• होमपेज
  • कांग्रेस महामन्त्री थापाले भने – एमाले र कांग्रेस एकै ठाउँमा उभिने वातावरण बनाऔँ
Breaking News

कांग्रेस महामन्त्री थापाले भने – एमाले र कांग्रेस एकै ठाउँमा उभिने वातावरण बनाऔँ

पर्वत/नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले दलीय गठबन्धनले मतदाताको राजनीतिक विश्वासलाई कुठाराघात गरेको वताउँदै आगामी निर्वाचनमा एकदलले अर्को दलसँग गठबन्धन गर्नै नपाउने गरि निर्वाचन कानून ल्याउनुपर्ने कुरामा जोड दिनुभएको छ ।

नेपाली काँग्रेस प्रदेशसभा ‘क’ पर्वतको प्रथम क्षेत्रीय सम्मेलनलाई कुश्मामा सम्बोधन गर्दै महामन्त्री थापाले उक्त कुरा वताउनु भएको हो । ‘निर्वाचन सम्बन्धि कानून आउँदैछ अवका निर्वाचनहरुमा राष्ट्रिय दलले गठबन्धन गर्न नपाउने गरी कानून ल्याउनुपर्छ, कानून बनाउँदा एमाले र कांग्रेस एकै ठाउँमा उभिने वातावरण बनाऔँ, निर्वाचनमा कोही कसैसँग डराउनु पर्दैन ।’- थापाले भन्नुभयो ।

विज्ञापन

उहाँले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले जनतालाई आशा जगाउने काम गर्न नसकेको भन्दै आँफू यो सरकारको मूल्यांकनकर्ता भए १ सय पूर्णाङ्कमा १० अंक मात्र दिने वताउनु भयो । महामन्त्री थापाले विदेश पलाएन र जनताहरुको निराशालाई सरकारले नै सम्बोधन गर्नुपर्ने तर्क समेत ब्यक्त गर्नुभयो ।

महामन्त्री थापाले प्रत्येक हप्ता केही न केही नयाँ आर्थिक काण्डहरु सार्वजनिक भईरहँदा जनतामा थप निराशा बढेको बताउँदै । नागरिक उपचार गर्न नपाएर मर्न बाध्य भइरहेको बेलामा अर्बौ रुपैंया भ्रष्टचार हुने गरेका काण्डहरुलाई निरूत्साहित गर्ने कार्यक्रम अघि सार्नुपर्ने कुरामा जोड दिनुभयो ।

अर्को एक प्रशंगमा महामन्त्री थापाले २०४८ साल देखिका उच्च पदस्थ ब्यक्तिहरुको सम्पत्ति छानवीन गरी गैरश्रोतबाट आम्दानी भएको रकमले स्वास्थ्य बिमा मार्फत जनतालाई निशुल्क स्वास्थ्य उपचार गर्नुपर्ने विचार ब्यक्त गर्नुभयो । उहाँले वर्तमान स्वास्थ्य बिमाको नीति आफूले चाहे बमोजिमको नभएको भन्दै आर्थिक अवस्थाका आधारमा प्रिमियम रकम उठाउने र नागरिकले स्वास्थ्य उपचारको सवै रकम शुल्क नतिरी प्राप्त गर्नुपर्ने कुरा उल्लेख गर्नुभयो ।

सोही सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले जनताको बीचमा कहिल्यै नजाने तर घरमै सिरकमुनि बसेर नेतृत्वले केही गरेन भनेर सामाजिक सञ्जालमा गाली गर्ने परिपाटीले जनतामा भ्रम र निराशा बढाएको वताउनु भएको छ ।

नेता जोशीले शुभचिन्तक र कार्यकर्ताहरूमा काँग्रेसकाप्रति पूर्ण विश्वास भएपनि सामाजिक सञ्जालदेखि चोक र होटलमा बसेर पार्टी र नेतृत्वको निन्दा गर्नेहरूका कारण संगठन पनि धराशायी भएको दावी गर्नुभयो । उहाँले काँग्रेसलाई असफल देखाएर देशकै व्यवस्थाप्रति आक्रमण गर्ने सुनियोजित षडयन्त्रबाट बच्न सबै काँग्रेस कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेता जोशीले पार्टीले अघि सारेका नीति र कार्यक्रम सबै ठिक छन् भन्ने पक्षमा आफूपनि नरहेको उल्लेख गर्दै पार्टी नेतृत्वले जनतालाई आशा जगाउने कार्यक्रम बनाएर सरकारलाई दवाव दिनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री रामचन्द जोशी, नेपाली काँग्रेस पर्वतका पार्टी सभापति युवराज जोशी, पूर्व जिल्ला सभापतिहरु खिमप्रसाद भुसाल र नवराज गुरुङ लगायतले बोल्नुभएको थियो ।

नेपाली काँग्रेस प्रदेश सभा ‘क’का क्षेत्रीय सभापति राजकुमार क्षेत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन प्रदेश कोषाध्यक्ष चित्रकला शर्मा र प्रदेश सदस्य सुरेन्द्र केसीले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य प्रदेश सचिव केशवप्रसाद उपाध्याय र धन्यवाद मन्तव्य अर्का सचिव बलबहादुर पुनले गर्नुभएको थियो । सम्मेलनमा सभापति राजकुमार क्षेत्रीले राजनीतिक प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook