• होमपेज
  • कुश्मा–१३ को उदाहरणीय पहल: वडागत बजेटबाट सडक कालोपत्रे
Breaking News

कुश्मा–१३ को उदाहरणीय पहल: वडागत बजेटबाट सडक कालोपत्रे

पर्वत, कुश्मा — सीमित स्रोतसाधनका बाबजुद प्रभावकारी ढंगले बजेट उपयोग गर्दै कुश्मा नगरपालिका–१३ खौलालाँकुरीले सडक कालोपत्रे कार्य सम्पन्न गरेको छ। वडाअध्यक्ष तेजप्रसाद चापागाईका अनुसार वडाको आफ्नै बजेटबाट खौला–कार्किनेटा सडक खण्डको करिब ३ सय ५० मिटर भाग कालोपत्रे गरिएको हो।

नगरपालिकाबाट वडागत रूपमा करिब ७० लाख रुपैयाँ बजेट सिलिङ प्रदान गरिए पनि विभिन्न विषयगत शीर्षकमा बजेट विनियोजन गर्दा सडक निर्माणका लागि सीमित रकम मात्र उपलब्ध भएको उहाँले जानकारी दिनुभयो। सोही सीमित बजेटमध्ये ३२ लाख रुपैयाँ खर्च गरेर सडक कालोपत्रे सम्पन्न गरिएको हो।

विज्ञापन

नगरपालिकाले वडागत बजेट वितरण प्रणाली अपनाउँदा कतिपय स्थानमा अनावश्यक खर्च भएको भन्दै आलोचना भइरहेका बेला कुश्मा–१३ ले भने उपलब्ध स्रोतको प्रभावकारी उपयोग गरी उदाहरणीय काम गरेको स्थानीयवासीको भनाइ छ।

वडाअध्यक्ष चापागाईले उक्त सडक निर्माण कार्यलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने योजना रहेको बताउनुभयो। “सिमित बजेटका कारण अपेक्षित स्तरमा काम गर्न केही समस्या भए पनि उपलब्ध स्रोतलाई अधिकतम प्रयोग गरेर काम अघि बढाएका छौं,” उहाँले भन्नुभयो।

उहाँका अनुसार केन्द्र र प्रदेश सरकारबाट पर्याप्त सहयोग नपाउँदा स्थानीय तहले सीमित बजेटमै काम गर्नुपर्ने बाध्यता रहेको छ। तथापि, वडाले विकास निर्माणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप पूर्वाधार विस्तार गर्ने लक्ष्य लिएको उहाँको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै