• होमपेज
  • कुश्माको शिवालय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई योग प्रशिक्षण
कुश्मा नगरपालिका

कुश्माको शिवालय माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई योग प्रशिक्षण

पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालयका विद्यार्थीहरूले सोमबार अपराह्न विद्यालयमा नै योगको अभ्यास गरे। पाठ्यक्रममा पनि योगको बारेमा थोरै सिक्ने मौका पाएका उनीहरूले योग गुरुबाट नै योगका विभिन्न चरणहरूको प्रत्यक्ष अभ्यास गर्न पाउँदा उनीहरूमा शैक्षिक सिकाई र योग अभ्यास दुबैमा फाइदा पुग्यो।

मोरङ घर भई हाल काठमाडौँमा बस्दै आएका पतञ्जलि अन्तर्गतको युवा नेपाल समितिका संयोजक तथा पतञ्जलि योग समितिका केन्द्रीय सदस्य लोकनाथ खनालले उनीहरूलाई योगमार्फत विभिन्न शारीरिक अभ्यास गराइरहेका थिए। उनले विद्यार्थीहरूलाई योगको अभ्यास मात्रै नभएर नेपालका मौलिक खानाको फाइदा र आयातित खाद्य बस्तुका बेफाइदाहरूबारे पनि जानकारी दिँदै थिए।

विज्ञापन

योग अभ्यासमा सहभागी भएका शिक्षक र विद्यार्थीहरूले पनि योग गुरु खनालले बोलिरहँदा ध्यानपूर्वक सुन्दै थिए। योग गुरुले प्लास्टिकमा राखिएका तयारी खानाका असर, आधुनिकताका नाममा हामीमा आएको सांस्कृतिक ह्रास लगायतका बारेमा उनीहरूले चासो राखे।

योग, खानपान, परम्परा, संस्कार र संस्कृतिको बारेमा यस्तै कार्यक्रम शिवालय मा.वि. मा मात्रै नभएर सदरमुकाम कुश्माका विभिन्न संस्थादेखि समुदाय स्तरसम्म सञ्चालन भइरहेका छन्। बिरामी हुनु पूर्व नै सावधानी अपनाउनुपर्छ भन्ने बेलामा आफ्नो स्वास्थ्यमा ध्यान नदिएर बिरामी परेपछि मात्रै स्वास्थ्यमा ध्यान दिने नेपालीको बानी र आधुनिक आहार बिहारका कारण बढेका चुनौतीलाई कम गर्नका लागि आफूहरू योग अभियानमा रहेको योग गुरु खनालले बताए।

‘अहिलेको पुस्तालाई ४÷५ कक्षाबाट सम्झाउँदै लग्न सकियो भने उनीहरूमा छिटो परिवर्तन आउँछ। जबकि ठुलो भइसकेपछि बानीमा परिवर्तन ल्याउन कठिन हुन्छ’, उनले भने, ‘हामीले योग मात्रै नभएर खानपान, जीवनशैली, रहनसहन, संस्कार, संस्कृति, परम्परा लगायतको बारेमा सिकाउने गरेका छौँ। युवा नेपाल समितिले बच्चा तथा युवाहरूलाई संस्कार दिन खोजिरहेको छ। हाम्रा संस्कारहरू आफ्नै मौलिक खालका छन्। तिनीहरूलाई यथावत् राख्नुपर्छ।’

संस्कार र संस्कृतिमा पुनर्जागरण गर्दै सुसंस्कार निर्माणको अभियानमा जुट्नका लागि आफूहरू देशका विभिन्न जिल्लामा पुग्ने गरेको भन्दै उनले अहिलेको गलत खानपान र गलत रहनसहनले अस्वस्थ बनाएको उल्लेख गरे।   बालबालिकाहरूलाई आजैबाट सजग गराउन सकेमा उनीहरूमा सुसंस्कारको विकास हुने भएकोले यसमा सबैको चासो हुनुपर्नेमा उनी छन्।

पछिल्लो समय योगमा आकर्षण त बढेको भए पनि भोजनप्रतिको व्यवहार बिग्रेकाले हरेक व्यक्तिले योगको अभ्यास गर्नुपर्ने जिल्लामा योग अभ्यासको अभियानमा लागिरहेका भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेल बताउँछन्। बिरामी भए पनि मात्रै गलत व्यवहार र खानपानबाट टाढिने शैलीले थप स्वास्थ्य जोखिम आउने भएकाले त्यस्तो अवस्था आउन नदिनको लागि विद्यालयमा पुगेर योग अभ्यास सिकाइएको उनको भनाइ छ।

‘साना नानी बाबुका बा आमा नै गडबड भइरहेका छन्। त्यसको असर त बच्चाहरूमा परिहाल्छ। बच्चा जन्मिने बित्तिकै चिज बल र कुरकुरे चटाइदिन्छौँ। जन्मिने बित्तिकै तयारी भोजन खुवाउन थालेका छौँ। यसमा साना नानीबाबुहरूको के दोष?’, पौडेलले भने, ‘स्थानीय निकायमा योग, आयुर्वेद र वैकल्पिक चिकित्साका लागि भनेर बजेट व्यवस्थापन गरिएका हुन्छन्। त्यसैलाई उपयोग गर्दै योग, स्वास्थ्य शिविर लगायतमा लगानी गर्न सकिन्छ।’

शिवालय मन्दिर संरक्षण समिति कुश्माको आयोजनामा कुश्मा नगरपालिका तथा कुश्मा नगरपालिका वडा नं. ४, ५, ६ र ७ तथा इनरह्वील क्लब अफ पर्वतको सहयोगमा गत पुस २० गतेदेखि योग अभियान चलिरहेको छ। ‘गरौँ योग, रहौँ निरोग’ भन्ने अभियानका लागि महिला पतञ्जलि योग समिति पर्वत र शिवालय विवेकशील नारी समूहले    समन्वय गरिरहेका छन्।

बडागाउँमा रहेको सशस्त्र प्रहरी बल नं २५ गण हेडक्वार्टर सहित सदरमुकाम कुश्मा बजारका विभिन्न सङ्घ संस्था, क्लब, समूह लगायतमा पनि योग अभ्यासहरू गराइएको छ। काठमाडौँ सहित अन्य ठाउँबाट आएका योग गुरुहरूले पुसदेखि फागुनसम्म सिकाउँदा स्थानीयलाई नै प्रशिक्षक रूपमा तयार गरेर नियमित योग अभ्यास सञ्चालन गर्ने तयारी छ। यो समाचारलाई हामीले थाहा खबरबाट साभार गरेका हौं

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook