• होमपेज
  • म्यानमारकी नेतृ सुकीसँग अवैध सुन र लाखौँ डलर रहेको सेनाको आरोप
अन्तर्राष्ट्रिय

म्यानमारकी नेतृ सुकीसँग अवैध सुन र लाखौँ डलर रहेको सेनाको आरोप

म्यानमारकी अपदस्थ नेतृ आङ साङ सुकीले गैरकानुनी रूपमा सुन र ६ लाख डलर राखेको सेनाले आरोप लगाएको छ । हाल सेनाकै नियन्त्रणमा रहेकी सुकीले विभिन्न समयमा अवैध रूपमा सुन र लाखौँ डलर लिएको सेनाको भनाइ छ ।

गत १ फेब्रुअरीमा म्यानमारको सेनाले ‘कु’ गरी सत्ता हातमा लिएको थियो । त्यससँगै सेनाले सुकीलगायत शीर्ष नेताहरूलाई नजरबन्दमा राखेको छ । नेतृ सुकीले पनि आफूसँग सुन र डलर रहेको स्वीकार गरेको सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । तर, सेनाले सुकीमाथिको आरोप पुष्टि हुने कुनै प्रमाण भने दिएको छैन । ब्रिगेडियर जनरल जाउ मिनले म्यानमारका राष्ट्रपतिलगायत अपदस्थ सरकारका मन्त्रीहरूले विभिन्न समयमा अवैध सम्पत्ति जोडेको बताएका छन् ।

विज्ञापन

म्यानमारमा गत नोभेम्बरमा आमनिर्वाचन भएको थियो । सो निर्वाचनमा सुकी समर्थन प्राप्त नेसनल लिग फर डेमोक्रेसीले अत्यधिक बहुमत प्राप्त गरेको थियो । निर्वाचनमा सेना समर्थन पार्टी नराम्रोसँग पराजित भयो । यो निर्वाचनमा धाँधली भएको सेनाले दाबी गर्दै आएको छ । जनरल मिनले निर्वाचनमा भएका अनियमितता सम्बन्धमा सेनाले राष्ट्रपतिलाई रिपोर्ट बुझाएको पनि जानकारी दिएका छन् । राष्ट्रपतिले निर्वाचनमा भएको धाँधली तथा अनियमितता सम्बन्धमा कुनै कारबाही प्रक्रिया अगाडि नबढाएको जनरल मिनको आरोप छ । ‘हामीले निर्वाचनमा भएको धाँधलीसम्बन्धी रिपोर्ट राष्ट्रपतिसमक्ष बुझाएका थियौँ, तर राष्ट्रपतिले कसैलाई कारबाही गरेनन्,’ उनले भने, ‘राष्ट्रपतिले नै कसैलाई कारबाही नगर्न आदेश दिएका छन् ।’

निर्वाचन आयोगले सेनाका सबै आरोप झुटो भएको जनाएको छ । निर्वाचन आयोग भन्छ, ‘निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको उपस्थिति थियो, यस अवस्थामा अनियमितता र धाँधली भएको प्रश्न नै आउँदैन ।’ यसैबीच मानवअधिकार समूह एमेनेस्टीले म्यानमारको सेनाले व्यक्तिको स्वतन्त्र हत्या गर्न कोसिस गरेको आरोप लगाएको छ ।

निशस्त्र प्रदर्शनकारीमाथि सेनाको ज्यादती 
सत्ता हत्याएको विरोधमा उत्रिएका निःशस्त्र प्रदर्शनकारीहरूमाथि सेनाले रणभूमिमा प्रयोग हुने हतियार प्रयोग गरेको र योजनाबद्ध रूपमा हत्या गरेको मानव अधिकारवादी संस्था एमनेस्टीले बताएको छ । एमनेस्टीका जाआन्ने मारिनेरले सेनाद्वारा नेतृ सुकीमाथि लगाइएको आरोप केवल चरित्रहत्या गर्ने प्रयास मात्रै भएको बताएका छन् । यसैबीच सेनाको विरोधमा बिहीबार पनि प्रदर्शन जारी नै रहेको बिबिसीले जनाएको छ । सेनाको गोली लागेर बिहीबार सातजनाको निधन भएको छ । अहिलेसम्म म्यान्मारको आन्दोलनमा ६० जनाले ज्यान गुमाइसकेका छन् । प्रत्यक्षदर्शीका अनुसार बिहीबारको घटनामा सेनाले प्रदर्शनकारीहरूको टाउकोमै निसाना लगाएर गोली प्रहार गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook