• होमपेज
  • प्रचण्ड-नेपालको पक्षमा ३१५ केन्द्रीय सदस्य
Breaking News

प्रचण्ड-नेपालको पक्षमा ३१५ केन्द्रीय सदस्य

काठमाडौं– नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको पक्षमा ३१५ सांसद देखिएका छन्। मंगलबार सो पक्षको भेलामा ३१५ जना केन्द्रीय सदस्य उपस्थित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। एकीकृत पार्टीको रुपमा रहँदा नेकपामा ४४६ सदस्य छन्। एकताका बेला ४४१ सदस्य रहेकोमा पछि ५ जना थपिएका थिए।

विभाजनको प्रयासअघि विवादको नेतृत्व गरेका केपी शर्मा ओली र प्रचण्ड-नेपाल पक्षले बढीभन्दा बढी केन्द्रीय सदस्य आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन्। मंगलबार बिहानै बालुवाटारमा आयोजना गरिएको ओली पक्षको बैठकले पार्टीमा ११ सय ९९ केन्द्रीय बनाउने निर्णय गरेको छ।

विज्ञापन

ओलीमाथि कारबाही
प्रचण्ड- नेपाल पक्षले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट मुक्त गरेको छ। ‘कमरेड केपी शर्मा ओलीले ऐतिहासिक राजनीतिक परिवर्तन, संविधान, लोकतन्त्र र पार्टी तथा पार्टी एकताको विरुद्धमा कार्य गर्नुभएकाले, पार्टी एकताको गम्भीर उल्लंघन गर्नुभएकाले उहाँलाई पार्टीको अन्तरिम विधान अनुसार अनुशासनको कारबाही गरी पार्टी अध्यको जिम्मेवारीबाट मुक्त गरिएको छ’, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

ओलीलाई कारबाही गरिएपछिको रिक्त पदमा माधव नेपाललाई चयन गरिएको छ। ‘कमरेड केपी ओलीलाई अध्यक्ष पदको जिम्मेवारीबाट अनुशासनको कारबाही गरी मुक्त गरिएपछिको रिक्त अध्यक्ष पदमा बैठकले सर्वसम्मतिबाट कमरेड माधव कुमार नेपाललाई चयन गरिएको छ’, श्रेष्ठले भने।

म नै प्रवक्ता : नारायणकाजी श्रेष्ठ
श्रेष्ठले आफू नै नेकपाको प्रवक्ता भएको बताए। बैठकपछि आयोजित ब्रिफिङमा उनले आफू नै नेकपाको प्रवक्ता भएको बताएका हुन्। मंगलबार बिहान मात्रै बालुवाटारमा बसेको केपी ओली पक्षको बैठकले श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिने निर्णय गरेको थियो।

श्रेष्ठले आफू कुनै व्यक्ति र गुटको प्रवक्ता नभएको बताए। ‘म नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रवक्ता हुँ। यो पार्टीको बैठकले यस सन्दर्भमा मलाई थप उत्साहित पार्ने अगाडि बढ्ने निर्देशन दिएको छ’, उनले भने, ‘कुनै तथाकथित गुटको कुनै भेलाको कुनै निर्णयसँग नेकपाको प्रवक्ताको जिम्मेवारीसँग सम्बन्धित छैन।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook