• होमपेज
  • पर्वतको पाङ र खानीगाउँ हात्तीपाईलेको उच्च जोखिममा, ११औं चरणमा पनि सफल भएन अभियान
Breaking News

पर्वतको पाङ र खानीगाउँ हात्तीपाईलेको उच्च जोखिममा, ११औं चरणमा पनि सफल भएन अभियान

गणेश पौडेल/पर्वत हात्तीपाईले रोग बिरुद्धको औषधि खुवाउने अभियान ११ चरणमा पनि असफल भएपछि पर्वतमा १२ औँ चरणमा औषधी खुवाईने भएको छ । हात्तिपाईले रोग उन्मूलन गराउने राष्ट्रिय अभियानका साथ पर्वतमा २०१० बाट शुरु गरिएको भएपनि पर्वतमा भने असफल भएको हो ।

अभियानका क्रममा स्वास्थ्यकर्मीले औषधि वितरण मात्रै गरेका तर आम नागरिकले नखाएका कारण यस वर्ष पनि पूनः अभियानलाई निरन्तरता दिईएको हो । रोगको संक्रमण न्यूनतम एक प्रतिशतमा नझरेपछि यसवर्ष पनि आम औषधी ख्वाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रविण भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी चैत २० गतेदेखि १२ औँचरणको औषधी ख्वाउने अभियान शुरु गर्न थालिएको हो ।

विज्ञापन

गत वर्षहरुमा औषधि वितरण मात्रै भएको तर आम नागरिकले नखाएका कारण समस्या देखियो उहाँले भन्नुभयो–यस वर्षदेखि प्रत्यक्ष निगरानीमा खुवाउने अभियान संचालन गर्ने तयारीमा छौं । कार्यालयका अनुसार सन् २०१४, २०१६ र २०२० मा गरि ३ पटक गरिएको सर्भेक्षणमा अभियान प्रभावकारी नभएको पाईएकाले यस वर्ष पून खुवाउनुपरेको हो । तथ्याङकमा भने पर्वतमा प्रत्येक वर्ष ७० प्रतिशत माथि औषधि वितरण गरिएको पाईन्छ ।

पाङ र खानीगाउँ उच्च जोखिममा
हात्तीपाईले रोग बिरुद्धको औषधि खुवाउने अभियना अन्तर्गत विभिन्न चरणमा गरिएको सर्भेक्षणमा जिल्लाको कुस्मा नगरपालिकाको पाङ र फलेवास नगरपालिकाको खानीगाउँमा अझै पनि हात्तिपाईले रोगका बिरामी फेला परेका छन् ।

विश्व स्वास्थ्य संगठनले गरेको सर्भेक्षणमा जिल्लाको पाङका ३ सय १७ जनाको रगत परिक्षण गर्दा १७ जनामा हात्तीपाईले रोगका जिवाणू भेटिएको हो । त्यस्तै खानीगाउँका ३ सय ६ जनाको परिक्षणमा १ जना जिल्ला बाहिरको मजदुरमा भेटिएको कार्यालयले जनाएको छ । दुई ठाउँमा गरिएको सर्वेक्षणलाई आधार मानेर अन्य ठाउँमा समेत औषधि खुवाउनुपर्ने भएको हो ।

एक ठाउँबाट अर्को ठाउँमा मानिसहरुको आवतजावत हुने भएकाले जिल्ला भरि नै अभियान चलाएर खुवाउनु परेको अधिकृत भण्डारीले बताउनुभयो ।

किन असफल भयो अभियान
जिल्लाको पाङमा अघिल्लो वर्ष वितरण गरिएको औषधि आम नागरिकले नखाएको सर्भेक्षणमा भेटिएको छ । अभियान संचालन गरिएदेखि नै आम नागरिकमा हात्तीपाईलेको औषधिको बारेमा गलत धारणा भएका कारण आम नागरिकले नखाँदा अभियान असफल भएको कार्यालयको भनाई छ ।

औषधि खाएपछि हुने सामान्य स्वास्थ्य समस्यालाई लिएर नागरिकमा गलत धारणा हुँदा औषधि लिने तर नखानेको संख्या उच्च रहेको उहाँको भनाई छ । तथ्याङ्कमा औषधि वितरण भएको देखाएर अभियान सफल भएको बताईयो उहाँले भन्नुभयो तर, आम नागरिकले खाए नखाएको अनुगमन गरिएन ।

उहाँका अनुसार पाङमा गरिएको सर्भेक्षणमा ५० प्रतिशतले औषधि नै नखाएको पाईएको छ तर रेकर्डमा भने औषधि खाएको बताईएको छ । विषेशगरि उच्च जातका ब्राहम्णहरुले औषधि नखाएको पाईएको हो । शुरुका वर्षहरुमा स्वास्थ्य स्वयंसेबिकाले औषधि खुवाउँदा प्रभावकारी नभएको पाईएपछि स्वास्थ्यकर्मीकै निगरानीमा खुवाउँदा समेत नखाएको पाइएको हो ।

यस वर्षको अभियान प्रभावकारी हुन्छ ?
यस चरणमा जिल्लाका एक लाख २५ हजार १ सय ५९ जनालाई औषधी ख्वाउने भएको छ । औषधी ख्वाउनका लागि स्वास्थ्यकर्मीहरु परिचालन गर्ने तयारी भएको छ । जिल्लाका सबै वडामा एकै दिन अभियान शुरु गरेर बढिमा एक हप्ताभित्र ख्वाइसक्ने लक्ष्य रहेको भण्डारीले बताउनुभयो ।

हात्तिपाईले रोगको संक्रमण जिल्लामा अहिले पनि ५ प्रतिशत भन्दा बढि देखिएको छ । स्वास्थ्य कार्यालय संगै सात वटै स्थानीय तहले औषधी ख्वाउने कार्यक्रमको तयारी पुरा गरेको जनाएका छन् । औषधी वितरण गरेपनि सर्वसाधारणहरुले सेवन नगर्ने समस्या रहेको स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् । औषधी नखाने समस्या देखिएपछि गतवर्ष देखि स्वास्थ्यकर्मीकै निगरानीमा औषधी ख्वाउन थालिएको थियो । यस वर्ष पनि स्वास्थ्यकर्मीको निगरानीमा औषधी ख्वाईने पर्वत अस्पतालका प्रमुख डा. डिवी क्षेत्रीले जानकारी दिनुभयो ।

क्षेत्रीले औषधी ख्वाउने अभियानलाई सबैले सहयोग गर्ने र पर्वतमा अर्को चरणमा औषधी खान नपर्ने गरि सबै सयन्त्र लाग्नुपर्ने डा. क्षेत्रीले बताउनुभयो । पर्वतमा सन् २०१० देखी हात्तिपाईले बिरुद्धको औषधी ख्वाउने अभियान शुरु भएको थियो । आम औषधी सेवन गर्ने दर ७५ प्रतिशत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook