• होमपेज
  • समाजवादी मोर्चामा एमालेलाई समेट्ने प्रयास
Breaking News

समाजवादी मोर्चामा एमालेलाई समेट्ने प्रयास

काठमाडौँ । सत्ताभित्र र बाहिर भएका कम्युनिस्ट घटकबिच निर्माण भएको समाजवादी मोर्चामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई समेट्ने प्रयास गरिएको छ । गत असार ४ गते निर्माण भएको मोर्चामा एमालेलाई समेत समेटेर बलियो शक्ति निर्माण गर्ने योजना बनेको हो । यस मोर्चामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जनता समाजवादी पार्टी (जसपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् ।

मोर्चाका संयोजक विप्लव भएपछि एमालेका नेताहरूलाई भेटेर मोर्चामा सहभागी गराउन प्रयासरत रहनुभएको छ । गत शुक्रबार महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर कम्युनिस्ट शक्ति निर्माण गर्न मोर्चामा आबद्ध हुन आग्रह गर्नुभएको थियो ।

विज्ञापन

माओवादी केन्द्रका महासचिव देव गुरुङले एमालेलाई समेत समेटेर समाजवादी मोर्चा बनाउने योजना बनाएको बताउनुभयो । “समाजवादी मोर्चा बनाउने सवालमा सबै कम्युनिस्ट घटकहरू छलफलमा छन् । कम्युनिस्ट पार्टीसँग मोर्चामा सहभागी हुने नयाँ विषय भएन,” उहाँले भन्नुभयो, “तर उहाँहरू (एमाले) ले मोर्चामा सहभागी हुन निर्णय गरी सक्नुभएको छैन । सत्ता साझेदारका रूपमा मोर्चाका कार्यक्रममा सहभागी हुने कुरा छ ।” उहाँले सत्ताभित्र र सत्ताबाहिर भएका कम्युनिस्ट घटकलाई जोड्न मोर्चा बनाएकाले अरू कम्युनिस्ट शक्तिलाई जोडिने दाबी गर्नुभयो । “पहिला कांग्रेससँग सत्ता गठबन्धन हुँदा मोर्चा गठन भएको हो । अहिले नयाँ समीकरण निर्माणको अवस्थामा सबै पक्षसँग परामर्श गर्नुपर्ने हुन्छ । त्यसपछि सरकारमा सहभागी हुने सबै घटकमा मोर्चा आबद्ध हुने अवस्था बन्न सक्छ,” उहाँले भन्नुभयो ।

यस्तै विप्लव नेतृत्वको नेकपाका प्रवक्ता विश्वकर्माले एमाले समेतलाई जोडेर बृहत् समाजवादी मोर्चा बनाउने योजना बनाएको जानकारी दिनुभयो । “हाम्रो उद्देश्य एमालेलाई समाजवादी मोर्चामा सहभागी गराउनु पर्छ भन्ने हो । त्यसैले उहाँलाई समेट्ने भेटघाट भइराखेका छन्,” उहाँले भन्नुभयो, “अहिलेसम्मको छलफलमा एमालेका साथीहरू सकारात्मक हुनुहुन्छ ।” उहाँले अहिलेकै अवस्थामा एमाले तत्काल मोर्चामा सहभागी हुने अवस्था नदेखिएको बताउनुभयो ।  “मोर्चा भनेको के हो भन्ने सवालमा उहाँका केही प्रश्न थिए । त्यसमा स्पष्ट भएपछि वातावरण बन्दै गएको छ,” उहाँले भन्नुभयो, “हामी मोर्चाप्रति सकारात्मकै छौँ भन्नुभएको छ । सहभागिता हुने सवालमा तत्काल हुन सकिँदैन भन्नुभएको छ ।”

नेपाल कम्युनिस्ट पार्टी (एमाले) उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले समाजवादी मोर्चामा सहभागी नहुने बताउनुभयो । “समाजवादी मोर्चामा एमाले सहभागी हुँदैन । यदि कुनै मोर्चा निर्माण गर्नुपर्‍यो भने एमालेले आफैँ स्वामित्व लिएर निर्माण गर्छ,” उहाँले भन्नुभयो, “साथीहरूले जुन उद्देश्यका साथ मोर्चा बनाउनुभएको छ, त्यसमा सकारात्मक छौँ ।”

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook