काभ्रेपलान्चोक । काभ्रेपलान्चोकमा एमालेको भ्रातृ सङ्गठन युवा संघको अधिवेशन विवादित बनेको छ । केपी ओली पक्षले अधिवेशन बहिष्कार गरे पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले एकलौटी रूपमा कमिटी घोषणा गर्दै एघारौँ जिल्ला अधिवेशन सम्पन्न भएको जनाएको छ ।
ओली पक्षीय नेताहरूले जिल्ला उपाध्यक्ष रुपकजंग रायमाझीलाई अधिवेशन आयोजक कमिटीको संयोजक तथा ११ औँ जिल्ला अधिवेशनबाट सर्वसम्मत अध्यक्ष बनाउनु पर्ने एक सूत्रीय अभियानमा लागेर अधिवेशन रोक्न प्रयास गरेका थिए ।
विज्ञापन
सोहीअनुसार युवा सङ्घ बागमती प्रदेश अध्यक्ष हरिशरण जमकट्टेल र काभ्रेपलान्चोक इन्चार्ज तथा केन्द्रीय सदस्य सागर रायमाझीले अधिवेशन स्थगित गर्न निर्देशन दिएका थिए । तर सो निर्देशानुसार अघि नबढी पूर्वराष्ट्रपति भण्डारी पक्षले अधिवेशन सम्पन्न गराएको हो।
प्रदेश कमिटीलाई समन्वयकारी भूमिका मात्र भएको र कार्यकारी अधिकार केन्द्रीय कमिटीमा रहेको तथा केन्द्रीय कमिटीले अधिवेशन रोक्न मौखिक एवम् लिखित निर्देशन जारी नगरेकाले अधिवेशन अघि बढाइएको निवर्तमान अध्यक्ष ईश्वर वल्लभ सापकोटाले दिए । भण्डारी पक्षले १३ वटै पालिका कमिटीबाट प्रतिनिधित्व सुनिश्चित गरी
अवरोधका प्रयासलाई चिर्दै अधिवेशन सम्पन्न गरेको दाबी गरेको छ। तर ओली समूहले भने आफूलाई पेलेर जान खोजिएको र अनधिकृत रूपमा अधिवेशन गरिएको आरोप लगाएको छ । ओली पक्षको नेतृत्व गरेका युवा संघका उपाध्यक्ष रूपक रायमाझीले जिल्लामा भएको अधिवेशन अवैधानिक भएको बताए ।
आइतबार धुलिखेलमा सम्पन्न अधिवेशनबाट सीबी लामा अध्यक्षमा निर्वाचित हुँदा रमेश बुढाथोकी उपाध्यक्षमा र अमन धिताल सचिवमा निर्वाचित भएका छन् । त्यस्तै राजेन्द्र लामा र सगुन थापा सहसचिव, शिवप्रसाद ढुङ्गेल कोषाध्यक्षमा निर्वाचित भएका छन्। सङ्गठन विभागको प्रमुखमा किरण तामाङ निर्वाचित भएका छन्।
अधिवेशनको उद्घाटन नेकपा एमाले काभ्रेपलान्चोकका अध्यक्ष राजन भुर्तेलले गरेका थिए। केन्द्रीय अध्यक्ष क्षितिज थेबे प्रमुख अतिथिको रूपमा आउने कार्यतालिका निर्धारित गरिएको भए पनि उनी उपस्थित भएनन्। काभ्रे जिल्लामा पार्टीका हरेक अधिवेशनमा प्रमुख अतिथि भएर आउने जिल्ला इन्चार्ज रहेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटा समेत कार्यक्रममै देखिएनन् ।
फेसबुक प्रतिक्रियाहरु