पर्वतका सरकारी कार्यालयहरुको गत आर्थिक वर्षको बार्षिक समिक्षा सहित पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा भएको कार्यक्रममा जिल्लाका १४ वटा कार्यालयहरुले गत आर्थिक वर्षको बार्षिक प्रगति समिक्षा प्रस्तुत गरेका थिए । जिल्लामा विकास निर्माणका कार्यक्रमहरुमा संलग्न तथा सेवा प्रदायक कार्यालयहरुले आ–आफ्नो प्रस्तुती राखेका थिए । गत आर्थिक वर्षमा अधिकांस कार्यालयको प्रगति सन्तोषजनक देखिएका छ ।
विज्ञापन
बजेट बिनीयोजन भएका अधिकांस सालवसाली कार्यक्रमहरु निर्धारित समयमै सम्पन्न भएको र केहि कार्यक्रमहरु बजेट अभाव, दोहोरो बजेट व्यवस्थापन, जग्गा विवाद, तथा बजेट अपुग भएका कारणले सम्पन्न हुन नसकेको उनिहरुको भनाई रहेको छ ।
कार्यक्रममा जिल्लाको सडक, भवन, बाढीपहिरो नियन्त्रण, सिंचाई तथा पर्यटनका पुर्वाधारहरु निर्माण, स्वास्थ्य सेवा प्रवाह लगायतका बारेमा छलफल समेत गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरेले सरकारी कार्यालयहरुका सेवा सुविधा र कार्यक्रमका बारेमा नागरिकहरुलाई समयसमयमा जानकारी दिनु कार्यालयहरुको दायित्व हुने बताउनुभयो । राज्यवाट प्रवाह हुने सेवा सुविधा पाउनबाट कोहिपनि नागरिक बञ्चित हुन नहुने भन्दै प्रजिअ घिमीरेले आम सञ्चार माद्यामहरुको भरपुर उपयोग गर्न निर्देशन समेत दिनुभएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले कार्यालयहरुको प्रगति सन्तोषजनक देखिएपनि बास्तविक रुपमा त्यस्तो नरहेको बताउनुभयो । अहिलेपनि सरकारी सेवा सुविधाहरु पद र पहुँचको भरमा वितरण हुने गरेको, कार्यालयहरुले चौमासिक रुपमा सार्वजनिक गर्नुपर्ने गतिविधिहरु सार्वजनिक नगर्ने, सार्वजनिक सुनुवाई नगर्ने र मनोमानी ढंगवाट कार्यक्रमहरु गर्ने गरेको बताउनुभयो।
उहाँले जिल्लामा देखिएका तमाम समस्याहरुको समाधानका लागि अन्तर कार्यालय र अन्तर स्थानीय तहहरुबीचको समन्वय हुन नसक्दा धेरै समस्या आउने गरेको भन्दै यसको समाधानमा सवै निकायबीच समन्वय गर्न आग्रह गर्नुभयो ।
उहाँले एकमुष्ट रुपमा समिक्षा गर्नुभन्दा पनि प्रत्येक सरकारी कार्यालयहरुले छुट्टाछुट्टै रुपमा संचालन गर्दा थप प्रभावकारी हुने उहाँको सुझाव छ । कार्यक्रममा स्वागत जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत स्यामकृष्ण पौडेल र संचालन भरत सापकोटाले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु