• होमपेज
  • जाडोमा निमोनिया हुने सम्भावना अधिक, यस्ता छन् बच्ने उपाय
स्वास्थ्य-जीवनशैली

जाडोमा निमोनिया हुने सम्भावना अधिक, यस्ता छन् बच्ने उपाय

काठमाडौं ।

काठमाडौंमा मात्र होइन, नेपालभर नै चिसो निकै बढिसकेको छ । जब चिसो याम सुरु हुन्छ, फोक्सो तथा छातीमा चिसोका कारण हुने संक्रमण पनि बढ्ने सम्भावना बढी हुन्छ । जाडोमा श्वास प्रणालीमा धेरै समस्या देखिन्छ । जसमध्येको सबैभन्दा जटिल समस्या हो, निमोनिया । नेपालमा वर्षेनी निमोनियाका बिरामी बढ्ने गरेको छ । विशेषगरी पाँच वर्ष मुनिका बालबालिका, रोगी, प्रौढ तथा गर्भवती महिलालाई निमोनिया हुने सम्भावना बढी हुन्छ । संसारमा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युको मुख्य कारण निमोनियालाई मानिन्छ । संसारभरिकै बालबालिकाको मृत्युदर घटाउन डब्लुएचओ र युनिसेफले संयुक्त रुपमा सुरु गरेको र नेपालमा पनि लागू भइसकेको कार्यक्रम सिबी–आइएमएनसिआईमा पनि निमोनिया पर्छ ।

विज्ञापन

जाडोको मौसममा, धूँवाधुलोमा, दम वा खोकी लागेको अवस्थामा निमोनिया हुने खतरा धेरै हुन्छ । निमोनिया भएपछि फोक्सोका कोष सुनिन्छन्, श्वासप्रश्वासमा समस्या आउन सक्छ । कतिपय अवस्थामा निमोनियाले ज्यान लान सक्छ । त्यसैले यसबारे सतर्क हुनु राम्रो हुन्छ । जाडोमा निमोनिया झनै बढी हुने भएकाले खानपानदेखि मौसमको समेत ख्याल गर्नु पर्ने हुन्छ ।

के हो निमोनिया ?

फोक्सोको तन्तुहरू संक्रमित भई फोक्सोमा देखा परेको प्रदाहत्मक स्थितिलाई चिकित्सकीय भाषामा निमोनिया भनिन्छ । निमोनिया श्वास प्रणालीको सबैभन्दा तल्लो भाग वायुकोष्ठिकाको संक्रमण हो । निमोनियाको संक्रमण फोक्सोको तन्तुहरूमा भाइरस, ब्याक्टेरिया, फङ्गस (ढुसीको), माईकोप्लास्म वा परजीविहरुको संक्रमण तथा अनियमित किटाणुले हुने गर्छ । किटाणुहरूको अलावा छातीको चोटपटक, फोक्सोको घाउ तिव्र रसायनहरुको धुवा, आत्मघाती प्रतिरक्षा प्रणाली र औषधिहरुको एलर्जीका कारणले पनि निमोनिया हुन सक्छ ।

बालबालिकामा हुने निमोनिया धेरैजसाे भाइरसको कारणले हुने गर्छ । केही भाइरल निमोनिया विस्तारै ब्याक्टेरियल निमोनियामा परिणत हुने जोखिम पनि उत्तिकै रहन्छ । निमोनियाको संक्रमण जाडो मौसममा बढी हुने गर्दछ । अधिकांश स्थितिमा निमोनिया हुँदा फोक्सोको क्रियात्मक इकाई आल्वियोलाई (फोक्सोको तन्तु र रक्तकोषीका बीच प्राण वायुको आदान प्रदान हुने थैली) संक्रमित हुने गर्दछ ।

स्वस्थ्य अवस्थामा हावा भरिएका यी आल्वियोहरूमा संक्रमण पश्चात पानी र कफ जमेर सुन्निन थाल्छ । तत्काल चिकित्सकिय व्यवस्था हुन नसके निमोनिया फोक्सोको अधिकांश हिस्सामा फैलियर फोक्सोले काम गर्न नसक्ने अवस्थामा आउँछ र व्यक्तिको मृत्यु हुन्छ ।

यसका लक्षणहरु

लगातार लामो समयसम्म खोकी लाग्ने, खोक्दा हरियो वा खैरो रंगको खकार आउने र कहिले काहि खकारमा रगत पनि देखिने, रुघाखोकी लाग्ने, तिब्र ज्वरो आउने, चिसोको महसुस हुने, छाती दुख्ने, खकार आउने, जिउ दुख्ने, थकानको महसुस हुने, श्वासप्रश्वासमा समस्या देखिनु निमोनियाका लक्षणहरु हुन् । फोक्सोको संक्रमण भएकाले श्वास प्रश्वासमा समस्या, गहिरो श्वास लिन खोज्दा छातीमा सोला हान्ने श्वासको दर र हृदयगति बढ्ने आदि लक्षण पनि देखा पर्दछ ।

उपरोक्त लक्षणका साथै जोर्नीहरू दुख्ने, ओठ कलेटी पर्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने वा उल्टी हुने रक्तचाप घट्ने, टाउको दुख्ने, मन परिवर्तन भइरहने, मानसिक क्षमता घट्ने र होस हराउने जस्ता लक्षण पनि देखा पर्दछ । लामो समयदेखि मिर्गौला, फोक्सो तथा कलेजोमा समस्या भएर औषधी सेवन गरिरहेका व्यक्तिहरुलाई निमोनिया हुने बढी सम्भावना हुन्छ । निमोनिया भएका बालबालिकाले सहजै खान र पिउन सक्दैनन्, उनीहरुलाई आमाको दुध खान पनि समस्या हुन्छ । त्यस्तै बच्चाहरुले छिटोछिटो श्वास फेर्ने, छातीबाट घ्यार–घ्यार खालको आवाज आउने, स्वास फेर्दा कोखा हान्ने, दूध चुस्न नसक्ने, सुस्ताउने र निलो हुने मुख्य लक्षणहरु हुन् ।

यदि यस्ता लक्षण देखिएमा निमोनिया पत्ता लगाउन केही जाँचहरु गर्ने गरिन्छ । जस्तैः छातीको एक्स–रे, रगत जाँच, खकार जाँच, अक्सिमेट्री र फोक्सोमा पानी जमेको खण्डमा उक्त पानीको जाँच पनि गरिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै