• होमपेज
  • एमाले घोषणापत्र: पाँच वर्ष पहिले जे थिए, अहिले पनि उस्तै प्रतिबद्धता
Breaking News

एमाले घोषणापत्र: पाँच वर्ष पहिले जे थिए, अहिले पनि उस्तै प्रतिबद्धता

नेकपा (एमाले) ले मंसीर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित घोषणापत्र मंगलबार सार्वजनिक गरेको छ।

आगामी चुनावका लागि सार्वजनिक गरिएको घोषणापत्रमा पाँच वर्षभित्र कार्यसम्पादन प्रस्ताव गरिएका कयौं बुँदा एमालेको २०७४ को आम निर्वाचनकै घोषणापत्रमा उल्लेख छन्। २०७४ मा ३९ प्रतिशत स्थानीय तह जितेर नेतृत्व गरेको एमालेले झण्डै ४१ महीना संघीय र अधिकांश प्रदेश सरकारको नेतृत्व समेत गर्यो। तर, पाँच वर्षअघि नै गरिएका घोषणा फेरि एमालेले नयाँ कलेवरमा प्रस्तुत गरेको छ।

विज्ञापन

एमालेले नयाँ घोषणापत्रमा प्रमुख खाद्य बालीहरू धान, मकै, गहुँ, फापर, तरकारी र फलफूल तथा दूध, अण्डा, माछामासु र पश-पन्छीका उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने उल्लेख छ। पाँच वर्षअघि पनि एमालेको यस्तै घोषणा थियो। २०७४ को निर्वाचनको घोषणापत्रमा दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्न, माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाइने उल्लेख थियो। जबकि, साढे तीन वर्षभन्दा बढी अवधि एमालेले सरकारको नेतृत्व गरेका वेला यी वस्तुको आयात झन् बढेर परनिर्भरता चुलिएको थियो।

एमालेले नयाँ घोषणापत्रमा आगामी पाँच वर्षभित्र नेपाललाई खाद्य तथा पोषण सुरक्षाको तहमा उकाल्ने लक्ष्य सार्वजनिक गरेको छ। पाँच वर्ष पहिलेको घोषणापत्रमा पनि सबैका लागि खाद्य पोषण सुरक्षा प्रत्याभूत गरिने उल्लेख थियो।

नयाँ घोषणापत्रमा पाँच वर्षभित्र रासायनिक मल कारखाना स्थापना गरिने उल्लेख छ। अघिल्लो घोषणापत्रमा पनि कृषि उत्पादनमा आवश्यक रासायनिक र प्रांगारिक मल देशभित्रै उत्पादन गरिने उल्लेख थियो। एमालेले सत्ताको नेतृत्व गरेको अवधिमा मल कारखाना स्थापनाका लागि उल्लेख पहल हुन सकेको थिएन। एमालेले मल कारखानाका लागि न बजेट छुट्यायो, न अध्ययन नै गर्‍यो।

बरु, किसानले बाली लगाउने वेला रसायनिक मल नपाएपछि सरकारको आलोचना भएको थियो। नयाँ घोषणापत्रमा सबै कृषियोग्य भूमिमा सिँचाइ पुर्‍याइने उल्लेख छ। पाँच वर्षअघि पनि यस्तै प्रतिबद्धता गरिएको थियो।

नेकपाले २०७४ को घोषणापत्रमा पाँच वर्षमै सम्पूर्ण सिंचाइयोग्य खेतीयोग्य जमीनमा आधुनिक सिंचाइ प्रणाली लागू गरिने उल्लेख थियो। नेपालमा २२ लाख ४१ हजार हेक्टर कृषियोग्य जमीनमध्ये करीब दुई तिहाइमा सिंचाइका पूर्वाधार बनेका छन्। बाह्रै महीना सिंचाइ हुने क्षेत्रफल करीब एक तिहाइ मात्रै छ।

एमालेले नयाँ घोषणापत्रमा पाँच वर्षमा पर्यटकको संख्या वर्षेनी २५ लाख पुर्‍याइने बाचा गरेको छ। पाँच वर्ष पहिलेको घोषणापत्रमा दश वर्षभित्र वार्षिक ५० लाख पर्यटक पुर्‍याउने लक्ष्य राखिएको थियो।

एमालेले पाँच वर्ष पहिले नै विद्युत्बाट वञ्चित घरपरिवारलाई दुई वर्षभित्र विद्युत् उपलब्ध गराउने घोषणा गरेको थियो। तर, आज सार्वजनिक गरिएको नयाँ घोषणापत्रमा पनि दुई वर्षभित्र सबै नेपालीका घरमा विद्युत् पहुँच पुर्‍याउने उल्लेख गरेको छ। यसअघि १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गरिने घोषणा गरेको एमालेले यो पटक पनि १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादने गर्ने घोषणा दोहर्‍याएको छ।

पाँच वर्ष पहिले नै सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बिमामा आबद्ध गरिने घोषणा गरेको एमालेले यो पटक पनि पाँच वर्षभित्र सबै नागरिकलाई स्वास्थ्य बीमाको सुविधा दिने घोषणा गरेको छ।

एमालेले २०७४ मै पाँच वर्षभित्र पूर्व-पश्चिम राजमार्गको समानान्तर तीव्र गतिका विद्युतीय रेल सञ्चालन गरिने घोषणा गरेको थियो। यो रेलमार्गको काममा उल्लेख्य प्रगति भएको छैन। तर, यो पटकको घोषणापत्रले पूर्वपश्चिम रेलमार्गको बर्दिबास-निजगढ खण्डको निर्माण सक्ने घोषणा गरेको छ। पाँच वर्ष पहिले नै २०७९ सम्म रसुवागढी-काठमाडौं-पोखरा, लुम्बिनी विद्युतीय रेलमार्ग निर्माण गरिने घोषणा गरेको एमालेले नयाँ घोषणापत्रमा भने आगामी पाँच वर्षभित्र यो रेलमार्ग निर्माण शुरु गर्ने बाचा गरेको छ।

त्यसैगरी, पाँच वर्षअघि नै घोषणा गरिएको वीरगञ्ज-काठमाडौं रेलमार्गलाई यो पटक पनि दोहर्‍याइएको छ। एमालेले पाँच वर्ष पहिले नै पाँच वर्षभित्र निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने घोषणा गरेको थियो। नयाँ घोषणापत्रमा पनि यही कुरा उल्लेख छ। नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गरिने पाँच वर्ष पहिलेको घोषणा यस पटक पनि दोहरिएको छ।

एमालेले पाँच वर्षअघि आम निर्वाचनमा सार्वजनिक गरेको घोषणापत्रमार्फत नेपालीको औसत प्रतिव्यक्ति आयलाई १० वर्षभित्र ५ हजार अमेरिकी डलर पुर्‍याउने दाबी गरेको थियो। २०७४ असारमा नेपालीको प्रति व्यक्ति आय एक हजार ३२ अमेरिकी डलर थियो। गत असारसम्म आइपुग्दा यो बढेर एक हजार ३७२ डलर (अनुमानित) पुगेको छ।

एमालेले सत्ता हाँकेको पहिलो तीन वर्षमा नेपालीको औसत प्रतिव्यक्ति आय १२४ डलरले मात्रै (वार्षिक ४१ डलर) बढ्यो । एमालेले आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आयलाई २ हजार ४ सय अमेरिकी डलर पुर्‍याउने नयाँ घोषणापत्रमा उल्लेख गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook