• होमपेज
  • तीनै जना उम्मेदवार हेटौंडामा, मतदान केन्द्र स्थापना लगायतका काम अन्तिम चरणमा
Breaking News

तीनै जना उम्मेदवार हेटौंडामा, मतदान केन्द्र स्थापना लगायतका काम अन्तिम चरणमा

बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य रिक्त एक पदको उपनिर्वाचन बिहीबार हुँदैछ । निर्वाचनमा एमालेका रामबहादुर थापा बादल, एमालेकै माधव नेपाल पक्षको समर्थनमा गठबन्धन उम्मेदवार खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङको उम्मेदवारी रहेको छ ।

निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मतदानका लागि आवश्यक पूर्वाधार र स्वास्थ्य सुरक्षाका मापदण्ड, मतदान केन्द्र स्थापना लगायतका काम अन्तिम चरणमा पुगेको बताए ।

मकवानपुरको हेटौंडा–४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालयको भवनमा ३ वटा मतदान केन्द्र रहने उनको भनाइ छ ।

विज्ञापन

निर्वाचन आयोगको निर्देशन अनुसार नै बागमती प्रदेशसभा सदस्य, प्रदेशका स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष र कोरोना संक्रमित मतदाताहरूको लागि छुट्टाछुट्टै मतदान गर्ने व्यवस्था गरिएको उनले बताए ।

मतदाताको स्वास्थ्य सुरक्षाका लागि मतदानस्थलमा मेडिकल डाक्टरसहितको हेल्थ डेक्स, एम्बुलेन्स सेवाको समेत व्यवस्था गरिएको निर्वाचन अधिकृत श्रेष्ठको भनाइ छ ।

आज भुटदेवी विद्यालय पुग्दा मतदान केन्द्रको व्यवस्थापन, मतपेटिका राख्ने, सामाजिक दूरी कायम गर्नका लागि रेखा कोर्नेलगायतका काम धमाधम भइरहेको थियो ।

संक्रमित मतदाता र अन्य मतदाताहरूका लागि छुट्टाछुट्टै गेटबाट मतदान स्थलमा प्रवेश गर्ने र बाहिरिने व्यवस्था मिलाइएको छ भने हात धुने व्यवस्था पनि मिलाइएको उनले बताए ।

निर्वाचनमा बागमती प्रदेशसभाका १ सय ९ जना सदस्य र प्रदेशका १ सय १९ स्थानीय तहका २ सय ३८ जना अध्यक्ष र उपाध्यक्ष गरी कुल ३ सय ४७ जनाले मतदान गर्नेछन् ।

मतदानको लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका बादल हेटौँडा आइसकेको नेकपा एमाले मकवानपुरले जनाएको छ । डा. देवकोटा र तामाङले भने यसअघि हेटौँडा आइसकेका छन् । मतदाताहरू पनि आउने क्रम जारी छ ।

मतदाताहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आवास र खानपानको व्यवस्थापन मिलाउन यहाँका होटल व्यवसायीलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook