• होमपेज
  • सम्झौता समय सकियो, प्रगति ४२ प्रतिशत मात्रै
Breaking News

सम्झौता समय सकियो, प्रगति ४२ प्रतिशत मात्रै

सांसद गिरीले गरे सडकको अनुगमन

पर्वत। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुंगा–बेनी सडक स्तरोन्नतिको काम ठप्प भएपछि पर्वतबाट प्रतिनिधि सभाका सदस्य तथा नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सडकको अनुगमन गर्नुभएको छ ।

सम्झौता अवधि सकिँदा पनि ४२ प्रतिशत मात्रै कामको प्रगति भएको र सडकको स्तरोन्नति नहुँदा यात्रुहरुले सास्ती बेहोर्नुपरेको गुनासो आएपछि गिरी नेतृत्वमा पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेल, सडक आयोजना प्रमुख जगत प्रजापती, निर्माण व्यवसायी तथा पत्रकारको टोलीले अनुगमन गरेको हो ।

विज्ञापन

सम्झौताअनुसारको काम समयमा हुन नसक्दा सडक हुँदै आवत–जावत गर्ने दैनिक सयौँ सवारीसाधन र हजारौँ यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । यात्रुहरुको सुरक्षा र राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्नुपर्ने दायित्व निर्माण व्यवसायीको भएकाले ध्यानाकर्षण गराउन अनुगमन गरिएको सांसद गिरीको भनाइ छ ।

‘समयमा काम सक्नुपर्नेमा सम्झौता सकिँदा पनि काम नसक्नु निर्माण व्यावसायीको लाचारीपन हो’ गिरीले भन्नुभयो, ‘योजना सम्पन्न गर्नुपर्ने कठिनाइमा सहजीकरण गर्न तयार छौं, तर काम समयमा हुनुपर्छ ।’

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर आयोजनाअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत १३ किमी दूरीको मालढुंगा–बेनी सडक स्तरोन्नतिका लागि विसं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाख रूपियाँमा ठेक्का सम्झौता गरेको थियो । दुई वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भए पनि अहिलेसम्म ४२ प्रतिशत मात्र काम सम्पन्न भएको बताइएको छ ।

सांसद गिरीले तत्काल समस्या समाधान गरी काम सूचारु गर्न निर्देशन दिनुभयो । ‘काम तत्काल हुनुपर्छ निर्माण व्यावसायीका समस्यालाई सम्बन्धित कार्यालयले सम्बोधन गरेर सडक सूचारु हुनुपर्छ’ उहाँले भन्नुभयो, ‘यो विषय संसद र संसदीय समितिमा समेत उठाएर ताकेता गर्छु ।’

जोमसोमस्थित कालीगण्डकी करिडोर आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार हालसम्म मालढुंगा–बेनी सडकको ४२ प्रतिशत काम सम्पन्न भएको छ । उहाँका अनुसार २०८० पुससम्म म्याद थप भएको थियो । सडक निर्माणका क्रममा विभिन्न बाधा अवरोध सिर्जना भएकाले ढिला भएको उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले मालढुंगा–बेनी सडकखण्डमा भएको समस्या सम्बोधनका लागि निर्माण व्यवसायी सम्बन्धित कार्यालयसँग धेरै पटक छलफल गरिएको भए पनि समाधन नभएको बताउनुभयो ।

निर्माण व्यावसायीले भने कालीगण्डकी नदीबाट निर्माण सामग्री झिक्न नपाउँदा काम गर्न नसकिएकाले कार्यालयले वैकल्पिक व्यवस्था गरिदिनुपर्ने एपेक्स–खड्का–कृष्ण जेभीको सहायक कम्पनी ओमकारेश्वरका प्रतिनिधि अमृत दाहालले बताउनुभयो । gorkhapatraonline.com

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook