• होमपेज
  • अल्पमतमा परेका मुख्यमन्त्री आचार्य र शाक्यले राजीनामा नदिने, संसद ‘फेस’ गर्ने
Breaking News

अल्पमतमा परेका मुख्यमन्त्री आचार्य र शाक्यले राजीनामा नदिने, संसद ‘फेस’ गर्ने

काठमाडौं– अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा नदिने, बरु विश्वासको मत लिनलाई संसद फेस गर्ने मनस्थिति बनाएका छन्। नेकपा एमालेका प्रदेश सभा सदस्यमध्ये केहीले नवगठित नेकपा एकीकृत समाजवादी रोजेपछि आचार्य र शाक्य दुबै अल्पमतमा परेका हुन्।

नेकपा एमालेको आन्तरिक विवादका बेला माधवकुमार नेपाल पक्षमा रहेका प्रदेश १ का मुख्यमन्त्री आचार्य र बागमतीकी मुख्यमन्त्री शाक्य पार्टी विभाजनमा नलाग्ने भन्दै संस्थापन (अध्यक्ष केपी शर्मा ओली) पक्षमा खुलेका थिए। ओली पक्षमा खुलेपछि दुवै जना मुख्यमन्त्री भएका थिए। नेपालले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएकै दिन शाक्य मुख्यमन्त्री बनेकी थिइन् भने आचार्य त्यसको केही दिनपछि मुख्यमन्त्री नियुक्त भए।

विज्ञापन

आचार्य र शाक्यले नेता नेपालको साथ छाडेपछि एमाले अध्यक्ष ओलीले दुवै प्रदेशका आफूनिकट मुख्यमन्त्रीलाई राजीनामा दिन लगाएका थिए। ओलीले आफूनिकट प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गर्न लगाएर आचार्य र शाक्यलाई मुख्यमन्त्री बनाएका हुन्।

एकीकृत समाजवादी गठन हुनुअघि प्रदेश १ र बागमतीमा एमालेको एकल बहुमत थियो। सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशबमोजिम निर्वाचन आयोगबाट वैधानिकता पाएको एकीकृत समाजवादीको पक्षमा प्रदेश सभा सदस्यहरु खुल्न थालेपछि आचार्य र शाक्य अल्पमतमा परेका हुन्।

प्रदेश १ का ९२ जना प्रदेश सभा सदस्यमध्ये एमालेका ५१ जना थिए। अर्थात् पार्टी विभाजनअघि एमालेका पक्षमा बहुमत थियो। त्यसबेला एकीकृत समाजवादीमा जानेहरुले सनाखत नगरिसकेकाले आचार्य बहुमतप्राप्त दलको नेताका रुपमा मुख्यमन्त्री नियुक्त भएका थिए। तर, निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न दिने प्रक्रिया सुरु गरेपछि प्रदेश १ मा ११ जना एमाले सांसदले नव गठित एकीकृत समाजवादी रोजेका छन्।

११ जना प्रदेश सांसद एकीकृत समाजवादीतिर लागेपछि प्रदेश १ मा एमालेका सांसदको संख्या ४० मा खुम्चिएको छ। प्रदेश १ मा एमालेले आफ्नो सरकार जोगाउन कम्तीमा पनि अन्य दलका ६ जना सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने साना दलहरु जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक मञ्चले समर्थन गर्दा पनि एमालेको सरकारलाई बहुमत पुग्ने अवस्था छैन।

त्यसो त मुख्यमन्त्री आचार्यले एमाले विभाजन गरी गठन भएको एकीकृत समाजवादीको समर्थन पाउने आश पनि गरेका छन्। एमालेको आन्तरिक विवादमा माधव नेपाल पक्षमै रहेकाले पार्टी विभाजन भइसकेको अवस्थामा पनि नेपालको साथ पाउने उनको आश छ। मुख्यमन्त्री आचार्यले नेता नेपालसँगकै सल्लाहमा गुट परिवर्तन गरी मुख्यमन्त्री बनेकोसम्म पनि बताउन थालेका छन्। त्यहीकारण अल्पमतमा परे पनि राजीनामा नदिने, बरु संसद फेस गर्ने उनले बताइरहेका छन्।

तर, एकीकृत समाजवादीतिर खुलेका प्रदेश सभा सदस्य उपेन्द्रप्रसाद घिमिरेले अहिलेकै अवस्थामा मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने सम्भावना नरहेको बताए। ‘अहिलेको अवस्थामा अलग पार्टी भईसकेपछि भीम कमरेडलाई पहिले हामीसँगै हुनुहुन्थ्यो भनेर अर्का पार्टीका मुख्मन्त्रीलाई मत दिने सम्भावना एक प्रतिशत पनि छैन’, घिमिरेले नेपाल लाईभसँग भने, ‘दल रोक्नेक्रममा भीम कमरेडले एकीकृत समाजवादी दल रोज्नु भयो भने विश्वासको मत दिने वा नदिने भन्ने विषयमा पार्टीमा छलफल गरेर निर्णय गर्छौ।’

मुख्यमन्त्री आचार्य स्पष्ट अल्पमतमा परिसकेकाले राजीनामा उनको एउटा विकल्प हो। नभए ३० दिनभित्र उनले संसदमा अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने हुन्छ। एकीकृत समाजवादी दलले भदौ ९ गते आधिकारिकता पाएकाले मुख्यमन्त्री आचार्यले असोज ८ गतेभित्र संसदमा विश्वासको मत लिइसक्नुपर्छ। मुख्यमन्त्री आचार्यले राजीनामा नगर्ने र संसद फेस गर्ने तयारी गरेको सामाजिक विकासमन्त्री वलबहादुर साम्सोहाङले बताए। ‘प्रदेश १ मा सरकार बन्न एमालेको एकल बहुत थियो, त्यसमध्ये केही साथीहरुले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अल्मपतमा पर्नुभएको सत्य हो’, साम्सोहाङले नेपाल लाइभसँग भने, ‘संविधान र कानुन बमोजिम मुख्यमन्त्रीज्यूले संसदमा अविश्वासको प्रस्ताव फेस गर्नुहुने छ।’ एमालेसहित अन्य दलहरुले पनि समर्थन गर्ने भएकाले बहुमत प्राप्त हुने दाबी उनले गरे।

एकीकृत समाजवादीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपालाई समेटेर गठबन्धन सरकार बनाउने तयारी सुरु गरिसकेको छ। तीन दलको बहुमत सजिलै पुग्ने भएकाले गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्री बनाएर जाने तयारी छ। प्रदेश १ मा एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउने समझदारी गठबनधनमा भएको छ। प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २१ माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका ११, जसपाका ३ तथा संघीय लोकतान्त्रिक मञ्च र राप्रपाका १–१ सदस्य छन्।

यस्तै बागमती प्रदेशमा कुल १०९ प्रदेश सभा सदस्यमध्ये एमालेका ५६ जना छन्। तीमध्ये एकीकृत समाजवादीमा १२ जना खुलेर लागेका छन्। यसअघि नेपालपक्षमा २१ जना थिए। नेपालले आफ्नो नेतृत्वमा पार्टी गठन गरेपछि १२ जना सदस्यमात्र एकीकृत समाजवादीमा खुलेका प्रदेश सभा सदस्य बसन्त मानन्धरले बताए। अझै दल रोज्ने समय बाँकी रहेकाले आफ्नो पार्टीमा आउने प्रदेश सभा सदस्यको संख्या बढ्ने उनले बताए।

प्रदेश सभाका कुल १०९ सदस्यमध्ये बहुमतका लागि ५५ सदस्य आवश्यक पर्छ। एमालेका ५६ अर्थात् एक्लै बहुमत भए पनि १२ जना एकीकृत समाजवादीमा लागेपछि एमाले अल्पमतमा परेको छ। अब मुख्यमन्त्री शाक्यलाई पनि राजीनामा गर्ने दबाब बढेको छ। शाक्य अब एमालेमै रहेमा त्यहाँ विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२ र एकीकृत समाजवादीका १२ जना जोड्दा गठबन्धनमा ५७ सदस्य पुग्छन्। अर्थाँत् गठबन्धनसँग सरकार बनाउन आवश्यक बहुमत जुट्छ। गठबन्धनमा विवेकशील साझा पार्टीका ३ जना प्रदेश सभा सदस्यले समेत सहयोग गर्ने आश्वासन दिएकाले गठबन्धनको सजिलै सरकार बन्ने माओवादी केन्द्रका प्रदेश सभा सदस्य विशाल खड्काले बताए।

अहिलेकै अवस्थामा शाक्यलाई मुख्यमन्त्री पद जोगाउन मुस्किल हुने भएकाले कि संसद फेस गर्नुपर्ने, नभए राजीनामा गर्नुपर्ने खड्काले बताए।

मुख्यमन्त्री शाक्यले आफूले माधवकुमार नेपालसँग सल्लाह गरेर मुख्यमन्त्रीको जिम्मेवारी लिएको बताएकी थिइन्। तर, अब पार्टी नै अलग भइसकेपछि शाक्य स्वयंले यसबारे सोच्नुपर्ने नेपालले बताइसकेका छन्। शाक्य एमालेमै गएको निष्कर्ष निकालेर एकीकृत समाजवादीले भावी मुख्यमन्त्रीको रुपमा राजेन्द्र पाण्डेलाई अघि सारेको छ। तर, अल्पमतमा परे पनि शाक्य संसद फेस गरेर जाने तयारीमा रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री केशव पाण्डेले दाबी गरे। ‘अझै के गर्ने भन्ने विषयमा सिनारियो आईसकेको छैन। विश्वासको मत लिने समय वाँकी नै छ’ पाण्डेले भने, ‘यस्तो अवस्थामा मुख्यमन्त्रीज्यूले संसद फेस गर्नुहुन्छ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook