• होमपेज
  • गण्डकीमा अविश्वास प्रस्ताव : विपक्षी मोर्चाको बैठक बस्दै
Breaking News

गण्डकीमा अविश्वास प्रस्ताव : विपक्षी मोर्चाको बैठक बस्दै

पोखरा : गण्डकी प्रदेशका चार विपक्षी दलको बैठक आइतबार बस्ने भएको छ । प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावबारे छलफल गर्न ४ दलको संयुक्त बैठक बस्न लागेको हो ।

नेपाली कांग्रेसका सांसद कुमार खड्का अविश्वास प्रस्तावबारे अन्तिम छलफल गर्न बैठक बोलाइएको बताए । विशेष अधिवेशन सुरु हुनुअघि पार्टीको अवस्था बुझ्न बैठक राखिएको उनले भनाइ छ । ‘भोलिबाट संसद् अधिवेशन सुरु हुँदैछ, आज ४ दल एकैठाउँ बसेर कुराकानी गरौँ, विश्लेषण गरौँ भनेर बैठक राखेका हौँ,’ उनले भने ।

विज्ञापन

 

 

वैशाख २ गते नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । सोही बिहान सरकारले प्रदेश सभाको सातौँ अधिवेशन अन्त्य गरिदिएको थियो । अविश्वास प्रस्ताव छल्न मुख्यमन्त्री गुरुङले अधिवेशन अन्त्य गरे पनि सोही दिन विपक्षी दलले विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई पत्र दिएका थिए । वैशाख ६ गते प्रदेश प्रमुख अमिक शेरचनले १३ गतेलाई अधिवेशन आह्वान गरेका थिए ।

सोमबार बस्ने विशेष अधिवेशनको पहिलो बैठकमा अविश्वास प्रस्ताव टेबुल हुँदैछ । विशेष अधिवेशन भएकाले अन्य विषयमाथि छलफल नहुने र सिँधै अविश्वासको प्रस्तावमाथि छलफल सुरु हुने माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान बताए ।

‘अब नियमित अधिवेशन भएको भए अन्य विषयमा छलफल हुन सक्थ्यो, यो विशेष अधिवेशन भएकाले सिधै अविश्वास प्रस्तावमा छलफल हुन्छ,’ चुमानले भने ।
माओवादी संसदीय दलको बैठकले आफ्ना सांसदहरुलाई पोखरा नछाड्न निर्देशन दिएको थियो । अविश्वासको प्रस्ताव पास गराउनलाई सबै एकजुट भएर रहनुपर्ने भएकाले पोखरा नछाड्न निर्देशन गरिएको चुमानले बताए । ‘सबै एकजुट भएर बस्नुप¥यो भनेर पोखरा नछाड्न निर्देशन गरेका हौँ,’ उनले भने ।

आफ्नो पार्टीका सांसदले फ्लोर क्रस गर्ने सम्भावना नरहेको उनले बताए । ‘हाम्रो दलका सांसदबाट त्यो सम्भावना छैन, भावनात्मक र राजनीतिक रुपले एकैठाउँमा छौँ,’ चुमानले भने ।

कांग्रेस सांसद कुमार खड्का आफूहरुको गठबन्धनमा कुनै द्वन्द्व नरहेकाले फ्लोर क्रस नहुने बताउँछन् । कर्णाली प्रदेशमा सत्ता पक्षका सांसदले नै फ्लोर क्रस गरेको भन्दै गण्डकीमा पनि सत्ता पक्षबाट फ्लोर क्रस हुन सक्ने उनको आँकलन छ । ‘बरु सत्ता पक्षकै माननियहरुले गर्न सक्नुहोला,’ खड्काले भने, ‘हाम्रोमा कुनै द्वन्द्व छैन, अविश्वास प्रस्ताव पास हुन्छ ।’

गण्डकी प्रदेश सभामा सत्तारुढ नेकपा एमालेमा एक स्वतन्त्र सांसदसहित २८ सांसद छन् । पहिला राष्ट्रिय जनमोर्चाका ३ सांसदको साथ पाएको गुरुङ सरकार जनमोर्चाका सांसदले साथ छाडेपछि ढल्ने अवस्थामा आएको हो । जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले वक्तव्य निकालेर गण्डकी प्रदेश सरकारलाई साथ दिन नसकिने बताएका थिए । त्यसपछि भने गण्डकीमा गुरुङ सरकार ढाल्ने खेल सुरु भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook