• होमपेज
  • दसैंका लागि रुट परमिट खुला
Breaking News

दसैंका लागि रुट परमिट खुला

काठमाडौँ — घट्स्थापनादेखि पूर्णिमासम्म सार्वजनिक सवारीका लागि रुट परमिट खुला गरिएको छ । यातायात व्यवस्था विभागका अनुसार रुट परमिट खुला भएसँगै सार्वजनिक सवारीले दसैं अवधिभर जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान पाउनेछन् ।

विशेष प्रकृतिका कारण कुनै बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीलाई भने रुट परमिट खुला नहुने र बन्देज कायमै रहने विभागले जनाएको छ । विभागका महानिर्देशक टोकराज पाण्डेका अनुसार यात्रुको चाप हुने काउन्टरहरूमा रुट परमिट खुला गरिएका सवारी उपलब्ध हुनेछन् । ‘दसैंमा उपत्यका बाहिर जाने यात्रुको चाप धेरै हुन्छ,’ महानिर्देशक पाण्डेले भने, ‘चाडपर्वमा यात्रुलाई सहज रूपमा घरसम्म पुर्‍याउन रुट परमिट खुला गरिएको हो ।’

विज्ञापन

पाण्डेका अनुसार केही काउन्टरमा बढी भाडा लिएको गुनासो आएकाले यात्रु कक्षमा रहेका विभागका कर्मचारी र ट्राफिक प्रहरीले समस्या समाधान गरिसकेका छन् । ‘कुनै पनि सवारीले तोेकेको भन्दा बढी भाडा लिन पाउने छैनन्,’ उनले भने, ‘बढी भाडा लिएको पाइए तुरुन्त यात्रु सहायता कक्षमा गएर जानकारी गराउन सबै यात्रुलाई आग्रह गरिएको छ ।’ उनले परिचयपत्र लगाएका कर्मचारीबाट टिकट लिन आग्रह गरेका छन् । यात्रुको चाप बढी भएकाले त्यहीअनुसार सवारी साधनको व्यवस्थापन गरिएको विभागले जनाएको छ ।

‘यातायात व्यवसायीको गुनासो सडक बिग्रिएकाले समयमै सवारी गन्तव्यमा आउन नसक्दा समस्या भएको भन्ने छ,’ उनले भने, ‘बढी समस्या नारायणगढ–बुटवल, ढल्केबर–कोशीब्यारेक सडक खण्डमा छ । त्यहा‍ँ खाल्डाखुल्डी पुर्नेबारे तयारी भएको छ ।’ गत असोज १ गतेबाट बसको टिकट बुकिङ खुला गरिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले अझै सडक मर्मत नगरिएकाले सवारी सञ्चालनमा समस्या भएको बताए । ‘सडक समस्याबारे सडक विभागका महानिर्देशकदेखि भौतिक मन्त्रीलाई समेत जानकारी गरायौं,’ उनले भने, ‘दसैं सुरू भइसकेको अवस्थामा पनि अहिलेसम्म सडक मर्मत गरिएको छैन ।’

बिग्रेका सडककै कारण यात्रुलाई समयमा गन्तव्यमा पुर्‍याउन नसकिएको स्वाँरले बताए । यातायात व्यवस्था विभागले भने यातायात आवागमन सहज बनाउन खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने बाहेक अन्य ठूला सवारी साधनहरू सञ्चालनमा रोक लगाएको जनाएको छ । विभागका अनुसार ट्रेललगायत ठूला सवारीहरू असोज १५ देखि २२ गतेसम्म नारायणगढदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाईएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook