राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभामा आफ्नो संसदीय दलका नेता कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । जनमोर्चाका महासचिव मनोज भट्टले थापालाई संसदीय दलको नेताबाट हटाइएको जानकारी दिए ।
थापाले पार्टीको निर्देशन नमानेकाले कारबाही गरिएको र यस विषयमा संसद् सचिवालयलाई जानकारी दिएको उनले जानकारी दिएका हुन् ।
विज्ञापन
सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट कारबाही गरिएपनि सांसद पदबाट भने निलम्बन गरिएको छैन । पार्टीका आफ्नै प्रक्रिया हुने भन्दै यसपछि के कारबाही हुन्छ भन्ने कुरा अहिले नै बताउन नमिल्ने उनले बताए ।
प्रदेश सभामा तीन सदस्य रहेको राजमोका पियारी थापा र खिमविक्रम शाहीले विपक्षी कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी गठबन्धनले मुख्यमन्त्रीको रूपमा अगाडि सारिएका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा हस्ताक्षर गरिसकेका छन् ।
सांसद कृष्ण थापाले भने उनको पक्षमा हस्ताक्षर गर्न इन्कार गरेसँगै बिहान स्पष्टीकरण सोधेको राजमोले दिउँसो संसदीय दलको नेताबाट हटाएको हो ।
राजमोले थप कारबाहीको बारेमा नबताए पनि कृष्ण थापालाई निलम्बनको प्रक्रिया अगाडि बढाएको र संसद् सदस्यबाट नै हटाउने आफूहरूलाई आश्वासन दिएको गठबन्धन दलका एक नेताले नयाँ पत्रिकालाई बताएका छन् ।
त्यसो गर्दा ६० सदस्यीय गण्डकी प्रदेश सभामा ५९ सांसद हुने र ३० सांसदको साथ पाउँदा विपक्षी गठबन्धनलाई बहुमत पुग्ने ती नेताको दाबी छ ।
फेसबुक प्रतिक्रियाहरु