पर्वत। कुश्मा नगरपालिका–१ पाङ र वडा २ खुर्कोटको सिमामा रहेको पार्वती गुफामा जगज्जननी माता पार्वतीको मूर्तिमा प्राण प्रतिष्ठा गरिने भएको छ । पार्वतीको जन्म भएको र विवाह भएको दिन अक्षयतृतीयाको अवसर पारेर पार्वती गुफामा निर्माण गरिएको मूर्तिमा विधिवत् प्राण प्रतिष्ठा गर्न लागिएको संयोजक प्रेमप्रसाद शर्मा रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख १६, १७ र १८ गते गरी तीन दिनसम्म धुमधामका साथ प्राणप्रतिष्ठाको कार्यक्रम रहेका छ । साथमा अखण्ड कृतन, जग्गादाता तथा गुफाका आजिवन सदस्यलाई सम्मान लगायतका कार्यक्रमहरु समेत राखिएको छ ।
विज्ञापन
जगज्जननी माता पार्वतीको जन्मस्थल पाङ् खुर्कोटको सिमानामा अवस्थित दिव्य गुफा पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै पार्वती गुफा संरक्षण तथा पर्यटन क्षेत्र विकास समितिले विहिवार गुफा परिसरमै पत्रकार सम्मेलनको आयोजना गरि गुफाको ऐतिहासिक महत्व र यसको पछिल्लो विकासक्रमको विषयमा जानकारी दिएको छ । धर्मग्रन्थमा उल्लेख भएअनुसार हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव पति पाउँ भनी कठोर तपस्या गरेको उक्त स्थान लामो समयसम्म संरक्षण र प्रचार अभावका कारण ओझेलमा परेको पार्वती दिव्य धामका अध्यक्ष कृष्णप्रसाद रिजालले जानकारी दिनुभयो ।
अग्रभागमा हात्तीको सुँडको आकृति साथै पार्वती माताको ठुलो पत्थरमा स्वआकृतिको मूर्ति रहेको छ । गुफाबाट निस्केको पानी करिब २ किलोमिटर तल कालीगण्डकी नजिकैको पहराबाट एक हजार धाराको छहरा निस्किएको छ । ‘अलौकिक स्थान रहेको भए पनि यसको प्रचार हुन सकेको छैन’ स्थानीय कमलप्रसाद पौडेलले भन्नुभयो, ‘सीता माताको जन्मस्थान जनकपुरजस्तै पार्वती माताको जन्मस्थान पाङ, खुर्कोटको विकास हुनुपर्ने हो, तर सरकारी तवरबाट पर्याप्त सहयोग नहुँदा ओझेलमा परेको छ ।
पाङ पार्वती माताको जन्मभूमि हो भनेर योगी नरहरि नाथले आफ्नो पुस्तक ‘देश दर्शन’ मा समेत उल्लेख गर्नुभएको भए पनि पर्याप्त पूर्वाधार र प्रचार अभावमा उक्त स्थान विकास हुन नसकेको स्थानीयको भनाइ छ । यस ठाउँलाई सरकारले समेत धार्मिक गन्तव्यको रूपमा विकास गरी पर्याप्त काम गर्नुपर्ने स्थानीयको माग छ ।
सरकारी तवरबाट केही काम हुन नसकेपछि पछिल्लो समय स्थानीयको पहलमा पार्वती गुफा धार्मिक तथा पर्यटकीय क्षेत्र विकास संस्था बनाएर काम थालेसँगै पूर्वाधार विकास भइरहेको छ । ‘पार्वती गुफा’ भित्र पार्वतीले पूजा गरेका, तपस्या गरेका ठाउँहरू आकृतिका रूपमा देखिएको र ती स्थानको संरक्षणका लागि काम भइरहेको संस्थाका अध्यक्ष छविलाल पौडेलले बताउनुभयो ।
करिब १ किलोमिटर लामो गुफा तथा गुफा बाहिरका ठाउँका पैदल मार्ग, धर्मावलम्बी बस्ने स्थान, मन्दिर र पुललगायतका पूर्वाधार निर्माण भइरहेका छन् । हालसम्म करिब १ करोडको लागतमा काम भएको र केही निर्माणकै चरणमा रहेको उहाँको भनाइ छ ।
संस्थाका उपाध्यक्ष जनक पौडेलका अनुसार अहिले प्रदेश तथा स्थानीय सरकारहरूको बजेटबाट पूर्वाधार निर्माण तथा संरक्षणका लागि काम भइरहेको छ । प्रदेश सरकारले दिएको ९० लाख साथै स्थानीयको सहयोगमा काम जारी छ ।
धार्मिक तथा पर्यटकीय हिसाबले सम्भावना बोकेको उक्त स्थानमा बजेट अभावका कारण पूर्वाधार विकास हुन नसक्दा समस्या भएको समितिका पदाधिकारीको भनाइ छ । ‘हामीले लामो समयदेखि संरक्षण गरे पनि पर्याप्त बजेट नहुँदा यसको विकास गर्न सकिएको थिएन’ समितिका उपाध्यक्ष पौडेलले भन्नुभयो । पत्रकार सम्मेलनको सञ्चालन सचिव ऋषिराम सुवेदीले गर्नुभएको थियो । सम्मेलनसँगै पत्रकारलाई गुफा अवलोकन समेत गराइएको थियो ।
फेसबुक प्रतिक्रियाहरु