• होमपेज
  • आफ्नै सीमामा लुटिन्छन् दशैंलाई घर फर्केका नेपाली, प्रहरी र सवारी चालकको असुली धन्दा
Breaking News

आफ्नै सीमामा लुटिन्छन् दशैंलाई घर फर्केका नेपाली, प्रहरी र सवारी चालकको असुली धन्दा

कोरोना महामारीले लामो समयदेखि बन्द रहेका सुदूरपश्चिमका २ सीमा नाका पूर्णरूपले खुलेका छन् । असोज १६ गतेदेखि कैलालीको धनगढी बजारसँग जोडिएको कञ्चनपुरको गौरीफण्टा र पश्चिमी नाका गड्डाचौकी खुलेका हुन् ।

महामारीको जोखिम उस्तै रहे पनि सीमानाका पूर्ण रूपमा खोलिएपछि सीमानाका अस्तव्यस्त देखिएका छन् ।

विज्ञापन

सीमामा स्थापना गरिएका हेल्थ डेस्कमा भारतबाट फर्किनेको स्वास्थ्य परीक्षण हुँदै आएको छ तर पूर्ण रूपमा नाका खुला भएपछि रोजगारीबाट आउनेको पहिचान गर्न नै गाह्रो भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

हेल्थ डेस्कमा कार्यरत गणेशबहादुर साउँद भन्छन्, ‘नाका खुला भएपछि यो नाकाबाट दैनिक वनगाउँ, पलियालगायत बजारहरूमा सयौं नेपालीहरू किनमेलका लागि भारतीय बजार जान थालेका छन् । अरु आगन्तुकहरू पनि निर्वाध रूपमा गएर फर्किरहेका छन् । कामको सिलसिलमा गएकाहरूमा फर्किरहेका छन् तर हामीलाई पहिचान गर्न नै गाह्रो भयो ।’

जनशक्ति अभावका साथै नाका नै अस्तव्यस्त बनेपछि अधिकांश मानिस विना परीक्षण नेपाल भित्रिरहेका छन् ।

कम जनशक्तिबीच सीमा नाका अस्तव्यस्त बनेपछि हैरानी खेप्नुपरेको उनको भनाइ छ । हेल्थ डेस्कमा एन्टिजेन विधिबाट कोरोना परीक्षणका साथै एचआईभी, टीबीलगायत परीक्षण गरिँदै आएको छ ।

स्वास्थ्यकर्मीका आफ्नै दुःख– जोखिम भत्ता पाएनौं

हेल्थ डेस्कमा स्वास्थ्यकर्मी गणेशबहादुर साउँद १ वर्षदेखि कार्यरत छन् । कोरोना महामारीको पहिलो लहरले जतिबेला जनमानसमा त्रासदीको बिजारोपण गर्‍यो, त्यतिबेलादेखि नै उनी हेल्थ डेस्कमा खटिएका छन् ।

सरकारले स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न जोखिम भत्ता दिने घोषणा गरेको थियो तर हाल कोरोना महामारीको तेस्रो लहर आउनै लागेको भनिए पनि हालसम्म जोखिम भत्ता नपाएको उनको गुनासो छ ।

साउँदले भने, ‘५० प्रतिशत जोखिम भत्ता दिने भनेकोमा अहिलेसम्म केही पनि पाइएको छैन । कोरोना महामारीको पहिलो लहरमा ३ महिना सीमानाकामा खटिएर काम गरे । त्यो बेला पनि दिएनन् । दोस्रो लहरसम्मै यही नाकामा खटिएको छु ।’

गणेशले कोरोनाको पहिलो लहरमा खटिएको बेला जोखिम भत्ता नपाए पनि निराश नभएको बताए । उनले अगाडि भने, ‘दोस्रो लहरमा पनि नगरपालिकाले भत्ता उपलब्ध नगराउँदा धेरै दुःख लागेको छ ।’

फर्किनेलाई सास्ती नै सास्ती

यसअघि नाकामा भारतीय सवारीसाधनमा रोक लगाइएको थियो तर असोज १६ गतेदेखि त्यो समेत हटिसकेपछि दुवै नाका पूर्णरूपमा सञ्चालनमा आएका छन् । दुवै देशका नागरिक र सवारीसाधन निर्वाध रूपमा आवतजावतसँगै फर्किनेहरूले पनि निकै सास्ती खेप्नुपरेको छ ।

भारतको लुधियानाबाट गौरीफण्टा नाकासम्मको सवारी भाडा १ हजार २८० रुपैयाँ छ । धनगढीदेखि ६४० किलोमिटरको दूरीमा रहेको लुधियानाबाट बसमार्फत १३ घण्टा १५ मिनेटको यात्रापछि कैलालीसँग जोडिएको गौरीफण्टा नाका पर्दछ तर दशैं मनाउन घर फर्किएका डोटीको केआईसिंह गाउँपालिकाका गोपाल आउजीले २ हजार ३ सय रुपैयाँ तिर्नुपर्‍यो ।

नेपाली ट्राभल एजेन्सीका सञ्चालकलाई निर्धारितभन्दा झण्डै तेब्बर भाडा बुझाएका आउजी १३ घण्टामा पुगिने गौरीफण्टा नाका ३ दिनको यात्रापछि गौरीफण्टा पुगेका हुन् ।

धनगढीदेखि १९३ किलोमिटरको दूरीमा रहेको डोटीको दिपायलसम्म पुर्‍याइदिने ट्राभल एजेन्सीका सञ्चालकको शर्तमा बढी भाडा तिरेका आउजी नाकामै अलपत्र छाडिदिएपछि तनावमा थिए ।

भारतबाटै फर्किरहेका बैतडीको पाटनका जयबहादुर बिष्ट पनि गौरीफण्टा नाकामा भेटिए । दिल्लीको एक होटलमा काम गर्दै आएका उनी पनि गाडीको खोजीमा थिए । दिल्लीबाट गौरीफण्टा नाका पुग्दा ट्राभल एजेन्सी सञ्चालकले बिष्टसँग ३ हजार रुपैयाँ भाडा लिए तर बैतडी पुगाइदिने वाचा पूरा नगरेर नाकामै अलपत्र छाडिदिएको गुनासो उनको थियो ।

एजेन्सी सञ्चालक धनगढी उपमहानगरपालिका–५ तारानगरका शेरबहादुर महराले मजदुरसँग बढी भाडा लिनुपर्ने आफूहरूको पनि बाध्यता भएको जिकिर गरे । ‘हामीले बाटोमा ठाउँ–ठाउँमा प्रहरीलाई पैसा तिर्नुपर्छ । गाडी बुकिङ गरेर ल्याउनुपर्छ,’ महराले भने, ‘पञ्जाबदेखि धनगढी पुग्दासम्म हामीले प्रहरीलाई चिया खर्च दिनुपर्छ ।’

नेपाल प्रहरीलाई समेत कहिलेकाही रकम तिर्नुपर्ने उनी बताउँछन् । एजेन्सी सञ्चालक मात्र नभएर अटो रिक्सा चालक र सुरक्षाकर्मीले समेत रकम असुल्ने गरेको मजदुरको गुनासो छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामप्रसाद पाण्डेले सीमामा हुने समस्याबारे आफूहरू जानकार रहेको बताउँदै त्यस्तै अनुसार स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँग समन्वय गरिरहेको बताए । स्वास्थ्यकर्मीलाई सम्बन्धित स्थानीय तहले जोखिम भत्ता उपलब्ध गराउनुपर्ने भए पनि नपाएकाहरूको लागि माथिल्लो तहमा छलफल भइरहेको पाण्डेको भनाइ छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook