• होमपेज
  • ओलीलाई माधव समूहको २० बुँदे स्पष्टीकरण : प्रचण्डसँग सुटुक्कै एकता गरेर पार्टी बिगार्ने को हो?
Breaking News

ओलीलाई माधव समूहको २० बुँदे स्पष्टीकरण : प्रचण्डसँग सुटुक्कै एकता गरेर पार्टी बिगार्ने को हो?

काठमाडौं। नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले अध्यक्ष एवं प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई तीन दिने स्पष्टीकरणको जवाफका साथमा पुनः स्पष्टीकरण सोधेको छ ।

२० बुँदे लामो पत्रमा नेपाल-खनाल समूहले प्रधानमन्त्री ओलीसँग कस्ले निहुँ खोजेको ? प्रचण्डसँग सुटुक्कै एकता गरेर पार्टी बिगार्ने को हो ? भन्दै प्रश्नै-प्रश्न गरेको छ ।

विज्ञापन

पत्रको बुँदा नम्बर ११ मा अध्यक्ष ओलीसँग प्रश्नको जवाफ मागिएको छ, ‘तपाई त राष्ट्रवादी राष्ट्रनायक। सरकारको प्रस्तावलाई संसदको अत्याधिक बहुमतले कालापानी लिम्पियाधुरासहितको भूभाग नेपालको हो भनी नयाँ नक्सा पास गरेको थियो । तर ‘रअ’का एजेण्ट सामन्त गोयललाई सुटुक्क मध्यरातमा बालुवाटारमा राखी किन नक्सा मेटाउनुभयो ? नक्सा वितरणमा रोक किन लगाउनुभयो ? कालापानी लिम्पियाधुरा अब चाँडै फिर्ता ल्याउने छु भनेर तपाईले नै भनेको होइन ? खै त अहिलेसम्म फिर्ता आएको ?’

पढ्नुहोस्, माधव समूहको २० बुँदे पत्र :

१. विधि प्रणालीअन्तर्गत पार्टी हुन्छ, पार्टीको अधिनमा व्यक्ति। तपाईले नै हामीलाई यही प्रशिक्षण दिनुभएको हो। क.जेएन खनाल अध्यक्ष हुँदा उहाँलाई विधिपद्धतिअनुसार पार्टी नचलाएको आरोप तपाईहरुले नै लगाएको हो। अनि पछिल्लो समयमा तपाई नै विधि पद्धति प्रणालीबाट किन चल्नुभएन ?

२. माओवादी र प्रचण्डलाई पार्टीमा तपाईले सुटुक्क ल्याएर यति सुन्दर र बलियो पार्टी बिगार्नुभएको होइन ? अब माधव नेपालहरु मतियार कि पहिले तपाई प्रचण्डको मतियार ?

३. तपाई एक्लैले सुटुक्क नेकपा माओवादी केन्द्रसँग किन पार्टी एकीकरण गर्नुभयो ? पार्टी एकीकरण गरेपछि आलोपालो प्रधानमन्त्री बन्ने र पार्टीको नेतृत्व गर्ने सम्झौता भएको रहेछ। तपाईले त्यसलाई किन उल्लंघन गरी आफै प्रम आफै अध्यक्ष बनिरहनुभयो ?

४. पार्टी एकीकरणपछि दुईवटा समान हैसियतका अध्यक्ष भनिएको रहेछ। तर तपाई रातो मखमलको कुर्सीमा अर्को अध्यक्ष सोफा बस्नुपर्ने, तपाई एकल अगाडि बस्नुपर्ने अरु तपाईका दायाँवाँया बस्नुपर्ने गाउँ पञ्चायतको मुखिया चरित्र धारण गर्दै किन आउनुभयो ?

५. पार्टी एकीकरण भइसकेको अवस्थामा प्रचण्डलाई कार्यकारी अध्यक्ष तपाईले हस्ताक्षर गरेर दिएको होइन ? त्यसको लगतै किन मै हो एक नम्बर अध्यक्ष भन्दै हिड्नुभयो ?

६. २०७७ साल भदौ २५ गतेको दुई पक्षबिचको सम्झौतामा पार्टी नीति निर्देशनअनुसार चल्छु भनेर आत्मालोचना गर्दै हस्ताक्षर गर्ने तपाई नै हो त। अनि त्यसको केही दिन नै आफूखुशी मन्त्री र राजदूतहरु किन नियुक्त गर्नुभयो ?

७. पार्टी एकीकरण भइसकेको अवस्थामा किन एमाले भनेर निर्वाचन आयोगमा दर्ता गराउन लगाउनुभयो ? त्यसको नियत के थियो ?

८. पौष ५ गते पार्टीको कुन तहको निर्देशनले संसद विघटन गर्नुभयो ? संसद विघटन गर्नेले त्यही संसदको अधिनमा प्रधानमन्त्री खाइरहन कुन नैतिकताले दिन्छ ?

९. संवैधानिक परिषदको अध्यादेश ल्याएर असंवैधानिक ढंगले नियुक्ति गरिसक्दासमेत केही गरेको छैन भनेर किन तत्कालिन सचिवालयलाई ढाँट्नुभयो ?

१०. एमसीसीलाई सुधारेर पास गर्ने भनेर पार्टीमा सहमति भइसकेको हो त। अनि त्यसलाई लत्याएर विदेशीको इशारामा समय अगावै नयाँ संसद बनाउन किन संसद विघटन गर्नुभयो ?

११. तपाई त राष्ट्रवादी राष्ट्रनायक। सरकारको प्रस्तावलाई संसदको अत्याधिक बहुमतले कालापानी लिम्पियाधुरासहितको भूभाग नेपालको हो भनि नयाँ नक्सा पास गरेको थियो। तर रअका एजेण्ट सामन्त गोयललाई सुटुक्क मध्यरातमा बालुवाटारमा राखी किन नक्सा मेटाउनुभयो ? नक्सा वितरणमा रोक किन लगाउनुभयो ? कालापानी लिम्पियाधुरा अब चाडै फिर्ता ल्याउने छु भनेर तपाईले नै भनेको होइन ? खै त अहिलेसम्म फिर्ता आएको ?

१२. कोरोना महामारीभन्दा अगाडि स्थिर रहेको पेट्रोलियम पदार्थको भाऊ आज २० प्रतिशत प्रतिशतले बढेको छ, खाद्यान्नको मूल्य ६५ प्रतिशतले। कुनै पनि महामारीको उपचार निःशुल्क गर्नुपर्ने संवैधानिक व्यवस्था छ। अदालतले पनि आदेश दिएकै हो। तर कुन नीति ऐनअन्तर्गत कोरोनाको उपचारका लागि दैनिक खर्च २ लाखसम्म तोक्नुभयो ? संविधान, अदालतको आदेश पार्टीको घोषणापत्र पूरा गर्न नसक्नेले सरकारमा बस्न मिल्छ ?

१३. संसद विघटन गरेपछि सरकार कामचलाउ हुन्छ। विगतमा कांग्रेसलाई तपाईले नै यो भन्दै आउनुभएको हो। तर तपाईको कामचलाउ सरकारले किन माओवादीहरुलाई मन्त्री बनायो ? अब तपाई माओवादीपरस्त कि माधव नेपाल, भीम रावलहरु ?

१४. लोकसेवा आयोगले छुट्याउँदै आएको समावेशी आरक्षणलाई कटौती गर्नुभयो। दलित उत्पीडितको मागलाई पानीमा पौडी खेल्न सक्ने र नसक्ने भनेर गिज्याउनुभयो। गुठी विधेयक ल्याउन खोजेर सांस्कृतिक अधिकार मेट्न चाहनुभयो। भूमि ब्यवस्था विधेयक ल्याएर माफियाले सरकारी जग्गा बेच्न पाउने व्यवस्था गरिदिनुभयो। नागरिकले आफ्ना असन्तुष्टिहरु राख्न पाउने, विरोध गर्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित गर्दै निषेधित क्षेत्रहरु घोषणा गर्नुभयो। अब असंवैधानिक कदमहरु उठाउँदै जनताको अधिकार खोस्ने कसरी लोकतन्त्रवादी हुन सक्छ ?

१५. पार्टीको घोषणापत्रमा तपाईले चुनाव लड्नुभएको र जित्नुभएको हो। तर पार्टीको घोषणालाई सधै लत्याएर आफूअनुकल विधेयक ल्याउने, सरकारका नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने, राजनीतिक नियुक्तिहरुमा आफ्ना धुपौरे, हुक्के, तमाखे, झण्डे, डण्डेहरुलाई मात्र किन नियुक्ति दिनुभयो ? तपाईका नजरमा पार्टीभित्रका अन्य कार्यकर्ता, सदस्यहरु किन कसरी असमान र अयोग्य भए ? ती नियुक्तिले सरकारको कुन चाहिँ काममा सफलता मिल्योे ? भ्रष्टाचार, मानवअधिकार हनन, सामाजिक विभेद, हिंसा र बलात्कार, आर्थिक वृद्धिदर, वैदेशिक ऋण, ब्यापार घाटादरको सूचकांक पहिले र तपाईको कार्यकालको तुलना गरौं सम्माननीय प्रधानमन्त्रीज्यू ।

१६. अब एमालेको कुरा गरौं। अदालतको आदेश नमान्न पनि सकिन्थ्यो। तर त्यसलाई सम्मान गर्दै हामी आ–आफ्ना पार्टीमा फर्किन चाह्यौं। पार्टी विधानअनुसार हुने थप १० प्रतिशत नियुक्ति भइसकेको थियो। ७० वर्ष उमेरहद छ। तर हरेक तह कमिटीमा अल्पमतमा पर्ने डरले अवैधानिक तवरले विधान संशोधन गरी हतारहतार २३ जना माओवादीभित्रका खाओवादीहरुलाई केन्द्रीय सदस्य भएको टिका लगाइदिनुभयो। अब कुन विधानअनुसार ती खाओवादीहरुलाई थप्नुभयो ? अब नियोजित रुपमा निहुँ तपाईले खोजेको कि हामीले ? पार्टीमा सबै फेरि एक होऔं भनिरहँदा झ्यालबाट आए आइज, नत्र जा भनेर ढोका बन्द गर्ने तपाईं कि हामी ?

१७. नवौं महाधिवेशनमा तपाई अध्यक्षमा जसरी प्रतिनिधि कार्यकर्ताहरुको अभिमतले जसरी जित्नुभयो, अन्य पदाधिकारीहरु पनि सोही अभिमतले जितेका हुन्। तर तपाईले महासचिव मात्रै यथावत् राखेर कुन विधानअनुसार अन्य पदाधिकारीको खारेजी पार्टीको गर्नुभयो ? यसो गर्दा ती प्रतिनिधिहरुको अभिमतको उल्लंघन गर्नुभयो कि भएन कमरेड ?

१८. तपाईलाई पार्टीले प्रधानमन्त्री बनाएको हो। अझ साँचो कुरा गर्ने हो भने प्रचण्डले नै टिका लगाएर तपाईलाई पहिलो र दोश्रोपल्ट प्रधानमन्त्री बनाएका हुन्। तपाईलाई जनताले सिंहदरबार बसी देश चलाउनु, बालुवाटारमा राति सुत्न जानु र पार्टीको काम पार्टी कार्यालयमा गर्नू भनेका हुन्। तर तपाईले आफू सुत्ने उठ्ने खाने बस्ने ठाउँलाई पार्टी कार्यालय, गुटकेन्द्र, फुटको गोटी चलाउने खाल, खुराफाती गर्ने थलो बनाउनुभयो। त्यही बसेर सामदाम दण्डभेदको नीति अपनाएर जाल फाल्दै माछा मादै गर्नुभयो। सिंहदरबार कतिचोटी आउनुभयो ? कर तिर्ने आम नागरिक, राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीलाई के जवाफ दिनुहुन्छ प्रधानमन्त्रीज्यू ?

१९. पार्टीको नवौ महाधिवेशपछि नवौं बैठक बसेको हो। तर तपाईले १२ औं बैठक भनेर केन्द्रीय सदस्यहरु थप गर्नुभएको छ। १० औं र ११ औं बैठक कहाँ कहाँ कहिले कहिले बसे कमरेड ?

२०. संसदीय दलको विधान पार्टीले बनाउछ। बोर्ड पार्टीले गठन गर्छ। तर पार्टी फर्कन चाहनेहरुलाई गलहत्याएर तिनै खाओवादीहरुको रोहवरमा केन्द्रीय कमिटी बसी विधान संशोधन गर्नु, बोर्ड बनाउनु तपाईको कस्तो राजनीतिक धर्म, कस्तो चरित्र र कस्तो नियत हो अध्यक्ष कमरेड ?

पहिले यी प्रश्नहरुको स्पष्ट जवाफ पाउँ अध्यक्षज्यू। त्यसपछि माधव नेपाल, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डे कमरेडहरु अनि हामीलाई स्पष्टीकरण सोध्नु सान्दर्भिक र उहाँहरुलाई जवाफ दिनु सहज हुने व्यहोरा अनुरोध छ।

यथोचित जवाफसहित हामीलाई धुमवाराही प्रवेश गराउने अपेक्षासहित।

सरोजदिलु विश्वकर्मा (नेकपा एमाले कार्यकर्ता)
बोधार्थ : नेकपा एमालेका सबै तह कमिटीका कार्यकर्ता तथा शुभचिन्तकहरु।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook