• होमपेज
  • एमाले कार्यदलमा साझा वक्तव्यको मस्यौदामा छलफल, आजै सहमति गर्ने भन्दै दौडधूप
Breaking News

एमाले कार्यदलमा साझा वक्तव्यको मस्यौदामा छलफल, आजै सहमति गर्ने भन्दै दौडधूप

काठमाडाैं/ पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमालेले गठन गरेको कार्यदलमा सहमतिका लागि जारी गर्ने वक्तव्यको मस्यौदामा छलफल शुरू भएको छ । सहमति भएमा बिहीवार नै संयुक्त वक्तव्य जारी गर्ने एमाले स्रोतले बतायो ।

कार्यदलको बैठक बिहीवार साँझ ७ बजे पुनः बस्दैछ । दिउँसोको बसेको कार्यदल बैठक सहमतिउन्मुख भएको नेताहरूले प्रतिक्रिया जनाएका थिए ।

विज्ञापन

‘पार्टी एकताको सन्देश दिने गरी शीर्ष नेताले जारी गर्ने वक्तव्यको ड्राफ्टमा छलफल भइरहेको छ, कार्यदलस्तरमा सहमति भए आजै पनि जारी हुनसक्छ,’ विश्वस्त स्रोतले लोकान्तरसँग भन्यो ।

अहिले पार्टीमा देखापरेका समस्या समाधान गर्ने गरी साझा वक्तव्यमा छलफल चलिरहेको छलफलमा सहभागी एक नेताले जानकारी दिए । ‘सहमतिका लागि कोसिस जारी छ, साँझको बैठकले केही निकास दिने अपेक्षा गरेका छौं,’ उनले भने ।

संस्थापन पक्षले त्यस्तो वक्तव्य असार २८ गते सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन सम्बन्धी आदेश आउनुभन्दा अगावै जारी गर्नुपर्ने अडान राखेको छ ।

लामो समयको अन्तरालपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बुधवार भेटवार्ता भएपछि कार्यदलका सदस्यहरू उत्साही देखिएका थिए । कार्यदलका सदस्य एवं एमाले सचिव गोकर्ण विष्टले सहमति नजिक पुगेको बताएका थिए ।

‘अध्यक्ष ओली र नेपालबीच भएको संवादपछि आजको कार्यदल बैठकमा धेरै विषयमा सहमति नजिक पुगिएको छ । कतिपय विषयमा हिजोभन्दा थप प्रगति भएको छ,’ बैठकपछि कार्यदलका सदस्य एवं एमाले सचिव गोकर्ण विष्टले भने, ‘बाँकी कुरा पनि लगभग समाधानको विन्दुमा आएका छन् । अब हामीलाई धेरै समय लाग्ने अवस्था छैन ।’

कार्यदलको बैठकअघि बिहान संस्थापन पक्षबाट उपमहासचिव विष्णु पौडेल र माधव नेपाल पक्षबाट भीम रावलले छलफल गरेका थिए । त्यसपछि रावलले नेता नेपालसँग परामर्श गरेका थिए ।

लामो समय निष्क्रिय रहेको कार्यदल सोमवारदेखि सक्रिय बनेसँगै एमाले विवाद सहमतितर्फ उन्मुख भएको छ । सर्वोच्च अदालतको आदेशले फागुन २३ गते नेकपा एमाले ब्युतिएपछि फागुन २८ गतेबाट एमालेमा विवाद शुरू भएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि एमाले विवाद उत्कर्षमा पुगेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook