• होमपेज
  • क्याबेरियन सागरमा विलीन भयो अमेरिका पुग्ने सपना
द्रुत खबर बिशेष

क्याबेरियन सागरमा विलीन भयो अमेरिका पुग्ने सपना

दाङ– एक्लै बस्दा छोराको यादले सताउँछ उनलाई। धेरै मानिस भेट्न आउँदा उनीहरुले गर्ने प्रश्नले निको हुन थालेको मनको घाउ फेरि आलो बन्छ। यस्तै पीडाबाट गुज्रिरहेका छन्, घोराही उपमहानगरपालिका–१२ का वडा अध्यक्ष राजेन्द्र बुढामगर।

उनलाई अब कसैले पुरानो कुरा नकोट्याए हुन्थ्यो भन्ने लाग्छ। तर, घरमा भेट गर्न आउने आफन्त, बेलाबखत पुग्ने पत्रकारको प्रश्नले राजेन्द्रलाई अब भुल्छु भन्ने घटनालाई ताजा बनाइदिन्छ।

विज्ञापन

‘छोराको शोकमा छु। कसैले पुरानो हुन थालेको घाउ नकोट्याए हुन्थ्यो भन्ने लाग्छ। तर, सबैले त्यही सोध्न चाहन्छन्,’ गहभरि आँसु बनाउँदै उनी भन्छन्, ‘चित्त बुझाउन खोज्छु। सक्दैन। मेरो छोरा उमेरको मान्छेलाई आफ्नो छोरा देख्छु।’

दुई छोरी र एक छोरा हुन् राजेन्द्रका। छोराछोरीको जिद्दीलाई पनि सहजै लिने राजेन्द्रलाई छोरा एञ्जलले राखेको एउटा प्रस्तावले धेरैदिन दोधारमा पार्‍यो। अमेरिका जान चाहने प्रस्तावले धेरैदिन अनिर्णित जस्तै बने राजेन्द्र। गाउँ समाजको लागि राजेन्द्र एउटा निर्वाचित जनप्रतिनिधि। छोराको अगाडि बुवा। छोराछोरीको इच्छा पूरा गर्ने अभिभावकको दायित्व हुन्छ। यहीँ दायित्वले अमेरिका जाने अनुमति दियो। अमेरिका जाने सपना सुरुमा एञ्जलले आफ्ना काका जनक बुढामगरलाई सुनाएका थिए। बुवालाई भन्दा धेरै काकालाइ पच्छ्याउँथे एञ्जल।

अमेरिका पुर्‍याउने जिम्मा लिए घोराहीका टोपबहादुर जिसीले। उनी एजेन्ट थिए। स्थानीय एउटा पत्रिकामा काम गर्थे टोपबहादुर। त्यहीँ हुँदा जनकले चिनेका थिए। टोपबहादुरले छिमेकी गाउँका धेरैलाई यही बाटो अमेरिका पठाएका थिए। त्यो देखेर पनि जनक र उनको परिवार ढुक्क जस्तै बन्यो। टोपबहादुरले यो परिवारसँग अमेरिका पठाउन ३२ लाखमा डिल टुंग्याएका थिए। यो परिवारले जिसीलाई पटक–पटक गरी २७ लाख ७२ हजार रुपैयाँ बुझाएको देखिन्छ।

सुरुमा ३ लाख २२ हजार रुपैयाँ टोपबहादुर जिसीलाई बुझाए। त्यसपछि दुई पटक गरी १९ लाख ९८ हजार गोमा जिसीको खातामा हालिदिए। नगद ४ लाख ५० हजार पनि गोमालाई दिए। गोमा टोपबहादुरकी श्रीमती हुन्। अहिले गोमालाई प्रहरीले पक्राउ गरेको छ।

घटना सार्वजनिक भएपछि जनकले टोपबहादुरलाई सम्पर्क गरे। तर, टोपबहादुरले सुरुमा थाहा नभएको भनेर ढाँटे। यही कुराले जनकको मन भाँचियो।

‘क्षतिपूर्ति होइन सत्यतथ्य जान्न चाहन्छौँ,’ उनले भने, ‘टोपबहादुरले फोन गरेर दाइ मिडियामा नबोल्दिनू भनेका थिए। मैले क्षतिको कुरा नगर भाइ हामीप्रति दया गर्छाै भने सत्यतथ्य कुरा बताऊ भनेँ।’

कोलम्बियाको क्यारेबियन सागरमा एञ्जल बेपत्ता भए। ६५ किलोमिटर लामो समुन्द्र पार गर्दा डुंगा डुब्यो। रातिको समयमा डुंगा हिँडालिएको थियो। समुन्द्रको यात्रालाई एजेन्टले लापरबाही गरेकै कारण दुर्घटनामा परेको जनकको भनाइ छ।

एजेन्टकी श्रीमती पक्राउ परेपछि मुद्दा मामिला नगर्न दवाव दिने गरेको बुझिएको छ। टोपबहादुर अहिले युक्रेनमा छन्।

एञ्जलसँग जनकले अन्तिम पटक २ मिनेट १७ सेकेन्ड कुरा गरेका थिए। उनले त्यसबेला अब एक हप्ता जति फोन लाग्दैन, जंगलको बाटो भएर हिँड्नुपर्छ भनेका थिए। तर, यही संवाद अन्तिम भयो। ‘बाबा हामी हिँड्न थाल्यौँ भन्यो। ल राम्रोसँग जानू भनेँ,’ जनकले भने,‘भिडियो कलबाट विदा भएको बाबुले समुन्द्र पार गर्न सकेन।’

कोलम्बियाको क्यारेबियन सागरमा एञ्जल बेपत्ता भए। ६५ किलोमिटर लामो समुन्द्र पार गर्दा डुंगा डुब्यो। रातिको समयमा डुंगा हिँडालिएको थियो। समुन्द्रको यात्रालाई एजेन्टले लापरबाही गरेकै कारण दुर्घटनामा परेको जनकको भनाइ छ।

‘एक सय डलर बचाउने लोभमा दलालले रातिमा सानो डुंगामा चढाएको बुझियो,’ उनले भने,‘त्यो समुन्द्रमा ठूलो पानीजहाजसमेत रहेछ। तर, पैसा बचाउने लोभमा एजेन्टले मृत्युको मुखमा धकल्यो।’

छोरा बाँचेको भए जीवित भेट्न, नभए मृत शरीर भएपनि आँखा अगाडिबाट बिदाइ गर्न चाहन्छन् परिवारका सदस्य। सँगै समुन्द्रमा डुबेका बंगाली नागरिकसँगको कुराकानीको आधारमा राजेन्द्र लगायत परिवारका सबै सदस्यले जीवित फर्कने आशा मारिसकेका छन्। क्रिश्चियन धर्मअनुसार प्रार्थना गरेर किरियाको काम सकेका छन्। अमेरिकाको सपना नदेख्न सल्लाह यो परिवारले दिन्छ। छोराको जिद्दीमा पठाउने सहमति दिएका यो परिवार अमेरिका नपठाउन सल्लाह दिने गर्छन्।

एञ्जल घरबाट चैत पहिलो साता हिँडेका थिए। काठमाडौँसम्म बुवा र काकाहरु पुगेका थिए। एजेन्टले काठमाडौँबाट सुरुमा दुबई उडाए। दुबईबाट वैशाखको अन्तिम साता युक्रेन पुर्‍याए। त्यहाँबाट फ्रान्स गए। फ्रान्सबाट कोलम्बिया पुगे।

कोलम्बियाबाट क्यारेबियन सागर तरेर पानामाको जंगल यात्रामा पुग्ने बेला डुंगा पल्टिन पुग्यो। डुंगामा ८ नेपाली र १० बंगाली चढेका थिए। असार ७ गते समुन्द्रमा डुंगा पल्टियो। यस घटनामा मानव बेचविखन ब्यूरोले अनुसन्धान गरिरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook