• होमपेज
  • फार्मेसीमा ‘डरलाग्दो’ विकृति, ‘कमर्स’ पढेकाले बेच्छन् औषधि [स्थलगत रिपोर्ट]
स्वास्थ्य-जीवनशैली

फार्मेसीमा ‘डरलाग्दो’ विकृति, ‘कमर्स’ पढेकाले बेच्छन् औषधि [स्थलगत रिपोर्ट]

पर्वत/‘तपाई आफैँ स्वास्थ्यकर्मी भएर यसरी जनस्वास्थ्यसँग खेलवाड गर्न मिल्छ?’ काठमाडौंको बनस्थली खरिबोटस्थित निरुजा हेल्थकेयर एण्ड रिसर्च सेन्टर प्रालिको औषधि पसलको काउन्टरमा रहेका एक व्यक्तिलाई नेपाल फार्मेसी परिषदका रजिष्ट्रार संजीव कुमार पाण्डेय सम्झाउँदै थिए। उनले यसरी सम्झाउनुको कारण थियो, फार्मेसी पसलमा अनधिकृत व्यक्तिको उपस्थिति।

उक्त फार्मेसी पसलमा फर्मासिस्टको अनुपस्थितिमा स्वास्थ्य सहायक (एचए)ले औषधिको बिक्रि वितरण गरिरहेका थिए। फार्मेसीमा चतुर्थी बास्तोलाको नामको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) थियो। तर पसलमा भने एचए हरिप्रसाद खनालले औषधिको बिक्रि वितरण गरिरहेका थिए। अर्थात् फार्मेसी पसलको धनी र व्यवसायी फरक देखियो। अर्को भाषामा भन्नुपर्दा लाइसेन्स भाडामा लिएर फार्मेसी सञ्चालन भइरहेको थियो।

विज्ञापन

रजिष्ट्रार पाण्डेयले फर्मासिस्टलाई बोलाउन आग्रह गरे। तर करिब आधा घण्टासम्म पनि फर्मासिस्ट फार्मेसी पसलमा उपस्थित हुन सकेनन्।

उक्त फार्मेसीको एक मिनेट दूरीमा छिम्केश्वरी फर्मा थियो। त्यहाँको अवस्था पनि निरुजा फार्मेसीको भन्दा फरक थिएन। छिम्केश्वरी फर्मा सञ्चालन त भइरहेको थियो। तर औषधिको बिक्रि वितरण गर्ने व्यक्ति अनधिकृत अर्थात् फर्मासिस्ट थिएनन्।

यो फार्मेसीमा पनि धनी र व्यवसायी एकै थिएनन्। फार्मेसीमा औषधि व्यवस्था विभागले दिएको प्रमाणपत्र झुण्ड्याइएको थियो। उक्त प्रमाण पत्रमा औषधि बिक्रि वितरण गर्न अनुमति पाउने फर्मासिस्ट निर्मल भण्डारी र धनी अनिता खड्काको नाम थियो। तर पसल सञ्चालन गरेका थिए, एचए महेश कुमार थापाले।

रजिष्ट्रार पाण्डेयले उनलाई प्रश्न गरे, ‘फार्मेसी पसलमा औषधि बिक्रि वितरण गर्ने तपाईंको काम हो?’ ‘म एचए भएको कारणले सामान्य काम चाँही गर्न मिल्यो। उनले जवाफ दिए।’ उनको कुरा नसकिदै पाण्डेयले प्रति प्रश्न गरे, ‘तपाईं औषधि बिक्रि वितरण गर्न मिल्यो? औषधि ऐन त पढ्नु भएको छ नी?’

उनलाई पनि रजिष्ट्रार पाण्डेयले फर्मासिस्टलाई बोलाउन आग्रह गरे। हामी करिब २० मिनेट त्यहाँ बस्यौ तर त्यहाँ फर्मासिस्ट उपस्थित हुन सकेनन्।

वास्तवमा रजिष्ट्रार पाण्डेय अनुमगनका लागि होइन फर्मासिस्ट, फार्मेसी सहायक र व्यवसायीलाई अपिल गर्न पुगेका थिए। उनको त्यो अपिल यस्तै विकृतिलाई न्यूनीकरण गर्दै फार्मेसी पेशालाई मर्यादित बनाउनका निम्ति थियो।

फर्मासिस्ट र फार्मेसी सहायकलाई औषधि बिक्रि वितरण गर्दा नाम अंकित सेतो एप्रोन अनिवार्य लगाउन फागुन २५ गते काउन्सिलले निर्देशन दिएको छ। नाम दर्ता प्रमाण पत्रको दुरुपयोग न्यूनीकरण गर्न र सोही निर्देशनको प्रभावकारी कार्यान्वयनका लागि रजिष्ट्रार पाण्डेय ती फार्मेसी पसलमा पुगेका थिए। अपिलका लागि पुगेका उनले फार्मेसी पसलमा रहेका विकृति र विसंगतिलाई स्पष्ट रुपले देखे।

अनधिकृत व्यक्तिबाट औषधिको बिक्रि वितरण रोक्नलाई नै परिषदले फर्मासिस्ट वा फार्मेसी सहायकलाई नाम अंकित एप्रोन लगाउन निर्देशन दिएको थियो।

यस किसिमको विकृति अहिले गल्ली पिच्छै नै सञ्चालन हुने फार्मेसी पसलमा भेटिन्छन्। त्यसको स्पष्ट उहादरण यी दुई फार्मेसीलाई लिन सकिन्छ।

अभियानको पहिलो चरणमा बिहीबार काठमाडौंको बनस्थली, नयाँ बसपार्क, गोगंबु र जावलाखेल लगायत स्थानमा परिषद पुगेको थियो। हालै जारी गरिएको आचारसंहिता पालनाका लागि अपिल गर्न परिषदको टोली ४० वटा फार्मेसी पसलमा पुगे। यी ४० मध्ये १४ वटा फार्मेसी पसल अनधिकृत व्यक्तिले सञ्चालन गरेको र तीन वटा फार्मेसी बिना दर्ता त्यही माथि अनधिकृत व्यक्तिले सञ्चालन गरेको पाइयो।

त्यही अनधिकृत व्यक्तिले सेटाफिल लगायत औषधि बिक्रि वितरण गरेको समेत पाइएको छ। यहाँ तल उल्लेख गरिएका औषधिका सूची तिनै अनधिकृत व्यक्तिले बिक्रि वितरण गरेका हुन्।

उनलाई रजिष्ट्रार पाण्डेरले सोधे, ‘तपाईंले के पढ्नु भएको?’

उनको जवाफ थियो, ‘कमर्स’

‘कमर्श पढेको मान्छेले औषधिको बिक्रि वितरण गर्न मिल्छ? पसल कसको नाममा दर्ता छ?’

तर उनीसँग कुनै जवाफ थिएन। न त उनको पसल औषधि व्यवस्था विभागमा दर्ता नै थियो, न त उनीसँग कुनै फर्मासिस्टको लाइसेन्स नै। त्यसैले उनी नाजवाफ थिए।

टोलीसँगको छलफलका क्रममा थाहा भयो, ती व्यक्तिले सटर भाडामा लिएर औषधि पसल सञ्चालन गरेका रहेछन्।

यतिसम्म की नागार्जुन–१ स्थित प्रनित फार्मेसीमा औषधि राखिएका ठाउँ माथि एउटा चिट राखिएको थियो। त्यसमा लेखिएको थियो– पेन किलर, ग्याष्ट्रिक, डाइरिया।

यसो गर्नुमा यो फार्मेसी पसलमा फर्मासिस्ट नभई उनको श्रीमान थिए। रजिष्ट्रार पाण्डेयले बोलाउन आग्रह गरेपछि नै फर्मासिस्ट केही समयपछि उपस्थित भइन्।

आचार संहिताको पालना भए नभएको बारे बुझ्न काउन्सिल अल्का, सुमेरु, निदान र सिभिल अस्पतालले सञ्चालन गरेको फार्मेसी पसलमा पनि पुगेको थियो।

यी अस्पतालको फार्मेसी फर्मासिस्ट, सहायक फार्मेसीले नै सञ्चालन गरेको पाइएको छ। तर ४० वटा वटै फार्मेसी पसलमा कसैले पनि नाम अंकित एप्रोन भने लगाएका थिएनन्। केहीले परिषदको यस निर्णय बारे थाहा नभएको बताएका थिए भने केहीले एप्रोन तयार गर्न दिइएको बताएका थिए।

अनधिकृत व्यक्तिको उपस्थिति र बिना दर्ता सञ्चालन भएका फार्मेसी पसलको सूची हेरौः
अनधिकृत व्यक्तिको उपस्थिति भएको फार्मेसी पसलहरु (बनस्थली खरिबोट क्षेत्रमा )
१. निरुजा हेल्थकेयर एण्ड रिसर्च सेन्टर प्रा.लि औषधि पसल
२. छिम्केश्वरी फर्मा
३. शिवहरि मेडिको फर्मा
४. बिना दर्ता अनधिकृत व्यक्तिको उपस्थितिमा फार्मेसी पसल सञ्चालन
५. दि नागरिक मेडिकल हल
६. बि. न. बि मेडिकल हल
७. प्रनित फार्मेसी नागार्जुन १
८. बिना दर्ता फार्मेसी पसल सञ्चालन

गोगंबु, नयाँ बसपार्क क्षेत्र
९. नव आगन्तुक फर्मा औषधि पसल
१०. बटुक भैरव फार्मेसी
११. जयमण्ड पोलिक्लिनीक प्रा.लि औषधि पसल बिना दर्ता
१२. जलजला फार्मेसी
१३. कृष्णापर्ण फार्मेसी
१४. जीवन दर्शन मेडिकल हल

यी १४ वटै फार्मेसी पसलमा अनधिकृत व्यक्तिले औषधिको बिक्रि वितरण गरिरहेका थिए। या भनौं लाइसेन्स भाडामा लिएर फार्मेसी पसल सञ्चालन भइरहेका थिए।

यति बेला फार्मेसी पसलको धनी र औषधिको बिक्रि वितरण गर्ने फर्मासिस्ट, फार्मेसी सहायक र व्यवसायी एकै हुने वा फरक हुनुपर्ने भन्ने विषयमा विवाद चलिरहँदा फार्मेसी पेशाको यो विकृति बाहिर आएको छ।

औषधिको बिक्रि वितरणलाई नियम अनुसार गराउन र विकृति रोक्न फार्मेसीका धनी र बिक्रि गर्ने व्यक्ति एकै हुनुपर्नेमा धेरैको जोड छ। धनी र व्यवसायी फरक हुँदा फर्मासिस्टको लाइसेन्स भाडामा लगाउने क्रम बढ्दै गएको भन्दै धेरैले आवाज उठाउने गरेका छन्। जसलाई आजको यो अभियानले पनि छर्लङ्ग पारेको छ।

फार्मेसी पेशामा यस किसिमको विवाद आउनुको मुख्य कारण औषधि व्यवस्था विभाग देखिएको छ। विभागले औषधि ऐन २०३५ को अपव्याख्या गर्दै फार्मेसी पसल सञ्चालन गर्दा धनी र फर्मासिस्ट, फार्मेसी सहायक र व्यवसायी फरक हुन पाउने निर्णय गरेका कारण यो विवाद आएको कुरा स्वास्थ्यखबरले समाचार प्रकाशित गरेको थियो।

विभागले ऐनको अपव्याख्या गर्दै उक्त व्यवस्था गरेपछि फार्मेसी परिषदले उक्त कुरा सच्याउन विभागलाई पत्राचार समेत गरेको थियो। फार्मेसी सञ्चालन गर्न फर्मासिस्ट, फार्मेसी सहायक वा व्यवसायी आफैँले औषधिको बिक्रि वितरण गर्नुपर्ने औषधि ऐन २०३५ को दफा १७ ले स्पष्ट व्यवस्था गरेको छ। तर ऐन कतै पनि लागू भएको देखिएन।

अनधिकृत व्यक्तिको उपस्थितिमा फार्मेसी सञ्चालन गर्ने व्यक्तिलाई कारबाहीका लागि उजुरी लिएर औषधि व्यवस्था विभागलाई आग्रह गरिने पाण्डेयले बताए।

उनी भन्छन्, ‘हामी त नाम दर्ता प्रमाणपत्र सदुपयोग गर्नुहोस्। नाम अंकित एप्रोन लगाउनुहोस् भनेर सचेत गराउन फार्मेसी पसलहरुमा पुगेका थियौँ। तर विडम्बना सम्बन्धित नै त्यहाँ उपस्थित हुनु हुन्न।’

पहिलो चरणमा उनीहरु सबैलाई स्पष्टीकरण सोधिने उनले बताए। स्पष्टीकरण चित्त बुझ्दो नआए परिषदको बोर्डमा जाने र जाँचबुझ समितिले निर्देश गरे अनुसार कारबाही हुने उनले बताए। उनका अनुसार उनीहरुको नाम दर्ता प्रमाण पत्र खारेजीसम्म हुन सक्छ।

यो सुरुवात मात्र भएको बताउँदै पाण्डेय भन्छन्, ‘फार्मेसी पेशामा देखिएको विकृति हटाउन हामी दोस्रो चरणको सचेतना अभियान पनि थाल्छौं।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook