्थल व्यवस्थापन, आर्थिक सहयोग तथा रक्तदानजस्ता सामाजिक कार्यहरू सञ्चालन गरिएको नगर समितिले जनाएको हो।
पार्टीका अनुसार कुश्मा नगरपालिका–१ पाङमा रहेको दलित बस्ती इन्द्र क्षेत्रको भत्किएको मोटरबाटो मर्मत तथा नाली खन्ने कार्य सम्पन्न गरिएको छ। त्यसैगरी वडा नं. २ (खुर्कोट) ले गणेश मन्दिरका लागि फलामका संरचनाहरू मिलाउने कार्य गरेको जनाएको छ।
विज्ञापन
यस्तै, वडा नं. ४ ले डिभाइडर सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ भने वडा नं. ५ ले बडगाउँ सल्लाघारी क्षेत्रमा सरसफाइ अभियान सम्पन्न गरेको छ।
वडा नं. ३ दुर्लुङ समितिले सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको शोकसन्तप्त परिवारलाई आर्थिक सहयोग प्रदान गर्दै मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ।
यसैबीच वडा नं. ६ ले आगामी शनिबार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। वडा नं. ७ ले आगामी आइतबार डिभाइडर सरसफाइ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ भने वडा नं. १० ले पनि सोही दिन सरसफाइ अभियान आयोजना गर्ने जनाएको छ।
रास्वपा कुश्मा नगर सभापति रमेश कुमार श्रेष्ठले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर विभिन्न रचनात्मक तथा सेवामूलक गतिविधिमा सक्रिय भूमिका निर्वाह गरिरहेका सम्पूर्ण वडा समितिलाई धन्यवाद तथा शुभकामना व्यक्त गरेका छन्।
उनले अन्य वडा समितिहरूलाई पनि आफ्नो क्षेत्रको आवश्यकता पहिचान गरी यस्ता सामाजिक सेवामूलक अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै सेवा, सहकार्य र सकारात्मक योगदानबाट मात्रै समाज परिवर्तन सम्भव हुने बताएका छन्।
:::writing

फेसबुक प्रतिक्रियाहरु