कुश्मा, साउन १५ – पर्वत जिल्लाका विभिन्न नागरिक समाज तथा पेशागत संस्थाहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै धार्मिक सद्भाव, सामाजिक एकता र कानुनी शासन कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।
गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वत, नागरिक समाज सञ्जाल पर्वत, नेपाल पत्रकार महासंघ पर्वत, नेपाल बार एसोसिएसन पर्वत, मानव अधिकार संगठन पर्वत तथा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपाल पर्वतको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा हालका दिनहरूमा देशका विभिन्न स्थानमा देखिएका धार्मिक आस्था तथा सामाजिक विषयसँग सम्बन्धित विवादप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।
विज्ञापन
विज्ञप्तिमा विशेषगरी साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको झडप तथा गोली चलेको घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
संयुक्त विज्ञप्तिमा नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, आस्था तथा विश्वास स्वतन्त्र रूपमा अवलम्बन, अभ्यास र संरक्षण गर्ने मौलिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै कुनै पनि विवादको समाधान हिंसा, उत्तेजना वा कानुन हातमा लिएर नभई संवाद र विधिको शासनमार्फत हुनुपर्नेमा जोड दिइएको छ।
संस्थाहरूले सामाजिक सद्भाव, पारस्परिक विश्वास तथा राष्ट्रिय एकतामा नकारात्मक असर पर्ने गतिविधिबाट टाढा रहन सबै राजनीतिक दल, धार्मिक अगुवा, सञ्चारमाध्यम तथा आम नागरिकलाई संयमता अपनाउन आग्रह गरेका छन्। साथै अपुष्ट र भ्रामक सूचना प्रसारण नगर्न र सामाजिक सद्भाव कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ।
विज्ञप्तिमा नेपाल सरकार तथा सम्बन्धित निकायसँग घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत, क्षतिपूर्ति र घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न माग गरिएको छ।
उक्त संयुक्त अपिलमा नागरिक समाज सञ्जाल पर्वतका संयोजक माया अधिकारी, गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष कृष्ण प्रसाद शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा, नेपाल बार एसोसिएसन पर्वतका अध्यक्ष पूर्ण सुवेदी, मानव अधिकार संगठन पर्वतका अध्यक्ष माधव पौडेल, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल पर्वतका अध्यक्ष आशिष पौडेल तथा गैसस महासंघ नेपाल जिल्ला शाखा पर्वतका सचिव बलिनारायण रेग्मीको हस्ताक्षर रहेको छ।

फेसबुक प्रतिक्रियाहरु