• होमपेज
  • ओलम्पिकका लागि पाकिस्तानी प्रधानमन्त्री बेइजिङ गए, भारतले कूटनीतिक बहिष्कार गर्ने
खेलकुद

ओलम्पिकका लागि पाकिस्तानी प्रधानमन्त्री बेइजिङ गए, भारतले कूटनीतिक बहिष्कार गर्ने

शुक्रबारदेखि चीनको राजधानी बेइजिङमा शितकालीन ओलम्पिक सुरू हुँदैछ। उद्घाटन् समारोहका लागि विदेशी पाहुना बेइजिङ पुग्ने क्रम जारी छ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि बेइजिङका लागि प्रस्थान गरिसकेका छन्। चीनले पहिलो पटक आयोजना गर्न लागेको शितकालीन ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुने खान एकमात्र दक्षिण एसियाली नेता हुन्।

विज्ञापन

पाकिस्तानले प्रधानमन्त्री पठाउँदा चीनको अर्को छिमेकी भारतले भने बेइजिङमा हुने ओलम्पिक कूटनीतिक हिसाबले बहिष्कार गर्ने भएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरविन्द बाग्चीले चीनले ओलम्पिकजस्तो कुरालाई राजनीतिकरण गरेकाले भारतले कूटनीतिक बहिष्कार गर्ने बताए।

बिहीबार संवाददाताहरूसँग कुरा गर्दै बाग्चीले ग्लवानको झडपमा घाइते भएका चिनियाँ जनमुक्ति सेनाका सैनिकलाई ओलम्पिकको टर्च समाउन दिएर चीनले राजनीति गरेको बताए।

‘चिनियाँ पक्षले ओलम्पिकजस्तो कुरालाई यसरी राजनीतिकरण गर्नु खेदपूर्ण छ। बेइजिङस्थित हाम्रा दूतावासका हाम्रा कूटनीतिज्ञ उद्घाटन समारोहमा सहभागी हुने छैनन्,’ उनले भने।

सन् २०२० को मेमा ग्लवान उपत्यकामा भारतीय  र चिनियाँ सेनाबीच झडप भएको थियो। उक्त झडपमा भारतका २० र चीनका ४ सैनिकको मृत्यु भएको थियो। दुबैतर्फ केही दर्जन सैनिक घाइते भएका थिए।

सन् २००८ मा ग्रिष्मकालीन ओलम्पिक आयोजना गरेको चीनले शितकालीन ओलम्पिक आयोजना गर्दैछ। ग्रिष्मकालीन ओलम्पिक आयोजना गर्दा संसारभरि आफूले हासिल गरेको वैभव देखाउन  चीनले धेरै देशका नेताहरूलाई निम्त्याएको थियो।

त्यतिबेला विश्व मञ्चमा चीनका शत्रुभन्दा धेरै मित्र र सहानुभूति राख्नेहरू थिए। त्यतिबेला तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुससहित ६८ मुलुकका नेता बेइजिङ पुगेका थिए।

ब्लुमवर्गका अनुसार यसपालि भने चीनले २१ देशका नेताहरूलाई मात्र बेइजिङमा निम्तो दिएको छ। संयुक्त राज्य अमेरिका र उसका सहयात्री पश्चिमा मुलुकहरूले सिन्जियाङमा उइगुरमाथि दमन भएको भन्दै मानव अधिकारको कुरा उठाएर बेइजिङ विन्टर ओलम्पिक कूटनीतिक हिसाबले बहिष्कार गर्ने भएका छन्।

कोरोनाभाइरसको महामारीका कारण चीनले पनि निकै प्रतिबन्धहरूका बीच विन्टर ओलम्पिक गर्न लागेको छ। कोरोना नियन्त्रणका लागि चीनले शून्य सहनशिलताको नीति अपनाएको छ। राष्ट्रपति सी चिनफिङ दुई वर्षदेखि चीन छोडेर बाहिर गएका छैनन्।

यो अवधिमा बेइजिङमा पनि उनले बिरलैमात्रै विदेशी नेताहरूलाई भेटेका छन्।

विन्टर ओलम्पिकमा सबैको ध्यान तान्ने पाहुना रूसी राष्ट्रपति भ्लादमिर पुटिन हुने भएका छन्। युक्रेनका विषयमा पछिल्लो समय पश्चिमाहरूसँग बढेको तनावका कारण संसारभरिको ध्यान अब रूसले युक्रेनमा के गर्छ भन्नेमा छ। यस्तो बेलामा अमेरिकासँग तिक्ततापूर्ण सम्बन्ध रहेको चीनका राष्ट्रपति चिनफिङसँग उनले भेट्दैछन्।

पुटिनबाहेक सीले केही छिमेकी, युरोपियन, अफ्रिकन र ल्याटिन अमेरिकी मुलुकका नेताहरूलाई स्वागत गर्न लागेका छन्।

दक्षिण एसियाबाट पाकिस्तानका नेताहरूमात्रै सहभागी हुँदैछन्। नेपालका प्रधानमन्त्रीलाई भने बेइजिङले निम्तो नै दिएको थिएन।

विन्टर ओलम्पिकमा यसपालि नेपाल सहभागी छैन। खेलाडी नभएका देशका नेताहरूलाई उद्घाटन समारोहमा प्राय: निम्तो दिइन्न।

फेब्रुअरी २० मा सकिने विन्टर ओलम्पिकमा विश्वभरका ९१ देशले भाग लिँदैछन्। जसमा ७ खेलमा प्रतिस्पर्धा हुनेछ। ७ खेलको १०९ इभेन्टसमा विश्वभरका २८ सय बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

कुन कुन देशका नेतालाई छ निम्तो?

कम्बोडिया, इजिप्ट, कजाखस्तान, कतार, रूस, साउदी अरेबिया, ताजकिस्तान, तुर्कमिनिस्तान, उज्वेकिस्तान, युएई, पाकिस्तान, किर्गिजस्तान, अर्जेन्टिना, इक्वेइडर, लक्जेम्बर्ग, पपुवा न्युगिनी, मंगोलिया, पोल्यान्ड, मोनाको, सर्विया र सिंगापुर।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook